Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Thursday, March 18, 2010

मरुभुमी र फूलहरु !!!!

महल, सडक, गल्ली गल्ली सजाउन,
दिनहुँ आयात हुन्छन्,
हरिया देशबाट,
एक हुल फूलहरु,
यो मरुभुमिमा !!

बेमौसममा पनि एकनास सुवास फिजाउँन,
वाध्य गराइन्छन्, हुन्छन्,
अनेकन् भेशका,
लाचार फूलहरु,
यो मरुभुमिमा !!

त्यही सुवासमा हरेक साँझ हराउन,
लालायित हुन्छन् ,
बुर्ज अल अरब र,
बुर्ज खालिफाहरु,
यो मरुभुमिमा !!

असमर्थ फूल, महलको रौनक बढाउन,
फेरि निर्यात हुन्छन्,
त्यही हरियालिमा,
मुर्झाएका फूलहरु,
यो मरुभुमिमा !!

त्यही समय,
पुराना फूलको विकल्प,
फेरी आयात गरिन्छन्,
हरिया देशबाटै,
अर्को हुल फूलहरु,
यो मरुभुमिमा ।

Saturday, July 25, 2009

'नयाँ नेपाल' र 'गणतन्त्र'

निर्दोश जनको रक्तनदी,
बहन यदि रुक्दैन भने !
चुलिएको अपराधको शिर,
कानूनसामु झुक्दैन भने!
दुखी मेरा आफन्तको,
आँशु यदि सुक्दैन भने!

पुरानोमै खुशी थिएँ,
'नयाँ नेपाल' चाहिदैन!
जन मर्म कुल्ची हिंड्ने,
'गणतन्त्र'चाहिदैन!!

जनताबाटै चुनिएकाहरु.
कुर्सी मोहमा फस्छन् भने !
श्रीखण्डको आडमा पालीई,
बिशालु भई डस्छन् भने !
अघिल्तिर मिठो बोली,
पिठ्युमा छुरा धस्छन् भने !

पुरानोमै खुशी थिएँ,
'नयाँ नेपाल' चाहिदैन!
जन मर्म कुल्ची हिंड्ने,
'गणतन्त्र'चाहिदैन!!

हरेक साँझ कोइली वनमा,
विरह गीत गाउँछ भने !
हत्या, हिंसा, बन्द हड्ताल,
अझै प्रशय पाउँछ भने !!
अशान्तिको त्रास अझै,
हर धड्कनमा छाउँछ भने!

पुरानोमै खुशी थिएँ,
'नयाँ नेपाल' चाहिदैन!
जन मर्म कुल्ची हिंड्ने,
'गणतन्त्र'चाहिदैन!!

बिसंगती कुरितिले,
नेटो यदि काट्दैनन् भने !
जंगे पिल्लर वरै सर्दा,
बोल्न कोही आँट्दैनन् भने !
एउटै घरका दाजुभाई,
प्रेम सद्भाव साट्दैनन् भने!

पुरानोमै खुशी थिएँ,
'नयाँ नेपाल' चाहिदैन!
जन मर्म कुल्ची हिंड्ने,
'गणतन्त्र'चाहिदैन!!

तेरो मेरो हैन हाम्रो,
हर नेपाली सोच्दैन भने !
बिखन्डनमा डोरिंदा देश,
अखन्डता रोज्दैन भने !
विकास ठप्प देख्दा देख्दै,
विकल्प केइ खोज्दैन भने !

पुरानोमै खुशी थिएँ,
'नयाँ नेपाल' चाहिदैन!
जन मर्म कुल्ची हिंड्ने,
'गणतन्त्र'चाहिदैन!!


मेची दुख्दा महाकाली,
सुसाएर रुन्न भने ।
हिमाल रुँदा तराई पहाड,
कसैको मन छुन्न भने ।
नेपालीको सन्तान भन्दा,
छाती ठुलो हुन्न भने ।

पुरानोमै खुशी थिएँ,
'नयाँ नेपाल' चाहिदैन!
जन मर्म कुल्ची हिंड्ने,
'गणतन्त्र'चाहिदैन!!

म यो जाति तँ त्यो जाति,
मेरो साथी सोच्छ भने ।
टुक्रिएको नेपाल भित्र,
आफ्नो राज्य खोज्छ भने ।
भाईचाराको कुम्लो फाली,
दुश्मनिको भारी बोक्छ भने ।


पुरानोमै खुशी थिएँ,
'नयाँ नेपाल' चाहिदैन!
जन मर्म कुल्ची हिंड्ने,
'गणतन्त्र'चाहिदैन!!

Monday, January 26, 2009

अधुरो सपना नयाँ नेपालको



निर्दोश यी नयनमा धुलो छर्ने,
परीचित तिनै अनुहारहरु ।
चाहेर नि भुल्न सक्दिन म,
आमा बेच्ने ति दुराचारहरु ।
हाम्रै रगत र पसिनामा
ठड्याईएका भब्य महलहरु ।
बिकासको नाममा गरिएका,
भ्रमवाहक पहलहरु ।
आज मेरा सामु लोकतन्त्रको भाषण ओकल्दैछन्,
र त अधुरो लाग्छ मेरो सपना नयाँ नेपालको ।

हिजो सम्म 'आतंककारी' कहलाएर,
टाउकोको मोल भिरेकाहरु ।
१२ बर्शे जंगल शयरपछी,
थकाई मार्न महल छिरेकाहरु ।
हाम्रो रगतको होली खेल्ने,
घिन लाग्दा ति हातहरु
बिनाकसूर आफन्त अपहरित हुँदा,
सन्त्रासमा बिताएका रातहरु ।
आज फेरी मलाई गणतन्त्रको नारा रटाउँदैछन्,
र त अधुरो लाग्छ मेरो सपना नयाँ नेपालको ।

मुलुक निर्माणको जिम्मेवारी सुम्पीईएकाहरु,
कुर्सी तानातानको नाटकमा फसेपछी ।
सत्ताको मोहमा जंगली ब्वाँसाहरु,
र्‍याल चुहाउँदै संसद पसेपछी ।
खबरदार अझै बिशालु सर्पहरु,
नयाँ चाल चाल्न सक्छन ।
मौलाउन लागेको लोकतन्त्र,
फुल्न नदीई ढाल्न सक्छन ।
तैपनी अझै कसैमा चेतनाको घाम लाग्दैन,
र त अधुरो लाग्छ मेरो सपना नयाँ नेपालको ।

पहाड तराई हिमाल जहाँ रहेपनी,
हामी नेपाली हौं हाम्रो नेपाल ।
पुर्खाको नासो, रगत पसिनाले सिंचेको माटो,  
सानो छैन बिबिधता छन् बिशाल ।
शहीदहरुको बलिदान पुर्खाको नासो,
खेर नजाओस प्रण गरौ ।
अनेक जातजाती, सुन्दर यो फुलबारी,
आउ मिलिजुली मलजल भरौ ।
भन्नेहरुको बोली खेर जान्छ, कसैले सुन्दैनन्,
र त अधुरो लाग्छ मेरो सपना नयाँ नेपालको