Thursday, December 16, 2010

गजल आतुर छन् यी कानहरू

आतुर छन् यी कानहरु, सक्छौ चाँडै जवाफ देऊ । 
या त मिल्काऊ मेरो गुलाब, या बदलामा गुलाब देऊ ।

पिलाएर नजरबाट, बानी पार्‍यौ तिम्रो मलाई, 
नशा काट्न त्यो नशाको, अर्को कुनै शराब देऊ ।

लक्ष मेरो अब तिमी, बाँकी सबै भुली सकें, 
पुरा गरोस् चाह मेरो, पत्थर मनलाई दबाब देऊ । 

 एक्लो यात्रा अनेक बाधा, भौतारिन्छु यता उती,  
बहँदैछ 'जीवन' उल्टो, यस्लाई सही बहाव देऊ ।

Sunday, December 5, 2010

मेरो फेसबूक यात्रा

जब मान्छे मान्छेकै भीडमा एक्लो महशुश गर्छ, जब मान्छे आफ्ना भावहरु बाँड्ने कुनै बिश्वाशिलो साथी आफु वरिपरी भेट्दैन, जब मनमा रुमल्लिएका भावहरु निहुँ खोज्न शुरु गर्छन् आँफैसित, यी र यस्ता कयन कारणले मान्छे सामाजिक संजालहरु प्रवेश गर्छ, आफ्ना भावनाहरु साट्न, आफ्नो एक्लोपना मेट्न, मन मिल्ने दौतरींको खोजमा । यिनै सामाजिक संजाल मध्यको बेहद लोकप्रिय एक हो 'फेसबूक' र तिनै मान्छेमध्यको एक हुँ म । 

बिदेशिदाका शुरुवाती दिनहरु, नयाँ ठाउँ, नयाँ अनुहार, नयाँ परीवेश र नितान्त एक्लो म । साथीहरुको साथको आश, सामाजिक प्राणीको हैशियत, नयाँ नयाँ भएर होला, कामको पनि कम चाप । यिनै कारणले मलाई फेसबूकमा प्रवेश गरायो । हेर्दा हेर्दै फेसबूकमा दुई बर्ष पार गर्न लागिएछ  ।  DECEMBER 7 2008 , म फेसबूक प्रवेश गरेको मिती, फेसबूक प्रवेशसाथै खोजी शुरु भयो संपर्कविहिन साथीहरुको, ADD गर्दै हिडियो केही नयाँ, केही पुराना साथीहरुलाई । बिस्तारै मित्रता सुचि फराकिलो हुँदै गयो, फेसबूक रमाइलो हुँदै गयो ।

मेरो फेसबूक रमाइलो प्रतिकृया दोहोरिमा मात्र सिमित रहेन, पहिलेदेखी नै साहित्यतिर  झुकाव थियो र कोर्थे केही रचनाहरु । तर ती रचनाहरु केही संयुक्त कविता संग्रह "अन्जुलिमा अभियन्ता" मा सिमित थिएँ, केही साहित्यिक समारोहहरुमा वाचन भए र केही फाट्ट फुट्ट पत्रीकाहरुमा । "परदेशी जीवन, साहित्यप्रतिको झुकाव, युनिकोडको सहजता, अरु मित्रहरुसम्म पुर्‍याउने माध्यम फेसबूक", मेरो लेखन यात्राका सहयोगीहरु । गजलको बारेमा धेरै थाहा थिएन र पनि गजल बिधा नै मेरो चयनमा पर्‍यो । सामाजिक संजाल न पर्‍यो, बिस्तारै साहित्यका पारखी मित्रहरु पनि समाहित भए मित्रता सुचिमा । यसले गर्दा मैले धेरै सिक्ने अवसर पनि पाएँ र आफ्नो लेखनलाई सुधार्दै गएँ । मेरो लेखनी सुधारमा "दीपक कथित" सरको नाम छुटाउन सक्दिन म र अन्य धेरै अग्रजहरु र मित्रहरु हुनुहुन्छ जस्को प्रोत्साहन, सुझावहरुबाट आज यतीसम्मको लेख्ने भएको छु । शायद त्यही सुधारको परीणाम हो, केही गीत र गजलमा लय पनि भरियो । मेरो लेखनले नेपाली साहित्यमा एउटा पनि ईँटा थप्न सक्यो या सकेन त्यो मलाई थाहा छैन, तर धेरै मित्रहरु र तिनको माया कमाउने मौका चै मैले पाएँ र यसैमा गौरवान्दित छु । 

यी त भए साहित्यका कुरा । फेसबूकका अरु धेरै गुणहरु छन् म माथी । पुराना साथीहरु जो उहिल्यै हराएका थिए, आज मेरो मित्रता सुचिमा छन् र तिनिहरुको UPDATE हरु म सम्म पुर्‍याउँछ फेसबूकले । केही नयाँ साथीहरु(जस मध्य केही सित अझै पनि प्रत्यक्ष भेट भएको छैन) छन्, जो सित बर्शौ पुरानो जस्तो गाढा नाता बसेको छ । अन्लाईन यात्राका हामी यात्री साथै रमाउँछौ, ठट्टा गर्छौ, कहिले कहीं झगडा गर्छौ, फेरी मिल्छौ । शायद चोखो मित्रता भनेको नै यही हो, हैन र ?  UAE मै अहिले मेरा केही साथीहरु छन् जो सित मेरो भेट फेसबूकबाटै भएको हो भन्दा जो सुकैलाई पत्याउन गार्‍हो पर्छ । हरेक चाँडबाँड आउँदा कहाँ जाने होला के गर्ने होला भनेर घर सम्झिदै टाउको समाउनु पर्दैन । यो वीकेन्ड बेकार जाने भयो भनेर पनि चिन्ता हुँदैन । कारण हामी १२-१४ जनाको एउटा परिवार छ, जसलाई एकिकरण गर्नमा फेसबूकको ठुलो हात छ । 

फेसबूकले मलाई फाईदा मात्रै गरेको छ पनि भन्दिन म । जती समय मैले फेसबूकमा खर्चिन्छु, त्यती समय अरु कामको लागि खर्चेको भए नि हुन्थ्यो भन्ने लाग्छ कहिले कही । कहिले कही अफिसको काममै ढिलाई हुन्छ । कामको प्रेसर भएको बेलामा पनि फेसबूकमा आउन मन लाग्ने ADDICT पनि बनाएको छ यस्ले मलाई । यही कारणले गर्दा दुई चोटिसम्म आफ्नो ACCOUNT DEACTIVATE पनि गरें, तर मनले शान्ती पाएन , पावोस् पनि कसरी, जब मन मिल्ने साथीहरु नै यही थिए । फिर्ता आउन बाध्य भएँ यही संजालमा, विगतका कमजोरीहरुलाई सुधार्दै । 

अन्त्यमा, मेरो फेसबूक यात्राका सहयात्री मित्रहरुप्रती हार्दिक आभार व्यक्त गर्न चाहन्छु, मेरो फेसबूक यात्रालाई रमाइलो र अर्थपूर्ण बनाइदिनु भएकोमा र अनुरोध छ यो यात्रा अझै अर्थपूर्ण र रमाइलो होस् । 


((Note: यो यात्राका प्रत्यक्ष भेटका केही तस्विरहरु राखेको छु ।))  



फेसबूकबाट शुरु भएको हो हाम्रो मित्रता, जुन गाढा हुँदै गयो समयसितै  :)क्रिशोल पौडेल र म ।


मुसन्धम DHOW CRUISE । फेसबूकमा यो EVENT देखेर यस्को आयोजक यलम्बर ह्याङलाई CONTACT गरेर हामी यो EVENT मा सहभागी भएका थियौ । 

मुसन्धम DHOW CRUISE । फेसबूकमा यो EVENT देखेर यस्को आयोजक यलम्बर ह्याङलाई CONTACT गरेर हामी यो EVENT मा सहभागी भएका थियौ । 


देउसी भैलोमा अनुज जी, भिम जी र समुन्द्र जी सितको पहिलो भेट । यो मित्रता झनै गाढा भएको छ ।

 XMAS को यो यादगार भेट ।













खिला जी, सुमन जी(दले दाई), बिनोद जी र मेघराज जी सितको भेट ।

 हाम्रो परिवार फुजेरामा  , जसमध्य केही सदस्यहरु अहिले UAE मा हुनुहुन्न ।  यो शुरुवात मात्र थियो, अरु निम्न फोटोहरुमा देख्न सक्नुहुन्छ ।
मैले UAE मा भाग लिएको पहिलो साहित्यिक कार्यक्रम, डा. ध्रुबचन्द्र गौतम  र रमण घिमिरेको उपस्थितिमा । 
मुसन्धम DHOW CRUISE दोश्रो । यतीबेलाका आयोजक हामी आँफै थियौ ।  
मुसन्धम DHOW CRUISE दोश्रो । यतीबेलाका आयोजक हामी आँफै थियौ । 

जुमेराह बिचमा  

रास अल खैमामा जितेन्द्र भाईसितको पहिलो भेट
माघे संक्रान्ती 
रक्षा बन्धन
 अल ऐन भ्रमण
 तीज 
 फेसबूक परिचित साथीहरुसितको भेट नेपालमा
 फेसबूक परिचित साथीहरुसितको भेट नेपालमा
पुरानो चिनजान तर फेसबूकबाट नजिकिएका साथीहरु सितको भेट नेपालमा 
रमेश पौडेल दाई र "के भयो र एउटा साथ" का संगीतकार केशव पौडेलसितको भेट नेपालमा 
 तिहार 
 तिहार 
 Volunteering in "MSF Swim Around Burj Al Arab"
 Volunteering in "MSF Swim Around Burj Al Arab"
INLS UAE च्याप्टर अध्यक्ष कवी समदर्शी काइँला सितको पहिलो प्रत्यक्ष भेट साहित्यिक गोस्ठिमा ।
मैले भाग लिएको दोश्रो साहित्यिक कार्यक्रममा सर्जक मित्रहरु सित ।

Thursday, November 25, 2010

गजल - रहर

नसोध भो साथी, मेरो के खबर छ ।
नदिको थ्यो चाह, साथमा बगर छ ।

एकातिर मेरा, रङ्गीन सपना,
छ अर्कोतिर यो, रङ्गहीन शहर छ ।


जहरै पिएर,  बाँचे आजसम्म,
जहरै पिएर , मरुँ यै रहर छ ।


मरी जाने चोला, छोड लोभ लालच,
कमाई विपुल धन, भन को अमर छ ।

Monday, November 15, 2010

गजल--- सुटुक्क म भन्छु केही

सुटुक्क म भन्छु केही, मेरो कुरो मान्छ्यौ भने ।
साटौ मुटु सँगै ज्युँने, मर्ने कसम खान्छ्यौ भने ।

लाखौं माझ मैले आज, तिमी छाने आफ्नै माने,
छैन कर आउ वर, आफ्नो मलाई ठान्छ्यौ भने ।

जस्तो पर्ला उस्तै टर्ला,  छोडी डर अघि सर,
आउने बाधा आधा आधा, सरोबरी धान्छ्यौ भने ।

हुन्न देख्या हुन्छ लेख्या, भन्ने भनुन् भन्दै गरुन्,
चढाइ डोली लान्छु भोली, भन यदी जान्छ्यौ भने ।

Monday, November 1, 2010

गजल - मायामा

((प्रेमिल भावका गजलहरु छ्यापछ्याप्ती भएर होला, मैले यस्ता गजललाई कहिले पनि PRIORITY दिईन । केही साथीहरुको आग्रहमा आज प्रेमिल भावको गजल पुरा गरें । ))


देउता खोज्न यता उती, भौतारिदै डुली हिंडें ।

संजोगले तिमी भेटें, त्यही देउता भुली हिंडे ।


या देउतालाई चढाई देऊ, या मनैमा सजाइ देऊ, 

तिम्रै मनको बगैचामा, बेफिक्री म फूली हिंडें ।  



डुल्छु तिम्रै सेरो फेरो, मै रहिन अब मेरो, 
के डर भो र दुनियाँको? म मायामा खुली हिंडे । 


मायाको त वैरी जगै, तिमीविना के ज्युँनु खै, 

कस्ले सक्छ अलग गर्न? म तिमीमै घुली हिंडें ।   



Monday, October 25, 2010

गजल -- अलग

दृश्य उही, नजर अलग ।
कहाँ छ र ? सगर अलग ।

वारी पारी, तिमी र म,
नदी उही, बगर अलग ।

पीडा यौटै, भोगाइ यौटै,
छ त केवल, शहर अलग ।

गजल उही, जिन्दगीको,
मात्र यहाँ, बहर अलग ।

Thursday, October 21, 2010

गजल--- बर्सी दे न झरी

बल्दैछ मन झन झन, निभाउनु छ, बर्सी दे न झरी । 
सुकिसके नयन, भिजाउनु छ, बर्सी दे न झरी ।

कुहिरोले आज, छोप्यो धर्ती, हराएँ म कतै,
बादलु छ गगन, खुलाउनु छ, बर्सी दे न झरी ।

रापिलो तापिलो, द्वन्द मनको, आन्दोलित छन् अङ्ग,
शितलु जो खोज्छन्, रिझाउनु छ, बर्सी दे न झरी ।

जगै ढल्यो घरको, फुल्नै छाडे, सुवासीला फूल,
शुन्य भयो आँगन, ब्युँताउनु छ, बर्सी दे न झरी । 

खडेरीले छोयो, मरे रहर, आज पालुवामै,
नवैलियोस् "जीवन", जोगाउनु छ, बर्सी दे न झरी । 


Tuesday, September 14, 2010

तीजको रहर गयो बरी लै !!

((यस कथामा भएका सम्पूर्ण पात्रहरु काल्पनिक छन् । यदी कसैको वास्तबिक जीवनसित मेल खान गएमा संयोग मात्र कहलाईनेछ । महिलावादी संस्थाहरुले   भेटे भने यो गीतको रचनाकारलाई जुत्ता चप्पल उपहार नदेलान् भनेर भन्न सकिन्न । म के भन्छु भने, ती जुत्ता चप्पल, बाढिपहिरो पीडितहरुलाई दिनु होला, मलाई आवश्यकता छैन । :P)) -- 

माइतिमा 'दर', खाईन् उन्ले, मैले घरमै 'दारु' खाएँ ।
जसरी नि मान्नु न हो, यो सालको तीज मनाएँ ।

खाली खल्ती रित्याउँछ, बर्शै दिन तीज आउँछ । 
कही न'भा फेशन-सेशन, कल्ले यिन्लाई सिकाउँछ । 
सुक्को थे'न खल्तिमा त, ऋण खोज्न धेरै धाएँ । 
जसो तसो दशा टर्‍यो, यो सालको तीज मनाएँ । 

साथीसंगी नाच्ने उस्तै, उस्ले गीतमै गाली गर्छे ।
बुझ्नै गार्‍हो माया उस्को, मेरै लागि भोकै बस्छे । 
तिम्रो कस्ती छ ओ साथी? मैले यस्ती बुढी पाएँ ? 
शीतन बिनै चुस्की लाएँ, यो सालको तीज मनाएँ ।

Tuesday, September 7, 2010

गजल -- मौन भएँ

नबोलेरै बोले सबै, म बोलेर मौन भएँ ।
खोल्नै पर्ने मनका कुरा, नखोलेर मौन भएँ ।

पिरतिको बाटो कठिन, भन्थे यहाँ भन्नेहरु,
भावनाको आधीँ चल्यो, छिचोलेर मौन भएँ ।

सफल हुन्थ्यो कथा हाम्रो, दुइटा मुटु यौटै भए,
उन्को माया यो मुटुमा, नघोलेर मौन भएँ ।

जोडीन् उन्ले मिठो नाता, खुशी थिएँ साथ पाई,
जाती थियो सपना नै, बिथोलेर मौन भएँ ।

Wednesday, September 1, 2010

गजल - देऊ

छुट्टीनु नै, छ भने नि, दुई किनारको दूरी देऊ !!
उडाइ लगोस्, सबै याद, यस्तो कुनै हुरी देऊ !!

मिठो बोली मुटु रेट्दा, दुखिसकें दुख्नु जति,
तीतो बरु अझै तिखो, वचनको त्यो छुरी देऊ !!

तिम्रो प्राण मेरो भन्थ्यौ, त्यसैले न जिएको छु,
मरी मरी बाँच्न गार्‍हो, मर्छु लौ मन्जूरी देऊ !!

तिमीलाई साथ दिंदा, दुनियाँमा एक्लो भएँ,
बेवारीसे लाश छ मेरो, बिन्ती तिमी कुरी देऊ !!

Thursday, August 12, 2010

गजल सवाल जवाफ

आशु शर्मा !!
--------------------------------------
मेरो माया यति टाढा किन देख्यौ भन
मुटु घोच्ने काडें शब्द किन लेख्यौ भन

छाती भित्र सजाको'छु फोटो तिम्रो भन्थ्थौ
त्यही फोटो आज फेरी किन फेक्यौ भन

नछुट्टीने बाचा खाई टाढा जानु रैछ
एक्लै हिड्थें मेरो बाटो किन छेक्यौ भन

माया गर्नु तिमीलाई गल्ती भयो कि त ?
भरोशामा यत्ति साह्रो किन टेक्यौ भन

तिमी बिना जिउनुको अर्थ छैन भन्थ्यौ

----------------------------------
जितेन्द्र मल्ल
-------------------------------------
दोश लाउँछ्यौ ऐले मलाई, पैले तर्किएर गयौ ।
आलो थियो मनको घाऊ, नुन छर्किएर गयौ ।

सजाएँथे तस्विर तिम्रो, मनको आँगनमा मेरो,
बहाइ लग्यौ झरी सँगै, जब दर्किएर गयौ ।

वाचा थियो साथै ज्युँने, खोजेँ निभाउन मैले,
दोबाटोमा आईपुग्दा, अन्तै लर्किएर गयौ ।

माया गर्छु भर पर, भन्दा झुटो मानी हिड्यौ,
आउँदै थिएँ तिमीतिरै, आँफै फर्किएर गयौ ।

टुट्यो नाता बह्यो 'आँशु', मुटु चस्कीरह्यो अझैं,
जोडीएको मुटुबाट, जब चर्किएर गयौ ।

Monday, August 9, 2010

गजल: यस्तो गजल रच्न सकुँ ।

तिम्रो मुटु चस्स पारोस्, यस्तो गजल रच्न सकुँ ।
ढुङ्गाले नि आँशु झारोस्, यस्तो गजल रच्न सकुँ ।

आँटे बाँच्न माया विना, घृणा सहुँ कसोरी म,
माया पाली घृणा मारोस्, यस्तो गजल रच्न सकुँ ।

भन्थ्यौ मनको राजा मलाई, सुखी राज्य चाह मेरो,  
पीडा तिम्रा यतै सारोस्, यस्तो गजल रच्न सकुँ ।

खेल होइन पिरती यो, जित्नै पर्छ भन्ने छैन ,
बरु मेरै जीत हारोस्, यस्तो गजल रच्न सकुँ ।

Sunday, July 25, 2010

केही हाइकुहरु !!!


1.
पसिना सिंचे ।
हरियो मरुभुमी ।
डलर खेती ।
2.
उजाड वन ।
झरेका पातहरु ।
उस्तै यो मन ।
3.
गुराँसे लाली ।
मन फिक्का मेरो यो ।
तिम्रो सिउँदो ।
4.
आकाश गर्ज्यो ।
खै के ब्यथा सुनायो ।
मनै रुझायो ।
5.
तिम्रो नै याद ।
यी चिसा चिसा रात ।
प्यारी सिरक ।
6.
कनिका भेटें ।
हातमुख जोर्नुछ ।
दाउरा भिजे ।
7.
लुक्यो चन्द्रमा ।
छायो हेर अँध्यारो।
नजिक आऊ ।
8.
कैले अचल ।
कैले साउने भेल ।
मनै त हो । 


Tuesday, July 6, 2010

गजल - के भयो र?

के भयो र यौटा साथ, छुट्यो छुट्न दिएँ । 
मन भन्नु शीशा न हो, टुट्यो टुट्न दिएँ ।

दिनु साटो खोस्न मात्रै, जान्यो भाग्यले नि,
अलिकती खुशी थियो, लुट्यो लुट्न दिएँ । 

दोश तिम्रो हो कि मेरो, या त नियतिको,
अन्यौलको भुमरीले भुट्यो भुट्न दिएँ । 

जिन्दगी हो जसो तसो , ज्युँनु पर्छ सोची,
अठोट लिई मन मेरो, उठ्यो उठ्न दिएँ । 

Saturday, June 26, 2010

गजल --- ब्यथा नारीको !!!

नियतिको खेल यही, भोग्दै जाँदा धेरै जानें ।
प्यारो जन्म घर छोडि, पराइ घर आफ्नो मानें ।

छोरी थिएँ अब भने, बुहारी पो भएछु म,
रहर मारे उड्ने सबै, पिजंडा यै मैले छानें।

समाजको रित यस्तै, नारी न हुँ अभागी म,
निसन्तान हुँदा सबले दोश जती मेरै ठाने ।

झुक्किएर अन्तै नजर, जाँदा पनि पापिनी रे,
मेरो देउता छानी छानी अर्कै अर्कै फल खाने ।

पुछिएको सिउँदो सँगै, काख रित्तिएको बेला,
टोकी छोरा अनि लोग्ने, भन्ने वचन वाण हाने।

जता पनि जहाँ पनि दु:ख मात्रै यो'जीवन'मा ,
मुक्ती देऊ छिट्टै प्रभु, भनीदेऊ कैले लाने ?

Tuesday, June 15, 2010

गीत

((जस्ले देख्न र सुन्न सक्नुहुन्न, उहाँहरुप्रती समर्पित यो रचना !!!))

देख्दिन म तिमीलाई तर पनि देख्ने रहर । 
सुन्दिन म बोली तिम्रो तर पनि सुन्ने रहर । 

हेर्न खोज्छु प्रकृति यो, कालो रात आँखा सित । 
सुन्न रोज्छु मिठो धून, हुन्छ घात भाका सित । 
अपुरो भो प्रकृतिका, मिठा धून चुन्ने रहर । 
अझै पनि लागिरन्छ, किन किन सुन्ने रहर । 

संसार यो एकै पल्ट देख्न पाए हुन्थ्यो जाती । 
चिर्बिर चिर्बिर चराको त्यो बोलीसङ्गै रम्थ्यो छाती । 
अधुरो भो देखी सुनी, दुनियाँमा रम्ने रहर । 
दैव कैले पुर्‍याउँछौ, मेरो देख्ने सुन्ने रहर ?

Tuesday, June 8, 2010

गजल - मन पराएँ

थाहै छैन कैले बढ्यो, झुकाव मन पराएँ । 
नशै नशा तिमी बह्यौ, बहाव मन पराएँ । 

भन्थे, कहाँ सजिलो छ? पाउन केही यहाँ, 
बित्थै तिखो काँडा बिझ्यो, गुलाव मन पराएँ । 

भाव मेरा पोख्न खोजें, भेटिन शब्द कुनै,
कठै!कागज रित्तै रह्यो, अभाव मन पराएँ ।

सुख दु:ख तौली हेरें, बराबर हुन्छ भन्थे, 
भलै पीडा माथि पर्‍यो, हिसाब मन पराएँ । 

हार्नु तेरो धर्म हैन, चिच्यायो यो मन जब,
अझै 'जितु' अघि सर्‍यो, लगाव मन पराएँ !!

Sunday, May 30, 2010

केही मुक्तकहरु !!!

1.
उकाली ओराली जिन्दगीका चढ्न झर्न कर लाग्छ ।
जती खोज्छु सुखसयल झनै झनै पर लाग्छ ।
खैर ! सम्झौतामै रम्न खोज्छु, देखावटी हाँसो लिई,
यही खोक्रो खुशीको नि डाह गर्नेको डर लाग्छ ।
2.
चाकडी र चाप्लुसीले जताततै डेरा जमाएको देखे ।
इमान्दारी माथि बेइमानिले घेरा लगाएको देखे ।
घाटा केही छैन भने, के भयो र 'हो हजुर'भन्न,
गधाले 'गाई हुँ' भन्दा भेडाले मुन्टो हल्लाएको देखे !
3.
मख्ख पर्छ्यौ मनमनै, बाहिर रीस देखाउँछ्यौ ।
माया गर्छु भन्दा मैले, दाँत खिस्स देखाउँछ्यौ ।
के सम्झिउँ मैले तिम्लाई, अटेरी या अबुझ भन,
अमृतको बखान गर्छु, तिमी बिश देखाउँछ्यौ ।
4.
खुशीका पल तगारोले, सधैं छेके मैले ।
पीडा अनि दु:ख मात्रै, साथी देखे मैले ।
दया मानी ईश्वरले,चाह के छ सोध्दा,
सुख भन्छु सोच्दै थिए, दु:ख लेखे मैले ।
5.
सत्यको वकालत गरें, करायो भने ।
नबोली केही रमिते भएँ , डरायो भने ।
पागल दुनियाँ भुली आफ्नै बाटो हिड्दै थिएँ,
लौ हेर ! यो मोरो त, बहुलायो भने । 




Wednesday, May 26, 2010

संयुक्त गजल --- सुसजी ।

((सुरेश सविन जितेन्द्र === सुसजी। ))


कैले दिक्क कैले ठीक्क, जिन्दगीको चलन साथी । 
ठीक्क भए ठिकै ठान्ने, दिक्क हुँदा ऐठन साथी ।
दु:ख सुख यै हो रीत, बाँच्नै पर्छ यिनै सित,
अमृत नै निस्कन्छ रे, बिष गर्दा मन्थन साथी ।।
आफू माथि भरोसा नै, उपचार ठूलो यहाँ,
गर्छौ किन बेकारमै, खुशीको नै दहन साथी ।।

सम्झाउँ कती आफैँलाइ, आखिर यो मनै न हो,
जती खोज्छु सुल्झाउन, बढ्छ झनै उल्झन साथी ।
ईच्छा गरे बाटाहरु, दैवले नै खोल्छन् अरे ,
कर्म गरे फल मिल्छ, सुनेको यै कथन साथी ।।
जिजीविषा तिम्रो हाम्रो पूरा गर्न यो जीवनको,
लागौ हामी गर्न आफ्नो जिम्मेवारी बहन साथी ।।

निराशाको बादल फाट्यो, आशा झुल्क्यो देखें कतै,
तोड्छु अब अधेरीँका, यिनै सबै बन्धन साथी ।
आशा ज्योति बाली राखे अधेँरी त हराउँछ नै ,
जग्मगाउँछ झलमल आफै तिम्रो जीवन साथी ।
डग्मगाए पाइला तिम्रा, काँध थाप्न सधैं भरी,
आउनेछु म तिम्रै लागि, यही मेरो वचन साथी