Saturday, January 16, 2010

गजल---- पिरतिमा !!!

आकाशका जून तारा, झर्छन् अरे पिरतिमा !!!
सयौं चोटि प्रेमीहरु, मर्छन् अरे पिरतिमा !!!

कस्लाई थाहा भरे यहाँ, के हुने हो- तर पनि,
साथै ज्युँने मर्ने बाचा, गर्छन् अरे पिरतिमा !!!

मायालुको साथ पाए, भुली सारा संसार नै,
प्रेमनगर तिरै डेरा, सर्छन् अरे पिरतिमा !!!

यथार्थको धरातल, छाडि कतै बिरानीमा, ,
कल्पनाको सागर बरु, तर्छन् अरे पिरतिमा !!!

चोखो माया प्रेम यहाँ, कस्ले बुझ्छ कस्ले गर्छ,
देखावटी मायाकै भर् , पर्छन् अरे पिरतिमा !!!

Tuesday, January 12, 2010

लघुकथा--- बाध्यता !!

मेहनती, ईमान्दार र मितव्ययी , यी तीन उस्का पर्यायवाची शब्द । कामको लागि दिनरात भन्दैन थियो । समय समयमा घर पैसा पठाइरहन्थ्यो, भन्थ्यो, " म बाहेक कोही छैन घरमा कमाउने, पैसा पठाएन भने चुल्हो पनि बल्दैन । "

धेरै भएको थियो मैले उस्लाई नभेटेको । परदेश न पर्यो, आफ्नो समय नै 'कम्पनी' सँग धितो राख्नुपर्ने बाध्यता । एक दिन फुर्सत मिलाएर फोन गरे उस्लाई । मधुरो आवाजमा उस्ले मलाई बेलिबिस्तार लगायो र भेट्न बोलायो । म पनि चुपचाप उस्लाई भेट्न गए ।

भेट्नु अगावै बाहिरबाट नै आवाज सुने उसैको, शायद फोनमा कुरा गर्दै थियो, 'म सञ्चै छु आमा, मेरो केही चिन्ता नमान्नुहोला । म बेला बेलामा पैसा पठाइरहन्छु है ।...................... '

यसो भन्दै गर्दा ऊ अस्पतालको शैय्यामा जिन्दगीका अन्तिम दिनहरु जिउँदै थियो !!!!

Tuesday, January 5, 2010

सुजी == सुरेश खतिवडा + जितेन्द्र मल्ल, को संयुक्त गजल!!!

क्षितिजपारी त्यो गाउँको बाटो भेटिएन !!
यो शहरमा खोजे आफ्नो माटो भेटिएन!!

चस्स किन दुख्यो भनी मुटु छामी हेरे ,
एउटा थियो तर अर्को पाटो भेटिएन !!

बिहानीको झुल्कासँगै, झाँके यता उती,
आफन्तको झल्को दिने टाटो भेटिएन!!

नयाँ पिडा साह्रै दुख्ने, जाती पुराना नै,
छामी हेरेँ घाऊ उही खाटो भेटिएन !!

हेर्छु सधैं उही गल्ली, ब्यथा उस्तै उस्तै,
डेरा सार्न खोजे अन्तै साटो भेटिएन !!