Monday, December 15, 2014

गजल - हेर्दै जाऊ

हेर्दै जाउ तमाशा , दिनरात देखाउँछन् ।
मान्छे हुन् मान्छेले औकात देखाउँछन् ।

राहदानी थमाई, भनिन्  पियारीले,
छिमेकीले महँगा, सौगात देखाउँछन् ।

फुट्छन् लड्छन् मर्छन् , त्यस्सै लाटाहरु,
बाठा धर्म क्षेत्र, र जात देखाउँछन् ।

झरी खेपेको यो, ज्यानलाई तर्साउन,
उनीहरु रिमझिम, बर्षात देखाउँछन् ।

मै हुँँ भन्ने रुख नि, झुक्छन् सलामीमा,
सुनामीलाई यहाँ, झारपात देखाउँछन् ।


Monday, April 28, 2014

गजल - ईज्जतको सवाल छ

यस्पाली त गाँठो कस्छु, ईज्जतको सवाल छ ।
नत्र खरानी नै घस्छु, ईज्जतको सवाल छ ।

भन्छन् खाए पछुताउँछस्, नखाए नि त्यस्तै,
खाएर नै बरु फस्छु, ईज्जतको सवाल छ ।

शहरकाको भर नपर्नु, भन्थे हजुरबा'ले,
जोडी खोज्न गाउँ पस्छु, ईज्जतको सवाल छ ।

जन्ते बाख्रो कैले ख्वाउने? भन्दै हैरान पार्छन्,
अब भने घुँडा धस्छु, ईज्जतको सवाल छ ।

घोडा चढी जन्ती लिई, पञ्चेबाजा सँगै ,
रीत पुर्‍याई जग्गे बस्छु, ईज्जतको सवाल छ ।


अविवाहित र बिहेको तयारीमा रहनु भएका मित्रहरु प्रति समर्पित :D

Thursday, February 27, 2014

गजल - भोका छन्


उता गाउँहरु , मामका भोका छन् ।
यता शहरहरु दामका भोका छन् ।

जिम्मेवारी दिएर त हेर सरकार,
कयौं युवा काँध, कामका भोका छन् ।

लेख्नु आफ्नो धर्म, सम्झिन्छस् यार तँ,
लेख्नेहरु यहाँ, नामका भोका छन् ।

छोरो सनबाथ लिई, मख्ख छ परदेशमा,
गाउँमा बाबा आमा, घामका भोका छन् ।

खै कस्तो होड हो, मनपरी दौडिन्छन्,
लाग्छ कलमहरु, लगामका भोका छन् ।

Wednesday, January 15, 2014

गजल - अन्जान भएको छु

देखें, भोगें, जानें र त, अन्जान भएको छु ।
आफ्नै नजरबाट गिरी, महान भएको छु ।

दु:खमा मात्रै सम्झिनेको, लाम देख्दा लाग्छ,
म नि यौटा अघोषित, भगवान भएको छु ।

खुम्च्याउँदछन् निधार किन, मेरा गन्थन सुन्दा,
दुनियाँका लागि शायद, विज्ञान भएको छु ।

सिंहदरबार दिक्क मान्दै, बह पोख्दै थियो,
जमुरे र बाँदर नाच्ने, मैदान भएको छु ।

जस्लाई बोकें जिन्दगीभर, तिन्कै लागि आज,
भन्दै थिए बुढा बा'ले, थकान भएको छु ।