Sunday, July 31, 2016

गजल : कसैलाई उचालिरह्यो

कसैलाई उचालिरह्यो, कसैलाई पछारिरह्यो ।  
कसैलाई सुधारिरह्यो, कसैलाई बिगारीरह्यो ।                                                                                  
बढी मेहनती  फेदमै छ, अर्को शिखरमा छ,
ऊ कमजोरी खोजीरह्यो,  उसले सुधारिरह्यो ।
                                
भाग्य  नआएको हुँदै  होईन, दैलो  ढक्ढक्याउँदै,
अभागी हरेक पटक गलत ढोका उघारिरह्यो ।

कागजको खोस्टो फेरिदैंमा मुटु फेरिन्न रै'छ,
उता देश दुख्दा यता, देब्रे पाटो मुसारिरह्यो ।

सामन्तीले मरिमेटी,  सिलाएथ्यो टुक्रा टुक्रा
सर्वहारा हाँसी हाँसी, त्यसैलाई उधारिरह्यो ।
                                                          
प्युँने चाह हुँदै होईन, झरी छल्न पसेको हुँ, 
दोष उसकै हो जो मैतिर भरी गिलास सारीरह्यो ।

गजल : भ्रम नपरोस्

भ्रम नपरोस् यो झुपडी, सधैं झकिझकाउ हुन्छ ।
हरेक साँझ हारहरुको , यहाँ उत्सव मनाउ हुन्छ ।

कोही भाऊ खोज्छ भने, चित्त नदुखाउ न यार,
सम्झ भाऊ उस्कै हुन्छ, बजारमा जो बिकाउ हुन्छ
                                   
यही लोभले खेत छाडी, जंगल पसेको  हो किसान,
सुन्यो त्यतैबाट उस्को ,  भकारी भरिभराउ हुन्छ ।

मेरो त्यो बाँझो बारीमा, सुन फलाउनु छ सरकार,
रगत या पसिना? भनिदे कसरी उब्जाऊ हुन्छ ?

चक्कु उसमाथि  खसोस् , या ऊ चक्कुमाथि खसोस्,
पीडा दोहोरो होला तर  काटिने त स्याउ  हुन्छ ।
                                                           
देशले काँचुली  फेर्नेछ, विश्वास कसरी  गरौं,
अरुको त के कुरा भो, सरकार नै कामचलाउ  हुन्छ ।

गजल : जिन्दगीमा यौटै गल्ती

जिन्दगीमा यौटै गल्ती बारम्बार गरिएको छ ।
सेतोलाई सेतो कालोलाई कालो भनिएको छ ।

ऊ परिवर्तित भयो या जंगल रहेन पैले झैं,
खै किन त्यो चरी फेरि,  पिंजडामै फर्किएको छ ।

उपरखुट्टी  लगाएर यही सोच्दो हो हुट्टिट्याउँ,
उसकै पैतालामा सिंगै आकाश  अडिएको छ।

भित्र बाहिर गर्न सक्ने, भएकि छिन् बूढी आमा
 परदेशी छोराले यौटा लौरो पठाई दिएको छ । 
                     
हजूरले त भन्नुहुन्छ,  अनपढ छैनन् कोही यहाँ, 
हेर्नुस् त भित्तामा  'सेवा नै धर्म हो'  लेखिएको छ । 

काँडालाई मात्रै दोष दिनुपूर्व यो बहस चलाईयोस्,
काँडा पछ्यौरीमा या पछ्यौरी काँडामा अल्झिएको छ?

गजल : किन पुगिएन

किन पुगिएन गन्तव्यमा सोचिरहेको थिएँ ।
शायद नजाने गाउँको बाटो सोधिरहेको थिएँ । 

'ठूलो' हुनुको एउटा फाइदा यस्तो हुँदो रहेछ,
सुन्नेले 'मीठो राग' भने, म चैं खोकिरहेको थिएँ ।

ऊनीहरु बेस्सरी ताछिरहे मलाई खुम्च्याउन,
खाडल जो थिएँ म त झन् झन् बढिरहेको थिएँ ।  

कुनैदिन पृथ्वी पनि टक्क अडिएर सोच्नेछ,
खै के का लागि वर्षौंदेखि घुमिरहेको थिएँ ? 

तिम्रो त्यो मीठो बोलीमा,  विश्वास कसरी गर्थें ?
मैले त तिम्रा आँखाहरु  पढिरहेको थिएँ ।

Saturday, July 30, 2016

गजल - म सोच्दैछु यस्तो

म सोच्दैछु यस्तो कि सोचिन्न कैल्यै ।
भयो के ? हिलोमा कमल खिन्न कैल्यै   ।

के विश्वास  गर्छौ ? सुनेका कुरामा,
नमर्दै यहाँ स्वर्ग, देखिन्न कैल्यै ।    

सलाई किन्नु पैले, थियो सोच्नु पर्ने,
बरफमाथि आगो लगाईन्न कैल्यै ।   

छ यात्रा शिखरको तयारी छ शून्य,
भए बन्द ढोका उघारिन्न  कैल्यै ।  

बनाईस् कसोरी घडी ए विधाता,
बरालिन्न कैल्यै हतारिन्न कैल्यै ।