Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Sunday, July 8, 2012

गीत : भानुभक्त(भानु जयन्ती बिशेष)

सिक्यौ पाठ घाँसीबाट, राख्यौ नाम भानुभक्त ।
युगौसम्म भुल्ने छैनन्, तिम्रो काम भानुभक्त ।

घाँसीले त कुवा बनाई, बटुवाको प्यास मेट्यो ।
धन्य तिम्रो साहित्यले, यौटा नयाँ बाटो भेट्यो ।
गरीबीमै हुर्किएको , घाँसी थियो मनको धनी ।
गुरु मान्यौ उसैलाई, बढ्यौ अघि चेला बनी ।

चिनायौ नि रामायण, सीता राम भानुभक्त ।
धनञ्जय पुत्र धन्य, तिम्रो काम भानुभक्त ।

जती बखान गरौँ तिम्रो, अपुरो नै हुन्छ सारा ।
हाम्रो मनमा 'आदिकवि', चम्किएको तिमी तारा ।
बहेका छौ बहने छौ , साहित्यको धारासित ।
रहेका छौ रहने छौ , नेपाली मन सारासित ।

तनहुँ नै साहित्यको, बन्यो धाम भानुभक्त ।
धन्य तिमी झनै धन्य, तिम्रो काम भानुभक्त ।




Tuesday, December 6, 2011

गीत --- आमा !!!

मन जलाई, सगर माझ गयौ बिलाई ।
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।
आमा ssss
दुखें धेरै, नसताऊ, मलाई छोडी अन्त नजाउ !!
चर्क्यो घाऊ, फर्की आऊ, ममताको मल्हम लगाउ !!


लर्खराउँदा कदम मेरा, हात दियौ हिंड्न सिकें ।
बाधा आउँदा हर मोडमा, आँट दियौ भिड्न सिकें ।
यात्रा मेरो अधुरै छ, कसले देला साथ अब ।
ठेश लागि लड्न लाग्दा, कसले देला हात अब ।
आशुँको यो, सागर मा दियौ डुबाई,
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।
आमा sss

मलाई बुझ्ने एउटा तिमी, मैले पुज्ने देउता तिमी ।
अधुरो भो जीवन मेरो, म छु यता कता तिमी  ।
रिसायौ कि दैव मेरी, खाली देख्छु मन्दिर पनि ।
कस्लाई पोखौ मनको बह, उर्लदैछन् भेल बनी ।
तिमी पाउन, चढाइदिन्थे भेटी आँफैलाई ।
भन मलाई, कहाँ पाउँ अब तिमीलाई ।
आमा ssssssssssssssss
दुखें धेरै, नसताऊ, मलाई छोडि अन्तै नजाउ !!
चर्क्यो घाऊ, फर्की आऊ, ममताको मल्हम लगाउ !

Tuesday, September 14, 2010

तीजको रहर गयो बरी लै !!

((यस कथामा भएका सम्पूर्ण पात्रहरु काल्पनिक छन् । यदी कसैको वास्तबिक जीवनसित मेल खान गएमा संयोग मात्र कहलाईनेछ । महिलावादी संस्थाहरुले   भेटे भने यो गीतको रचनाकारलाई जुत्ता चप्पल उपहार नदेलान् भनेर भन्न सकिन्न । म के भन्छु भने, ती जुत्ता चप्पल, बाढिपहिरो पीडितहरुलाई दिनु होला, मलाई आवश्यकता छैन । :P)) -- 

माइतिमा 'दर', खाईन् उन्ले, मैले घरमै 'दारु' खाएँ ।
जसरी नि मान्नु न हो, यो सालको तीज मनाएँ ।

खाली खल्ती रित्याउँछ, बर्शै दिन तीज आउँछ । 
कही न'भा फेशन-सेशन, कल्ले यिन्लाई सिकाउँछ । 
सुक्को थे'न खल्तिमा त, ऋण खोज्न धेरै धाएँ । 
जसो तसो दशा टर्‍यो, यो सालको तीज मनाएँ । 

साथीसंगी नाच्ने उस्तै, उस्ले गीतमै गाली गर्छे ।
बुझ्नै गार्‍हो माया उस्को, मेरै लागि भोकै बस्छे । 
तिम्रो कस्ती छ ओ साथी? मैले यस्ती बुढी पाएँ ? 
शीतन बिनै चुस्की लाएँ, यो सालको तीज मनाएँ ।

Tuesday, June 15, 2010

गीत

((जस्ले देख्न र सुन्न सक्नुहुन्न, उहाँहरुप्रती समर्पित यो रचना !!!))

देख्दिन म तिमीलाई तर पनि देख्ने रहर । 
सुन्दिन म बोली तिम्रो तर पनि सुन्ने रहर । 

हेर्न खोज्छु प्रकृति यो, कालो रात आँखा सित । 
सुन्न रोज्छु मिठो धून, हुन्छ घात भाका सित । 
अपुरो भो प्रकृतिका, मिठा धून चुन्ने रहर । 
अझै पनि लागिरन्छ, किन किन सुन्ने रहर । 

संसार यो एकै पल्ट देख्न पाए हुन्थ्यो जाती । 
चिर्बिर चिर्बिर चराको त्यो बोलीसङ्गै रम्थ्यो छाती । 
अधुरो भो देखी सुनी, दुनियाँमा रम्ने रहर । 
दैव कैले पुर्‍याउँछौ, मेरो देख्ने सुन्ने रहर ?

Tuesday, March 23, 2010

गीत --- अल्लारे माया !!!!


रिसले हो कि, लाजले हो, तर्की तर्की हेरी ।
हेर् न हेर् ओई, त्यो केटीले, फर्की फर्की हेरी ।

पैलो भेट्मै प्रेम मुना, पलायो कि क्या हो ?
प्रेमरोगले कोमल् मुटु, जलायो कि क्या हो ?
रिसाए झै गर्छन् अरे, माया गर्ने हरु ।
रिसमै माया छर्छन् अरे, माया छर्ने हरु ।

देखिस् कि त ? रिसाएर झर्की झर्की हेरी ।
अलि माया, मिसाएर फर्की फर्की हेरी ।

रिस भुलें माया सम्झें, माया जालमा परें ।
थाहै छैन यती चाँडो , यस्तो हालमा परें ।
खुल्दुली भो मन्मा धेरै, भन् न कसो गरौ ?
नाम् ठेगाना खोज् न केटा, उतै डेरा सरौ ।

ती नजरले कस्तो नशा, छर्की छर्की हेरी ।
लठ्ठै भएँ म त यार, फर्की फर्की हेरी ।

Monday, November 16, 2009

मेरो प्रश्न !!!!!

आफ्नै स्वार्थ मात्रै हेर्ने बानी रोक्न मिल्दैन कि ?
बिरामी ती आमाको भार मिली बोक्न मिल्दैन कि?

एमाले र कांग्रेस भन्छन सरकार हामी चलाऊँछौ !!
मशाल बोकी माओवादी भन्छ सरकार ढलाउँछौ !!
चलाऊने र ढलाउने यो खेल रोक्न मिल्दैन कि ?
बिरामी ती आमाको भार मिली बोक्न मिल्दैन कि?

एक मधेश एक प्रदेश कुर्लदैछ फोरम पनि !!
बिभेदहरु जन्मदैछन जात, धर्म, क्षेत्र बनी !!
नेपालीमै भाँजो हाल्ने काम रोक्न मिल्दैन कि ?
बिरामी ती आमाको भार मिली बोक्न मिल्दैन कि?

राप्रपाको उही पारा बाँकी भाका दल नि त्यस्तै!!
सत्ताको नै लोभमा परि यताउती धाउन ब्यस्तै !!
सत्ताको यो लुछाचुँडी अझै रोक्न मिल्दैन कि ?
बिरामी ती आमाको भार मिली बोक्न मिल्दैन कि?

हामी जनता चेतनशिल किन भन्छौ आँफैलाई !!
मौन नै छौ अझै पनि धेरै चोटि घात पाइ!!!
बुझेर नि अबुझ बन्ने नाटक रोक्न मिल्दैन कि ?
बिरामी ती आमाको भार मिली बोक्न मिल्दैन कि ?

Wednesday, October 7, 2009

गीत----- तिमी!!!!!

कल्पनामा आँफैभित्र मात्तिएकी फूल तिमी !!
भँवराको हुल देखी आत्तिएकी फूल तिमी !!

बैश चढ्यो मात बढ्यो, सुन्दरताले बास पायो !!
चोखो तिम्रो फुलवारीमा, नयाँ मधुमास छायो !!
भरिएको जवानीले, मात्तिएकी फुल तिमी !!
पोखिन्छ कि मिठो रस, आत्तिएकी फूल तिमी !!

रीत न हो, वैली झर्‍यो, मगमगाउँदो फूल पनि !!
बिझायो कि उदासी त्यो, चोट दिने शूल बनी !!
अझै पनि अबुझ बनी, मात्तिएकी फूल तिमी !!
ढल्किएको बैश सम्झी, आत्तिएकी फूल तिमी !!