भरिन नमानेको हो जब थैलीले प्वाल पायो ।
बिचरा त्यो दैवले बित्थामै अवगाल पायो ।
धेरै पछि चम्किलो देखियो उसको अनुहार,
शायद वर्षौं पहिले हराएको रुमाल पायो ।
उसले बडो मेहनतले हजूरको भकारी भर्यो,
बिडम्बना उपहारमा आफैले अनिकाल पायो ।
शहरमा हुर्किएको मान्छे गाउँलाई यसरी हेर्छ,
लाग्छ कि विज्ञानको विध्यार्थीले कंकाल पायो ।
भाग्यमानी भन्नु हुन्छ कि अभागी भन्नुहुन्छ ?
यौटा भोकाएको बालकले चाँदीको थाल पायो ।
No comments:
Post a Comment