Sunday, July 31, 2016

गजल : भ्रम नपरोस्

भ्रम नपरोस् यो झुपडी, सधैं झकिझकाउ हुन्छ ।
हरेक साँझ हारहरुको , यहाँ उत्सव मनाउ हुन्छ ।

कोही भाऊ खोज्छ भने, चित्त नदुखाउ न यार,
सम्झ भाऊ उस्कै हुन्छ, बजारमा जो बिकाउ हुन्छ
                                   
यही लोभले खेत छाडी, जंगल पसेको  हो किसान,
सुन्यो त्यतैबाट उस्को ,  भकारी भरिभराउ हुन्छ ।

मेरो त्यो बाँझो बारीमा, सुन फलाउनु छ सरकार,
रगत या पसिना? भनिदे कसरी उब्जाऊ हुन्छ ?

चक्कु उसमाथि  खसोस् , या ऊ चक्कुमाथि खसोस्,
पीडा दोहोरो होला तर  काटिने त स्याउ  हुन्छ ।
                                                           
देशले काँचुली  फेर्नेछ, विश्वास कसरी  गरौं,
अरुको त के कुरा भो, सरकार नै कामचलाउ  हुन्छ ।

No comments: