Sunday, December 27, 2015

गजल : हिमाललाई पहाड

हिमाललाई  पहाड पहाडलाई, तराई बनाउनु छ ।
यो देशमा यौटा ज्वालामुखी,  बिस्फोट गराउनु छ
बाटो बिराएका छन्,  केही आफन्तहरुले,
साँझ नपर्दै उनीहरूलाई घर बोलाउनु छ ।
केही गुनासा, केही प्रश्न,   कैद छन् खामभित्र,
के होला ईश्वरको ठेगाना? यौटा चिट्ठी पठाउनु छ
बेला बेलामा छिमेकिले  निहुँ खोजीरहन्छ ,
आफ्नै  घर जलाएर, उसलाई तर्साउनु छ ।
अरे यार जमाना  कहाँबाट कहाँ पुगीसक्यो,
ऊ खुकुरी उद्ध्याउँदै भन्छ, देश जोगाउनु छ ।
.

गजल : जानेन

म भन्छु जिन्दगीले दिन जानेन !
जिन्दगीको आरोप छ लिन जानेन !

ऊ मान्छे थियो,  अमानव भई मर्यो,
मौसमसँगै रङ्ग,  बद्लिन जानेन । 

तिमी पराई भएको, प्रमाण काफी छ,
समीप आयौ मुटु,  धड्किन जानेन ।  

सोच्नुस् के हुँदो हो, तराईं पहाडलाई,
आवेगमा हिमाल, पग्लिन जानेन । 

आज ऊ पनि गजलकार हुन्थ्यो होला,
छाडी जानेको याद, बल्झिन  जानेन ।

कुवाँको भ्यागुतो अझै कुवाँमै छ,
उम्किन चाहेन या उम्किन जानेन !

Tuesday, October 27, 2015

गजल- हिमाललाई पहाड़

हिमाललाई  पहाड पहाडलाई, तराई बनाउनु छ ।
यो देशमा यौटा ज्वालामुखी,  बिस्फोट गराउनु छ

बाटो बिराएका छन्,  केही आफन्तहरुले,
साँझ नपर्दै उनीहरूलाई घर बोलाउनु छ ।

केही गुनासा, केही प्रश्न,   कैद छन् खामभित्र,
के होला ईश्वरको ठेगाना? यौटा चिट्ठी पठाउनु छ

बेला बेलामा छिमेकिले  निहुँ खोजीरहन्छ ,
आफ्नै  घर जलाएर, उसलाई तर्साउनु छ ।

अरे यार जमाना  कहाँबाट कहाँ पुगीसक्यो,
ऊ खुकुरी उद्ध्याउँदै भन्छ, देश जोगाउनु छ ।

Friday, September 4, 2015

गजल - जुन दिन यहाँ

जुन दिन यहाँ पश्चिमबाट बिहान हुनेछ ।
मेरा सारा समस्याको निदान  हुनेछ ।
आकाश  छुन उड्नेहरु, भुल्छन् किन होला,
आखिरीमा यही माटो शिरान हुनेछ ।
अहो ! यूग फेरिएछ साँच्चै फेरिएछ,     
बा' ले भने मेरो छोरा किसान हुनेछ ।     
                                                         
यही चिन्ता सताईरन्छ गाउँको गोरेटोलाई,   
हातमा राहदानी पैतालामा विमान हुनेछ ।

गजल - कति कति

मैले हिड्ने  गोरेटोमा,  पत्थर कति कति ।
छिर्के  हान्ने तयारीमा, नजर कति कति ।

न बाबुको वात्सल्य  छ, न आमाको माया,
म जस्तै छन् यो शहरमा, बेघर कति कति ।

दोष जति भाग्यलाई, सफल नहुनुको,
पाखुरीमा लाएको छ, जन्तर कति कति ।  

जसो तसो उम्क्याएथें, उडुस् घरबाट,
आए फेरि पालो थाप्न , मच्छर  कति कति ।

भोक, निन्द्रा, पीडा, वियोग, सपना, धोका,
माया यौटा तर यसका असर कति कति ।

Thursday, April 2, 2015

गजल - छातीभरी देश दुख्छ

भन्नेहरु के के भन्छन्, छातीभरी देश दुख्छ ।
सिङ्गो भन्छु हजार गन्छन्, छातीभरी देश दुख्छ ।
चर्किएको पुरानो घर, हेर्दै आमा आँशु झार्छिन्,
आफ्नै सन्तान पराई बन्छन्, छातीभरी देश दुख्छ ।
फलाना र ढिस्कानाको, भीड देख्दा सोच्ने गर्छु,
के नेपाली कुनै मन छन् ? छातीभरी देश दुख्छ ।
के था' शहर पस्नेलाई ? शमशान जस्तै भयो गाउँ,
बज्दैनन् रे चुरा छन्छन्, छातीभरी देश दुख्छ ।
नयाँ घर बन्छ भन्दा, उफ्रिएथ्यो खुशीले ऊ,
सोध्छ जग कैले खन्छन् ? छातीभरी देश दुख्छ ।
"अन्तर्राष्ट्रिय नेपाली गजल मन्च"को लागि रदिफ "छातीभरी देश दुख्छ(दुख्छ देश?)" राखेर २ बर्ष अगाडि लेखिएको गजल ।

Sunday, January 18, 2015

गजल - सोच्दैछु म

सोच्दैछु म कहिले सम्म, यस्तो अत्याचार हुन्छ ।
अल्छि गर्छ पाखुरीले , अपजसमा निधार हुन्छ ।

जेठ जान्छ माघ जान्छ, संविधान जन्मिदैन,
के आश गर्नु जबसम्म, नपुंसक सरकार हुन्छ ।

यही आशमा जाने गर्छ, हरेक सभामा त्यो कवि,
थोरै सही कहीं कतै, उस्को नि प्रचार हुन्छ ।

आफ्नो बाली बिग्रिएको, गुनासो यो हैन दैव,
किन मेरै छिमेकीको, भरिएको भण्डार हुन्छ ?

यौटा हातले दिनै पर्छ, अर्कोमा लिनुछ भने,
आजभोलि दुनियाँमा, यस्तै नै ब्यापार हुन्छ ।

गाउँका बुढा बरपीपलले, खबर पठाए'थे यस्तो,
फर्केर आ ए परदेशी, ज्युँने केही आधार हुन्छ ।

किन यति पीडादायी, आफन्तको चोट सोच्थें,
जहाँनेर बढी दुख्छ, ठ्याक्कै त्यैं प्रहार हुन्छ ।