Sunday, May 30, 2010

केही मुक्तकहरु !!!

1.
उकाली ओराली जिन्दगीका चढ्न झर्न कर लाग्छ ।
जती खोज्छु सुखसयल झनै झनै पर लाग्छ ।
खैर ! सम्झौतामै रम्न खोज्छु, देखावटी हाँसो लिई,
यही खोक्रो खुशीको नि डाह गर्नेको डर लाग्छ ।
2.
चाकडी र चाप्लुसीले जताततै डेरा जमाएको देखे ।
इमान्दारी माथि बेइमानिले घेरा लगाएको देखे ।
घाटा केही छैन भने, के भयो र 'हो हजुर'भन्न,
गधाले 'गाई हुँ' भन्दा भेडाले मुन्टो हल्लाएको देखे !
3.
मख्ख पर्छ्यौ मनमनै, बाहिर रीस देखाउँछ्यौ ।
माया गर्छु भन्दा मैले, दाँत खिस्स देखाउँछ्यौ ।
के सम्झिउँ मैले तिम्लाई, अटेरी या अबुझ भन,
अमृतको बखान गर्छु, तिमी बिश देखाउँछ्यौ ।
4.
खुशीका पल तगारोले, सधैं छेके मैले ।
पीडा अनि दु:ख मात्रै, साथी देखे मैले ।
दया मानी ईश्वरले,चाह के छ सोध्दा,
सुख भन्छु सोच्दै थिए, दु:ख लेखे मैले ।
5.
सत्यको वकालत गरें, करायो भने ।
नबोली केही रमिते भएँ , डरायो भने ।
पागल दुनियाँ भुली आफ्नै बाटो हिड्दै थिएँ,
लौ हेर ! यो मोरो त, बहुलायो भने । 




Wednesday, May 26, 2010

संयुक्त गजल --- सुसजी ।

((सुरेश सविन जितेन्द्र === सुसजी। ))


कैले दिक्क कैले ठीक्क, जिन्दगीको चलन साथी । 
ठीक्क भए ठिकै ठान्ने, दिक्क हुँदा ऐठन साथी ।
दु:ख सुख यै हो रीत, बाँच्नै पर्छ यिनै सित,
अमृत नै निस्कन्छ रे, बिष गर्दा मन्थन साथी ।।
आफू माथि भरोसा नै, उपचार ठूलो यहाँ,
गर्छौ किन बेकारमै, खुशीको नै दहन साथी ।।

सम्झाउँ कती आफैँलाइ, आखिर यो मनै न हो,
जती खोज्छु सुल्झाउन, बढ्छ झनै उल्झन साथी ।
ईच्छा गरे बाटाहरु, दैवले नै खोल्छन् अरे ,
कर्म गरे फल मिल्छ, सुनेको यै कथन साथी ।।
जिजीविषा तिम्रो हाम्रो पूरा गर्न यो जीवनको,
लागौ हामी गर्न आफ्नो जिम्मेवारी बहन साथी ।।

निराशाको बादल फाट्यो, आशा झुल्क्यो देखें कतै,
तोड्छु अब अधेरीँका, यिनै सबै बन्धन साथी ।
आशा ज्योति बाली राखे अधेँरी त हराउँछ नै ,
जग्मगाउँछ झलमल आफै तिम्रो जीवन साथी ।
डग्मगाए पाइला तिम्रा, काँध थाप्न सधैं भरी,
आउनेछु म तिम्रै लागि, यही मेरो वचन साथी 

Tuesday, May 18, 2010

गजल सिक्न चाहनेहरुका लागि--- स्वयम्बर सिंह लामा ।


--स्वयम्बर सिंह लामा
गजल अरबी भाषा बाट शुरु भएको देखिन्छ । गिजलो शब्द बाट अपभ्रांस भएर गजल भएको हो । गिजलोको अर्थ हेर्दा जंगलमा चरदै गरेको मृगाको पाठोलाई ब्याधाले बाण हान्दा जुन किसिमको चित्कार निस्कन्छ, त्यही हो । मतलब, बिछोड, करुणा, बेदना जस्ता बाट निस्कने चित्कार, गजल हो भनिन्छ ।
अरब देशहरुमा प्रेम र मदपानमा स्वतन्त्रता थिएन र आज पनि छैन । त्यसैले ती देशहरुमा गजलको माध्यम बनाएर मदिरा, जिन्दगी र प्रेमी, प्रेमिकाको बर्णन गरेको पाईन्छ । तर गजल अरबी, फारसी, उर्दु, हिन्दी हुँदै मोतिराम भट्ट मार्फत नेपाल भित्रीएर अहिलेको परिस्थिती सम्म आईपुग्दा यस्ले धेरै परिवर्तनहरु लिई सकेको छ ।
अहिले आएर गजल, जिन्दगी, प्रेम र मदिरा मात्रै नभएर समसामयिक बिषयलाई समेट्ने एउटा माध्यम बनेको छ ।
अहिले आएर गजल :
ग : गायात्मक
ज: जीवन्त
ल: लयात्मक जस्ता बिकसित् रुप लिइसकेको छ।
अहिले गजल प्रेमी, प्रेमिका र मदिरा संग मात्रै सिमित छैन भन्ने कुरालाई बुझ्नु पर्छ ।
अब यहाँहरूलाइ गजल लेख्नु मन लागेको छ भने यो लेख पढ्नुँसक्नुँहुनेछ।
गजल लेखन बारे छोटकरिमा :-
——————————————————————————————-
तपाईंलाई गजल लेख्न मन लाग्छ ? लाग्छ भने नियम संगतले लेख्नलाई केही नियमहरु जान्नु अनिवार्य छ है !
१. मत्ला : गजलको पहिलो शेर, जसको दुइटै मिस्रामा कफिया हुन्छ, गजल गाउदा यसलाई मुखराको रुपमा गाउनेले हरेक अन्तराको पछि दोहोर्याएर गायी रहँदा कर्णप्रिय सुनिन्छ ।
जस्तै :
दु:ख आँफै आतिएर म संग रुन लाग्यो
एक थोपा आँशु झारी, पाप धुन लाग्यो
–स्वयम्बर
यहाँ दुवै मिस्रामा काफिया छन “रुन र धुन” । तर अरु सामान्य शेरमा कफिया तल्लो मिस्रा अर्थात मिस्रा-ए सानीमा मात्रै राखिन्छ ।
२. मिस्रा उला : हरेक शेरमा दुई हरफ हुन्छन् । पहिलो मिस्रालाई मिस्रा उला भनिन्छ । यसले भन्न खोजेको बिषयलाई उठाउछ ।
३. मिस्रा ए-सानी : शेरको दोस्रो हरफ, यसमा कफिया हुन्छ । मिस्रा उलाले उठाएको बिषयलाई यसले काफियाको आड्मा आधारित रहेर टुङ्याउछ ।
जस्तै:
हतारमा मागेको फिलिङ्गो निभिसके छ
म चाहिँ बाह्रा बर्ष चुलो फू फू फूकेर बसे
हतारमा मागेको फिलिङ्गो निभिसके छ -मिस्रा उला
म चाहिँ बाह्रा बर्ष चुलो फू फू फूकेर बसे -मिस्रा ए-सानी
माथिलो मिस्रा र तल्लो मिस्रा बिच घनिष्ट संबन्ध हुनु पर्छ । अर्थात मिस्रा उलाले जुन प्रसंगलाई उठाउँछ, तल्लो मिस्रा अर्थात मिस्रा ए-सानीले पनि त्यही बिषयलाई टुङ्ग्याएको हुनु पर्छ ।
हतारमा मागेको फिलिङ्गो निभिसके छ
म चाहिँ बाह्रा बर्ष चुलो फू फू फूकेर बसे
एउटा बिचित्रको शान्ति महसुस् गर्दैछु आज
हिजो देखि म आफ्नै ईतीहासलाई थुकेर बसे
-नेपे
४. सामान्य शेर: पहिलो र अन्तिमको बाहेक् अन्य शेरलाई सामन्या शेर मानिन्छ ।
५. काफिया: मिस्रा ए-सानीमा but मात्ला शेरको दुबै मिस्रामा अन्तिम अक्षर दोहोरिने गरि एकै अनुप्रासको शब्द राखिन्छ, त्यहि नै काफिया हो। काफिया नै गजलको मुटु हो, मगज् हो, रगत् मासु अनि सबथोक् हो । एउटा काफिया पछि अर्को कुन् काफिया आउछ भन्ने उत्सुक्ताले नै गजल सुन्न मज्जा आउछ ।
६. रद्दिफ : गाउनको लागि मात्रा पुर्याउन काफिया पछाडी राखिने, दोहोरि रहने एकै अनुप्रासको शब्द। गजलमा रद्दिफको अनिवार्य भने मानिन्न ।
जस्तै :
दु:ख आँफै आतिएर म संग रुन लाग्यो
एक थोपा आँशु झारी, पाप धुन लाग्यो
काफिया “धुन र रुन ” पछिको “लाग्यो” चाँही रद्दिफ हो ।
७. तखलुस् : गजल् लेखकले आफ्नो परिचय दिनको लागि नाम वा अर्थ जनाउने गरी राखिने नाम वा उपनाम । मक्ता शेरमा राखिने लेखकको नाम् । यो जुन् मिस्रामा राखे पनि हुन्छ। तखल्लुस् पनि गजल लेखनमा अनिवार्य चाहि छैन ।
जस्तै:
शुन्य लाग्छ जिन्दगि नै तिमी नहुँदा
बसन्तमा स्वयम्बरको धून बनि आउनु
८. मक्ता : गजलको अन्तिम शेर । जहाँ लेखकले आफ्नो परिचय खुलाउन तखल्लुस पनि राख्न सकिन्छ। नराख्दा नि फरक् चाहीँ पर्दैन ।
गजल बिधा धेरै फराकिलो बिधा हो । तर दुई वटा मिस्राहरुको भरमा धेरै अर्थको कथा रोचक र घोचक ढङ्गले भन्न सक्ने धेरै सक्तिशाली बिधा पनि हो । गजलको बारेमा यो सानो लेखमा मात्रै सिमित राख्न संभव नै हुँदैन !!!!

Monday, May 17, 2010

गजल दोहोरी

((सविन ब्रो सित फेसबूकमा खेलिएको गजल दोहोरी । ))

जितेन्द्र :
शब्दकोशै रित्तियो कि? पर्नु पीर पर्‍यो साथी ।
यौटा गजल लेख्न पाए हुन्थ्यो होला कति जाती ।।

सविन सिंह:
तिमीलाई लेख्नलाई चाहिन्छ कि पिर वेथा ।
दिन्छिन् उन्ले, चढाउ भाई मैयालाई फूल पाती ।।

माया, प्रेम, पिडा, खुशी, सपना र विपना त्यो,
कुनैले नि नभए'सि हेर जून तारा राती ।।

जितेन्द्र :
ब्यथाको के कमी छ र? मुइँया भाकौ अब मैले,
उन्को साथ भन्दा बरु एक्लोपना रै'छ जाती ।

माया पिरिम् जून तारा सपनाका छाडौ कुरा,
खुशी के हो भुलिसकें, दुखिरन्छ देब्रे छाती ।

सविन सिंह:
पिडा हाम्रो एउटै हो, पिडा दिने मान्छे फरक।
तिम्रो दुखाई हेर्दा लाग्छ शायद् हो कि? जातै घाती ।।

जितेन्द्र :
माया भए अरु केही चाहिदैन कि त मित्र ?
खोक्नेहरु अझै खोक्छन् सबैभन्दा माया माथी ।

सविन सिंह:
चाहेकै हो चोखो माया, लिन दिन सबैले नै ।
अल्झिदिन्छन् सम्बन्धमा स्वार्थहरू नाना भाँती । 

Sunday, May 16, 2010

गजल - शेर मेरा

लेख्न खोजे गजल जब, भाग्न थाले शेर मेरा ।
नाना थरी भावहरु, माग्न थाले शेर मेरा ।

मतला र मकताको, ग्रह शायद् जुरेन कि,
यौटा पश्चिम् अर्को पुर्व, ताक्न थाले शेर मेरा ।

सकिन खै शब्द भर्न, खाली रहे मिसरा ती,
बिरुद्धमा आज मेरै, लाग्न थाले शेर मेरा ।

लय थाम्न खोजेकै हुँ, कता चुकें होश छैन,
अनिदोंमै आज फेरी, जाग्न थाले शेर मेरा ।

देशभक्ती, नशा, व्यथा, पच्दैन रे आजभोलि,
लाग्छ पृथक् स्वाद कुनै, चाख्न थाले शेर मेरा ।