Sunday, July 31, 2016

गजल : जिन्दगीमा यौटै गल्ती

जिन्दगीमा यौटै गल्ती बारम्बार गरिएको छ ।
सेतोलाई सेतो कालोलाई कालो भनिएको छ ।

ऊ परिवर्तित भयो या जंगल रहेन पैले झैं,
खै किन त्यो चरी फेरि,  पिंजडामै फर्किएको छ ।

उपरखुट्टी  लगाएर यही सोच्दो हो हुट्टिट्याउँ,
उसकै पैतालामा सिंगै आकाश  अडिएको छ।

भित्र बाहिर गर्न सक्ने, भएकि छिन् बूढी आमा
 परदेशी छोराले यौटा लौरो पठाई दिएको छ । 
                     
हजूरले त भन्नुहुन्छ,  अनपढ छैनन् कोही यहाँ, 
हेर्नुस् त भित्तामा  'सेवा नै धर्म हो'  लेखिएको छ । 

काँडालाई मात्रै दोष दिनुपूर्व यो बहस चलाईयोस्,
काँडा पछ्यौरीमा या पछ्यौरी काँडामा अल्झिएको छ?

No comments: