Sunday, July 25, 2010

केही हाइकुहरु !!!


1.
पसिना सिंचे ।
हरियो मरुभुमी ।
डलर खेती ।
2.
उजाड वन ।
झरेका पातहरु ।
उस्तै यो मन ।
3.
गुराँसे लाली ।
मन फिक्का मेरो यो ।
तिम्रो सिउँदो ।
4.
आकाश गर्ज्यो ।
खै के ब्यथा सुनायो ।
मनै रुझायो ।
5.
तिम्रो नै याद ।
यी चिसा चिसा रात ।
प्यारी सिरक ।
6.
कनिका भेटें ।
हातमुख जोर्नुछ ।
दाउरा भिजे ।
7.
लुक्यो चन्द्रमा ।
छायो हेर अँध्यारो।
नजिक आऊ ।
8.
कैले अचल ।
कैले साउने भेल ।
मनै त हो । 


Tuesday, July 6, 2010

गजल - के भयो र?

के भयो र यौटा साथ, छुट्यो छुट्न दिएँ । 
मन भन्नु शीशा न हो, टुट्यो टुट्न दिएँ ।

दिनु साटो खोस्न मात्रै, जान्यो भाग्यले नि,
अलिकती खुशी थियो, लुट्यो लुट्न दिएँ । 

दोश तिम्रो हो कि मेरो, या त नियतिको,
अन्यौलको भुमरीले भुट्यो भुट्न दिएँ । 

जिन्दगी हो जसो तसो , ज्युँनु पर्छ सोची,
अठोट लिई मन मेरो, उठ्यो उठ्न दिएँ ।