Monday, April 23, 2012

लघुकथा--- आमा

"बाबु, तँ नेपाल आए पछि सँगै अस्पताल गएर चेक गराउँला नि हुन्न ?" कमाईको केही हिस्सा पैसा पठाएर उपचार गराउनुहोला भन्ने मेरो अनुरोधमा बिरामी आमाले त्यसो भनिन् । एक महिना पछि त छुट्टी मिलिहाल्छ नि भनेर मैले पनि  'हुन्छ' भनें ।

ओहो, दुई बर्ष भन्दा पनि बढी भएछ घरबाट टाढिएको । छुट्टीको दुई महिना परिवार, साथीहरुसित रमाइलो गरी मनाउँछु । आफन्त साथीभाइहरु सितको भेटघाटमै कति चाँडै बित्ने होला दुई महिना ।  यस्तै कुराहरु मनमा खेलाउँदै दिनहरु बिताउँदै थिएँ, तर अझै  छुट्टीको मिती तोकिएको थिएन ।

छुट्टीको मिती पनि तोकियो, मेरो हर्शको सीमा नै रहेन  ! खुशी होश या दु:ख पहिले सबैभन्दा मन मिल्नेलाई नै बाँडिन्छ । रमाएर आमालाई फोन गरें ।  फोन छिमेकी नातेदारले उठाइन्, मनमा चिसो पस्यो कारण घरको फोन प्राय: आमाले नै उठाउनुहुन्थ्यो ।  मैले आमासित कुरा गर्ने इक्षा राख्दा उनले रुँदै भनिन्, "तेरी आमा त हामीलाई छोडेर जानुभयो बाबु !!!"

Saturday, April 14, 2012

गजल --- नयन प्यारा

बाढी आउँदा यो मुटुमा, छल्कने ती नयन प्यारा ।
खुशी छाउँदा यो मनमा, टल्कने ती नयन प्यारा ।

तिमी त्यसै राम्री नै छौ, श्रिङ्गार किन चाहियो भन्दा,
लजाएर भुईं तिर, ढल्कने ती नयन प्यारा ।

डुलुवा यी दोशी नजर, कहाँ पुग्छन् पत्तो हुन्न,
बाटो भुली अन्तै डुल्दा, सल्कने ती नयन प्यारा ।

जुधे कयौ नजरहरु, "जीवन" को यो गोरेटोमा,
यौटा न्यानो आफ्नोपना , झल्कने ती नयन प्यारा ।