Thursday, April 2, 2015

गजल - छातीभरी देश दुख्छ

भन्नेहरु के के भन्छन्, छातीभरी देश दुख्छ ।
सिङ्गो भन्छु हजार गन्छन्, छातीभरी देश दुख्छ ।
चर्किएको पुरानो घर, हेर्दै आमा आँशु झार्छिन्,
आफ्नै सन्तान पराई बन्छन्, छातीभरी देश दुख्छ ।
फलाना र ढिस्कानाको, भीड देख्दा सोच्ने गर्छु,
के नेपाली कुनै मन छन् ? छातीभरी देश दुख्छ ।
के था' शहर पस्नेलाई ? शमशान जस्तै भयो गाउँ,
बज्दैनन् रे चुरा छन्छन्, छातीभरी देश दुख्छ ।
नयाँ घर बन्छ भन्दा, उफ्रिएथ्यो खुशीले ऊ,
सोध्छ जग कैले खन्छन् ? छातीभरी देश दुख्छ ।
"अन्तर्राष्ट्रिय नेपाली गजल मन्च"को लागि रदिफ "छातीभरी देश दुख्छ(दुख्छ देश?)" राखेर २ बर्ष अगाडि लेखिएको गजल ।