Thursday, September 29, 2016

गजल -- अभिनय गर्छन्

दुनियाँमा हर कोहीले मजाको अभिनय गर्छन् ।
कसैले काका कसैले मामाको अभिनय गर्छन् ।

हिजो आज यसरी नि जम्ने गर्छन् मेहफिलहरू,
कसैले सुनेको कसैले सुनाको अभिनय  गर्छन् ।

स्टेयरिंग  अर्कैको हातमा छ मनपरी घुमाईरहन्छ,
ड्राइभर सिटमा बस्नेले चै चलाको अभिनय गर्छन्

निदाएका भए बरू उठाउन सजिलो हुन्थ्यो ,
कसो गरौं ? यारहरू निदाको अभिनय गर्छन् ।

आज पनि हाम्रो घरमा सबलाई पुग्ने अन्न छैन,
आज फेरि बा'आमा अघाको अभिनय गर्छन् ।

Thursday, September 22, 2016

गजल - नसोध भो साथी

नसोध भो साथी, मेरो के खबर छ ।
हो तृष्णा नदीको, साथैमा बगर छ ।

एकातिर मेरा, यी रंगीन सपना,
अर्कोतिर देख्छु, रंगहीन शहर छ ।

मरी जाने चोला, छोड लोभ लालच,
कमाई विपुल धन, भन को अमर छ?

जहरै पिएर, आजसम्म बाँचे,
जहरै पिएर, मरूँ यै रहर छ ।