Saturday, November 5, 2016

गजल- उसले एकपल्ट पनि

उसले एकपल्ट पनि सोचेन बाहिरिनु अगाडि ।
अब हजारपल्ट सोच्नेछ घर फर्किनु अगाडि ।
  
अचेल मेरो साथी मेरै ज्यानको  दुश्मन भएको छ,
जो ज्यान दिन तयार थियो पैसा लिनु अगाडि ।

बा आमा, हुर्केको आँगन, खुला चौर, चौतारो,
आहा ! क्या जिन्दगी थियो ब्युँझिनु अगाडि ।

यो पक्का हो, सबै फूल शिरमा शोभा दिंदैदन्,
यत्ति बुझे हुन्थ्यो सिउरिनेले सिउरिनु अगाडि ।

अहिले बेहिसाब प्यालामाथि प्याला  थपिंदैछन्,
थोरै पिउने सहमति थियो मातिनु अगाडि ।

गजल -- होलान् तिम्रा

होलान् तिम्रा हजार कारण, रिसाउनका लागि
छन् म सँग लाखौं काइदा फकाउनका लागि
                                                          
सुनाउँदै थे यारहरू,  प्रगतिका किस्साहरू,
म सित यै गजल थियो सुनाउनका लागि ।
 
कालो बादल जति छावोस् बर्सिन्नन् यी नयन,
केही याद ताजा नै छन् मुस्काउनका लागि ।
 
गिलासले नि उसकै मुहार प्रष्टै देखाइदियो,
पिउँदै थिएँ मैले जसलाई भुलाउनका लागि ।

Thursday, September 22, 2016

गजल - नसोध भो साथी

नसोध भो साथी, मेरो के खबर छ ।
हो तृष्णा नदीको, साथैमा बगर छ ।

एकातिर मेरा, यी रंगीन सपना,
अर्कोतिर देख्छु, रंगहीन शहर छ ।

मरी जाने चोला, छोड लोभ लालच,
कमाई विपुल धन, भन को अमर छ?

जहरै पिएर, आजसम्म बाँचे,
जहरै पिएर, मरूँ यै रहर छ ।

Sunday, July 31, 2016

गजल : कसैलाई उचालिरह्यो

कसैलाई उचालिरह्यो, कसैलाई पछारिरह्यो ।  
कसैलाई सुधारिरह्यो, कसैलाई बिगारीरह्यो ।                                                                                  
बढी मेहनती  फेदमै छ, अर्को शिखरमा छ,
ऊ कमजोरी खोजीरह्यो,  उसले सुधारिरह्यो ।
                                
भाग्य  नआएको हुँदै  होईन, दैलो  ढक्ढक्याउँदै,
अभागी हरेक पटक गलत ढोका उघारिरह्यो ।

कागजको खोस्टो फेरिदैंमा मुटु फेरिन्न रै'छ,
उता देश दुख्दा यता, देब्रे पाटो मुसारिरह्यो ।

सामन्तीले मरिमेटी,  सिलाएथ्यो टुक्रा टुक्रा
सर्वहारा हाँसी हाँसी, त्यसैलाई उधारिरह्यो ।
                                                          
प्युँने चाह हुँदै होईन, झरी छल्न पसेको हुँ, 
दोष उसकै हो जो मैतिर भरी गिलास सारीरह्यो ।

गजल : भ्रम नपरोस्

भ्रम नपरोस् यो झुपडी, सधैं झकिझकाउ हुन्छ ।
हरेक साँझ हारहरुको , यहाँ उत्सव मनाउ हुन्छ ।

कोही भाऊ खोज्छ भने, चित्त नदुखाउ न यार,
सम्झ भाऊ उस्कै हुन्छ, बजारमा जो बिकाउ हुन्छ
                                   
यही लोभले खेत छाडी, जंगल पसेको  हो किसान,
सुन्यो त्यतैबाट उस्को ,  भकारी भरिभराउ हुन्छ ।

मेरो त्यो बाँझो बारीमा, सुन फलाउनु छ सरकार,
रगत या पसिना? भनिदे कसरी उब्जाऊ हुन्छ ?

चक्कु उसमाथि  खसोस् , या ऊ चक्कुमाथि खसोस्,
पीडा दोहोरो होला तर  काटिने त स्याउ  हुन्छ ।
                                                           
देशले काँचुली  फेर्नेछ, विश्वास कसरी  गरौं,
अरुको त के कुरा भो, सरकार नै कामचलाउ  हुन्छ ।