Friday, September 28, 2012

गजल : महँगो छ

न हीरा न मोती न त, नगर महँगो छ ।
दुनियाँमा छ त केवल, रहर महँगो छ ।

रिझाउन के सजिलो छ? ईमान बन्धकी छ,
ठुलाको त कुरै अर्को, कदर महँगो छ ।

रङ्गिएथ्यो हिजो, केही निधार पखालिदाँ,
आज मन्दिर छेउको, त्यही पत्थर महँगो छ ।

के आउँथ्यो र महल भित्र, सुवास पसिनाको,
चारैतिर मगमगाउने, अत्तर महँगो छ ।

कालो झन्डा गाडेको छु, खरको छानो माथि,
झुपडीलाई हेर्ने हरेक, नजर महँगो छ ।

Bonus Sher!!
मुटु साट्ने माया गर्ने, चाहना छ भन्छु,
हाँस्दै भन्छ मेरो साथी, नगर महँगो छ ।

Sunday, July 15, 2012

गजल दोहोरी

सम्झनीमा आयो आज पाखा पर्वत हिउँ साथी !!
बिरानो यो माटोमा म कसोगरी जिउँ साथी !!

अचम्मको जिन्दगी यो,  नसुल्झिने रहस्य झै,
जस्तो जे छ त्यस्तै ठानी, त्यही रुपमा लिउँ साथी !!


कहाँ बाट कहाँ पुगेँ लेखनी नै त्यस्तो रै'छ,
भुलाउन यो पिडा हेर, लाग्छ अब पिउँ साथी !!


प्युँनु नै छ भने पनि पीडा प्युँन सिक्नु पर्छ,
आफु हाँसे न जग हाँस्छ, यत्ती सम्झिउँ साथी !!


जे जस्तो नै भए पनि, स्वदेश आखिर आमा रै'छ,
याद आउँदा टुक्र्यो मुटु, कसोरी म सिउँ साथी !!


नाउँ पायौ ठाउँ पायौ आफ्नो भन्ने गाउँ पायौ,
पाउनु जती पाई सक्यौ, अब केही दिउँ साथी !!


(प्रदीप चापागाई र जितेन्द्र मल्ल )
June 2009

Sunday, July 8, 2012

गीत : भानुभक्त(भानु जयन्ती बिशेष)

सिक्यौ पाठ घाँसीबाट, राख्यौ नाम भानुभक्त ।
युगौसम्म भुल्ने छैनन्, तिम्रो काम भानुभक्त ।

घाँसीले त कुवा बनाई, बटुवाको प्यास मेट्यो ।
धन्य तिम्रो साहित्यले, यौटा नयाँ बाटो भेट्यो ।
गरीबीमै हुर्किएको , घाँसी थियो मनको धनी ।
गुरु मान्यौ उसैलाई, बढ्यौ अघि चेला बनी ।

चिनायौ नि रामायण, सीता राम भानुभक्त ।
धनञ्जय पुत्र धन्य, तिम्रो काम भानुभक्त ।

जती बखान गरौँ तिम्रो, अपुरो नै हुन्छ सारा ।
हाम्रो मनमा 'आदिकवि', चम्किएको तिमी तारा ।
बहेका छौ बहने छौ , साहित्यको धारासित ।
रहेका छौ रहने छौ , नेपाली मन सारासित ।

तनहुँ नै साहित्यको, बन्यो धाम भानुभक्त ।
धन्य तिमी झनै धन्य, तिम्रो काम भानुभक्त ।




Saturday, June 16, 2012

संयुक्त गजल -- फरक भयो


जब देखि तिम्रो मेरो, माटो फरक भयो ।
यस्तो लाग्यो सँगै हिंड्ने, बाटो फरक भयो ।

पखालिन्न जुनिभरी भनिकन मैले,
रगतले सिंगारेको टाटो फरक भयो ।

मुटु दिँदा मुटुले नै क्षति पुर्नु पर्थ्यो,
बदलामा झिर दियौ साटो फरक भयो ।

चोटहरु एकै हुन्छन, भ्रम थियो मलाइ,
नपुरिने चोटहरुको खाटो फरक भयो ।

तिम्रो काख न्यानो थियो, बस्न पाइएन
भतभति पोल्छ अन्त तातो फरक भयो ।

जितेन्द्र मल्ल, रवी आचार्य, कृष्ण प्रशाद पाण्डे, हिमाली किरण र झलक पौडेल !!
जुन २०१० मा रचिएको गजल !!

Wednesday, June 6, 2012

केही यादगार पलहरु !!


जिन्दगीमा केही यस्ता पल हुन्छन् जुन हरेक समय याद आईरहन्छन् । मेरो जीवनका केही यादगार पलहरु बाँड्दैछु, जुन कुराहरु केहीलाई मात्रै SHARE गरेको थिएँ आजसम्म ।
--------------

१) आमाको माया :

पढाईको सिलसिलामा प्राय: घर बाहिरै रहने म, दसैं तिहारको छुट्टीमा घरमै थिएँ । एउटा साँझ मुवा भान्छामै भएको बेलामा रक्सी खाएको एक्टिङ गर्दै मुवासित लर्बराएको लवजमा कुरा गरें । सोझी मुवाले भन्नु भयो, "धत लाटा यसरी रक्सी खाने हो ? आईज, यहाँ भान्सा भित्रै लुकेर बस, तेरो बुवाले देख्नु भयो भने मार्नु हुन्छ !"
कहिले रक्सी नपिउने छोरालाई रक्सी पिएको सोचेर बचाउन खोज्ने मुवाको त्यो महान मन अरु कहाँ भेटिएला र ?

२) छोरा छोरी बराबरी :

जिन्दगीका २८ बसन्त पार गरुन्जेल सम्म मैले बुवाको हातको एउटा मात्रै थप्पड खाएको छु । कुरा धेरै पहिलेको हो, म करीब ५-६ बर्षको हुँदा । जेठी दिज्जु माइती आउनु भएको बेलामा कुन्नी के के भन्नु भयो मलाई । अनी कुरै कुरामा मलाई रिस उठेर दिज्जुलाई भन्न पुगें, "यो तेरो घर होइन, मेरो घर हो ।" यती के भनेको थिएँ, बुवाको हातको एउटा थप्पड खाएँ ! त्यो बाल मानसपटलले त्यती बेला नै बुझिसकेको थियो कि यस्तो कुरा आफु भन्दा ठुलालाई भन्नु हुँदैन ।

३) अभिभावकको चिन्ता :

बि. ई. पढ्दा ताकाको एक साँझ डेरामै परिक्षाको तयारी गर्दै थिएँ, घरबाट अंकल को फोन आयो । रिसाउँदै सोध्नु भयो, "कहाँ छस् अहिले?" मैले उत्तर दिएँ, "डेरामै छु अंकल, भोली परिक्षा छ, त्यसैको तयारी गर्दै छु । " "राम्ररी पढ है बाबु, परिक्षा राम्रो सित दिनु!" भन्ने उत्तरको अपेक्षा गरेको थिएँ, यस्तो पो आरोप पाएँ, "हैन, तँ अहिले बारमा छस्, बियर खाँदै छस् ।" विश्वाश दिलाउने धेरै कोशीश गर्दा पनि अंकल मान्नु भएन, उल्टै मलाई आरोप लगाइराख्नु भयो ।
खाँट्टी कुरो पछि चाल पाएँ, केही कथित "शुभचिन्तक" भनाउँदाहरुले, "छोरा बिग्रियो, पढाई छोडिसक्यो, घुमेर बस्छ, जाँड रक्सी खान्छ, डिस्कोहरु धाउँछ", आदी ईत्यादी कुराहरुले मेरा अभिभावकहरुको कान भरेका रहेछन् ।
म बियर पनि नपिउने मान्छे, डिस्कोहरु धाउने त कुरै भएन ।  यसरी नानाथरी कुराहरु घरमा सुनाउने ती शुभचिन्तक भनाउँदाहरु जहाँ पनि भेटिन्छन् ।

४) सरको पिटाई :

विद्यार्थी जीवनकालमा सरको कति पिटाई खानु भएको छ ? मैले एक लट्ठी खाएको छु, मलाई एकदमै माया गर्ने सरको हातबाट, तर अरुको गल्तीको लागि । हामीलाई ईंग्लिश पढाउने सर करीब साठीको हाराहारिमा हुनुहुन्थ्यो, उहाँले म सहित अरु विद्यार्थीहरुलाई पनि धेरै माया गर्नु हुन्थ्यो, कारण राम्रा विद्यार्थीहरुको सुचीमा हामी पर्थ्यौ । एकदिन म बसेको बेन्चतिरबाटै DISTURBANCE आएको महशुश भएर सरले मलाई उठ्न  भन्नुभयो र मैले स्पष्टिकरण दिन नपाउँदै एक लट्ठी हिर्काउनु भयो ।  केही साथीहरुलाई असह्य भएर सरलाई भने, "सर यस्मा जितेन्द्रको कुनै गल्ती छैन, हल्ला अरुले गरेका हुन् । " तिनिहरुले यती के भनेका थिए, मेरो आँखाबाट आँशु झर्‍यो । कारण अहिले सम्म बुझ्न सकेको छैन; ती साथीहरुको स्नेह पाउनु, या बिना गल्ती सजाय पाईनु ? पछि सरले माया गरेर फकाउनु भएको थियो । 

Friday, May 25, 2012

गजल -- हुनुपर्छ

तिम्रो दिलको ईजलाशमा चाँडै सुनुवाई हुनुपर्छ ।
या त कैदी जन्मौ जन्म या त रिहाई हुनुपर्छ ।

अल्पमतको पनि कदर गर्नुपर्छ भन्छु मैले,
तिमी भन्छौ हैन हैन! दुई तिहाई हुनुपर्छ ।

सुम्पे मुटु तिमीलाई, खाली भयो देब्रे पाटो,
अझै पनि सोध्छौ तिमी, के को भर्पाई हुनुपर्छ ।

छेपारो झै रङ्ग फेर्ने, दुनियाँको के भर पर्नु?
आफ्ना लागि आफ्नै मनको, साक्षी बकाई हुनुपर्छ ।

सुनाइको त के कुरा भो, धोका खान्छन् आँखाले नि,
दोषी करार दिनु पुर्व, यौटा सफाई हुनुपर्छ ।

नेपाली गजल डट कम मा यो गजल हेर्न यहाँ क्लिक गर्नु होला !! तिम्रो दिलको ईजलाशमा

Wednesday, May 23, 2012

प्यारोडी गजल --- यहाँ कुर्सीको छ चिन्ता, तिमी संविधान भन्छौ


यहाँ कुर्सीको छ चिन्ता, तिमी संविधान भन्छौ ।
साँच्चै नबुझ्ने हौ कि, नबुझ्ने जस्तै बन्छौ ।

आफ्नै कुर्सी बचाउन, गार्‍हो छ यहाँ मलाई,
तिमी भने पछौटे र कार्यकर्ता गन्छौ ।
साँच्चै नबुझ्ने हौ कि, नबुझ्ने जस्तै बन्छौ ।
यहाँ कुर्सीको छ चिन्ता !!!

पुस्तौं पुस्ता पुग्ने, सम्पत्ती जोड्दैछु म,
सम्पत्ती नै नभए, के झुपडिमा रहन्छौ ?
साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ ।
यहाँ कुर्सीको छ चिन्ता ।

मर्न देऊ जनता, हामीले बाँचे पुग्छ,
गरौ बरु मोजमस्ती, किन खोईरो खन्छौ ।
साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ ।
यहाँ कुर्सिको छ चिन्ता, तिमी संविधान भन्छौ ।

Image Source: The Kathmandu Post



Tuesday, May 22, 2012

गजल -- धोकामै छ हेर

भन्छ ईश्वर दुखी गरीब, भोकामै छ हेर ।
धाउँछ मन्दिर पुज्छ पत्थर, धोकामै छ हेर ।

साटौं भने पीडा हुने, राखौं बोझ भयो,
किन्ने भए मेरो मुटु, खोकामै छ हेर ।

पाहुना लाग्छन् समस्या यी, मेरै घरमा सधैं ,
एक-हुल गयो अर्को फेरी, ढोकामै छ हेर !

चारैतिर मरुभुमी, छ त के नै भयो ?
टन्न पानी बोकेको छु, डोकामै छ हेर ।

मुस्काएरै पीडा छल्छु, सुखी ठानी जल्छन्,
दुनियाँ के दैव पनि, धोकामै छ हेर ।

Monday, April 23, 2012

लघुकथा--- आमा

"बाबु, तँ नेपाल आए पछि सँगै अस्पताल गएर चेक गराउँला नि हुन्न ?" कमाईको केही हिस्सा पैसा पठाएर उपचार गराउनुहोला भन्ने मेरो अनुरोधमा बिरामी आमाले त्यसो भनिन् । एक महिना पछि त छुट्टी मिलिहाल्छ नि भनेर मैले पनि  'हुन्छ' भनें ।

ओहो, दुई बर्ष भन्दा पनि बढी भएछ घरबाट टाढिएको । छुट्टीको दुई महिना परिवार, साथीहरुसित रमाइलो गरी मनाउँछु । आफन्त साथीभाइहरु सितको भेटघाटमै कति चाँडै बित्ने होला दुई महिना ।  यस्तै कुराहरु मनमा खेलाउँदै दिनहरु बिताउँदै थिएँ, तर अझै  छुट्टीको मिती तोकिएको थिएन ।

छुट्टीको मिती पनि तोकियो, मेरो हर्शको सीमा नै रहेन  ! खुशी होश या दु:ख पहिले सबैभन्दा मन मिल्नेलाई नै बाँडिन्छ । रमाएर आमालाई फोन गरें ।  फोन छिमेकी नातेदारले उठाइन्, मनमा चिसो पस्यो कारण घरको फोन प्राय: आमाले नै उठाउनुहुन्थ्यो ।  मैले आमासित कुरा गर्ने इक्षा राख्दा उनले रुँदै भनिन्, "तेरी आमा त हामीलाई छोडेर जानुभयो बाबु !!!"

Saturday, April 14, 2012

गजल --- नयन प्यारा

बाढी आउँदा यो मुटुमा, छल्कने ती नयन प्यारा ।
खुशी छाउँदा यो मनमा, टल्कने ती नयन प्यारा ।

तिमी त्यसै राम्री नै छौ, श्रिङ्गार किन चाहियो भन्दा,
लजाएर भुईं तिर, ढल्कने ती नयन प्यारा ।

डुलुवा यी दोशी नजर, कहाँ पुग्छन् पत्तो हुन्न,
बाटो भुली अन्तै डुल्दा, सल्कने ती नयन प्यारा ।

जुधे कयौ नजरहरु, "जीवन" को यो गोरेटोमा,
यौटा न्यानो आफ्नोपना , झल्कने ती नयन प्यारा ।




Saturday, March 3, 2012

गजल -- शहर कहाँ धाइन्थ्यो र ?

गाउँमै रम्न सक्या भए, शहर कहाँ धाईन्थ्यो र ?
बाध्यता हो रहरले त, हण्डर कहाँ खाईन्थ्यो र ?

सुख बाँडे बढ्छ अरे, दु:ख बाँडे घट्छ भन्छन्,
मिल्ने भए सबलाई बाँड्न, आफ्ना किन चाहिन्थ्यो र ?

खुशी भन्ने चीज यस्तो, कस्तुरिको बिना सरि,
आँफैभित्र हुन्छ यो त, बाहिर के पाईन्थ्यो र?


जति आउँछन् बाधाहरु, त्यति हुन्छु बलियो म,
नभिडेर भागी हिंडें, 'जीवन' कहाँ दाईन्थ्यो र?





Monday, February 20, 2012

केही टुक्रा टाक्री - ४

1.

जीवन मृत्‍यु क्रम न हो, सबैलाई हुन्छ ।
ज्युँनु पनि श्रम न हो, सबैलाई हुन्छ ।

मै हुँ जान्ने मै छु राम्रो, सोच्थे म पनि,
आखिर एउटा भ्रम न हो, सबैलाई हुन्छ ।

2.
लेख्न त लेख्थें यार, मूड भए पो लेख्नु ।
गर्जिने ती शेरको, गुट भए पो लेख्नु ।

चिल्लोमा रम्ने धेरै, खस्रोमा आँखा तर्छन्,
जे देख्छु त्यही लेख्ने, छुट भए पो लेख्नु ।

 आजकल बिरालो नि, झुक्किन्छ रे बिचरा,
पानी पानी र दूध दूध भए पो लेख्नु ।


Wednesday, February 1, 2012

गजल -- आऊ यस्तो खेल खेलौ

आऊ यस्तो खेल खेलौ, हारजीतको कुरै नहोस् ।
आऊ यस्तो कथा लेखौ, 'हामी'बिना पुरै नहोस् ।

पिरतीको गीत रचौ, ताल मिलाउँ दुई धड्कनको,
आऊ यस्तो धून रेटौ, जोरी खोज्ने सुरै नहोस् ।

बाधा आउलान् कति कति, अलग पार्न खोज्लान् वैरी,
जोडौ मुटु यसरी कि, चिरा पार्ने छुरै नहोस् । 


बितोस् "सन्ध्या" यो "जीवन"को, एकर्काको धड्कन सुन्दै,
मौनता होस् यस्तो त्यहाँ, छनछन् गर्ने चुरै नहोस्  ।