Tuesday, January 4, 2011

लघुकथा - लैङ्गिक बिभेद

पहिले र्‍याली र त्यस्पछि पाँचतारे होटेलको सेमिनार सकेर उनी लखतरान भएर घर फर्किन् ।

उनी खुशी थिईन् आज । संघको अध्यक्ष चुनिनुमा उनका विचार र आदर्श प्रमुख कारक थिए । उनलाई, उनको विचारलाई सेमिनारमा भए जति सबैले मन पराए । केहीले त यतिसम्म भन्न बाँकी राखेनन्, " तपाईंजस्तो अरु दुई चार मात्रा नारीहरु भई दिए समाजले पक्कै पनि यो  समस्याबाट मुक्ति पाउँछ ।"

घर फर्किए लगत्तै उनकी छोरीले उनलाई भनिन्, "आमा जाडो शुरु भयो, मलाई एउटा ज्याकेट किन्नु छ, दुई हजार जति दिनुस् न । "  उनले रिसाउँदै भनिन्, "किन चाहियो तिमीलाई ज्याकेट ? पोहोरकै ले काम चलाऊन सक्दिनौ ?? बाबुले पल्सर किन्न एक लाख लगेर गयो, म सित अब बाँकी पैसा छैन । बाबासित कुरा गर्नु भरे, म धेरै थाकेकी छु !"

छोरी भने आमाको उग्रचन्डी रुपसहितको अतिथी ब्याच टुलुटुलु हेरी रहिन् जस्मा लेखिएको थियो, "अध्यक्ष - जागरुक अभिवावक संघद्वारा आयोजित सेमिनार, 'लैङ्गिक बिभेद त्यागौ, छोरा छोरी समान हुन् !'"