Wednesday, May 31, 2017

गजल : उज्यालो आउँछ ।

हरेक साँझ जब बा सँगै कुटो आउँछ कोदालो आउँछ ।
आमाको मुहारसँगै भान्छा कोठामा उज्यालो आउँछ । 

तिम्रा ती सुकोमल हातहरूमा लगाम लगाऊ प्रिया,
थाहै हुन्न कुन बेला चड्कन कुन बेला अँगालो आउँछ । 

आज फेरि उसलाई मान्छे भएकोमा पछुतो लाग्यो,
कसैले भन्यो 'एकदिन त कुकुरको नि पालो आउँछ'।

वर्षौंदेखि  यो मुटुलाइ पत्थर बनाएर हिंडेको छु,
यौटै डर छ, कुन दिन यहाँ ठूलो भूइंचालो आउँछ ।

मूसाहरूको ज्यादती चुपचाप सहिंदैछ  उहिलेदेखि,
यही आशमा कि कुनैदिन पक्कै बिरालो आउँछ ।

Saturday, November 5, 2016

गजल ---- म सोच्दैछु यस्तो

म सोच्दैछु यस्तो कि सोचिन्न कैल्यै ।
भयो के ? हिलोमा कमल खिन्न कैल्यै   ।

के विश्वास  गर्छौ ? सुनेका कुरामा,
नमर्दै यहाँ स्वर्ग, देखिन्न कैल्यै ।    

सलाई किन्नु पैले, थियो सोच्नु पर्ने,
बरफमाथि आगो लगाईन्न कैल्यै ।   

छ यात्रा शिखरको तयारी छ शून्य,
भए बन्द ढोका उघारिन्न  कैल्यै ।  

बनाईस् कसोरी घडी ए विधाता,
बरालिन्न कैल्यै हतारिन्न कैल्यै ।

गजल -- म भन्छु जिन्दगीले

म भन्छु जिन्दगीले दिन जानेन !
जिन्दगीको आरोप छ लिन जानेन !

ऊ मान्छे थियो,  अमानव भई मर्यो,
मौसमसँगै रङ्ग,  बद्लिन जानेन । 

प्रमाण काफी छ,   तिमी पराइ भएको,
समीप आयौ मुटु,  धड्किन जानेन ।  

सोच्नुस् के हुँदो हो, तराईं पहाडलाई,
आवेगमा हिमाल, पग्लिन जानेन । 

आज ऊ पनि गजलकार हुन्थ्यो होला,
छाडी जानेको याद, बल्झिन  जानेन ।

अझै नि कुँवामै छ, कुवाँको भ्यागुतो,
उम्किन चाहेन, या उम्किन जानेन !

सोझो हुनु पनि, अभिषाप हुन्छ यहाँ,
मासियो त्यो रुख जो, बाङ्गीन जानेन !

गजल- उसले एकपल्ट पनि

उसले एकपल्ट पनि सोचेन बाहिरिनु अगाडि ।
अब हजारपल्ट सोच्नेछ घर फर्किनु अगाडि ।
  
अचेल मेरो साथी मेरै ज्यानको  दुश्मन भएको छ,
जो ज्यान दिन तयार थियो पैसा लिनु अगाडि ।

बा आमा, हुर्केको आँगन, खुला चौर, चौतारो,
आहा ! क्या जिन्दगी थियो ब्युँझिनु अगाडि ।

यो पक्का हो, सबै फूल शिरमा शोभा दिंदैदन्,
यत्ति बुझे हुन्थ्यो सिउरिनेले सिउरिनु अगाडि ।

अहिले बेहिसाब प्यालामाथि प्याला  थपिंदैछन्,
थोरै पिउने सहमति थियो मातिनु अगाडि ।

गजल -- होलान् तिम्रा

होलान् तिम्रा हजार कारण, रिसाउनका लागि
छन् म सँग लाखौं काइदा फकाउनका लागि
                                                          
सुनाउँदै थे यारहरू,  प्रगतिका किस्साहरू,
म सित यै गजल थियो सुनाउनका लागि ।
 
कालो बादल जति छावोस् बर्सिन्नन् यी नयन,
केही याद ताजा नै छन् मुस्काउनका लागि । 

गिलासले नि उसकै मुहार प्रष्टै देखाइदियो,
पिउँदै थिएँ मैले जसलाई भुलाउनका लागि ।