Wednesday, January 15, 2014

गजल - अन्जान भएको छु

देखें, भोगें, जानें र त, अन्जान भएको छु ।
आफ्नै नजरबाट गिरी, महान भएको छु ।

दु:खमा मात्रै सम्झिनेको, लाम देख्दा लाग्छ,
म नि यौटा अघोषित, भगवान भएको छु ।

खुम्च्याउँदछन् निधार किन, मेरा गन्थन सुन्दा,
दुनियाँका लागि शायद, विज्ञान भएको छु ।

सिंहदरबार दिक्क मान्दै, बह पोख्दै थियो,
जमुरे र बाँदर नाच्ने, मैदान भएको छु ।

जस्लाई बोकें जिन्दगीभर, तिन्कै लागि आज,
भन्दै थिए बुढा बा'ले, थकान भएको छु ।