Sunday, December 27, 2015

गजल : हिमाललाई पहाड

हिमाललाई  पहाड पहाडलाई, तराई बनाउनु छ ।
यो देशमा यौटा ज्वालामुखी,  बिस्फोट गराउनु छ
बाटो बिराएका छन्,  केही आफन्तहरुले,
साँझ नपर्दै उनीहरूलाई घर बोलाउनु छ ।
केही गुनासा, केही प्रश्न,   कैद छन् खामभित्र,
के होला ईश्वरको ठेगाना? यौटा चिट्ठी पठाउनु छ
बेला बेलामा छिमेकिले  निहुँ खोजीरहन्छ ,
आफ्नै  घर जलाएर, उसलाई तर्साउनु छ ।
अरे यार जमाना  कहाँबाट कहाँ पुगीसक्यो,
ऊ खुकुरी उद्ध्याउँदै भन्छ, देश जोगाउनु छ ।
.

गजल : जानेन

म भन्छु जिन्दगीले दिन जानेन !
जिन्दगीको आरोप छ लिन जानेन !

ऊ मान्छे थियो,  अमानव भई मर्यो,
मौसमसँगै रङ्ग,  बद्लिन जानेन । 

तिमी पराई भएको, प्रमाण काफी छ,
समीप आयौ मुटु,  धड्किन जानेन ।  

सोच्नुस् के हुँदो हो, तराईं पहाडलाई,
आवेगमा हिमाल, पग्लिन जानेन । 

आज ऊ पनि गजलकार हुन्थ्यो होला,
छाडी जानेको याद, बल्झिन  जानेन ।

कुवाँको भ्यागुतो अझै कुवाँमै छ,
उम्किन चाहेन या उम्किन जानेन !