Tuesday, May 18, 2010

गजल सिक्न चाहनेहरुका लागि--- स्वयम्बर सिंह लामा ।


--स्वयम्बर सिंह लामा
गजल अरबी भाषा बाट शुरु भएको देखिन्छ । गिजलो शब्द बाट अपभ्रांस भएर गजल भएको हो । गिजलोको अर्थ हेर्दा जंगलमा चरदै गरेको मृगाको पाठोलाई ब्याधाले बाण हान्दा जुन किसिमको चित्कार निस्कन्छ, त्यही हो । मतलब, बिछोड, करुणा, बेदना जस्ता बाट निस्कने चित्कार, गजल हो भनिन्छ ।
अरब देशहरुमा प्रेम र मदपानमा स्वतन्त्रता थिएन र आज पनि छैन । त्यसैले ती देशहरुमा गजलको माध्यम बनाएर मदिरा, जिन्दगी र प्रेमी, प्रेमिकाको बर्णन गरेको पाईन्छ । तर गजल अरबी, फारसी, उर्दु, हिन्दी हुँदै मोतिराम भट्ट मार्फत नेपाल भित्रीएर अहिलेको परिस्थिती सम्म आईपुग्दा यस्ले धेरै परिवर्तनहरु लिई सकेको छ ।
अहिले आएर गजल, जिन्दगी, प्रेम र मदिरा मात्रै नभएर समसामयिक बिषयलाई समेट्ने एउटा माध्यम बनेको छ ।
अहिले आएर गजल :
ग : गायात्मक
ज: जीवन्त
ल: लयात्मक जस्ता बिकसित् रुप लिइसकेको छ।
अहिले गजल प्रेमी, प्रेमिका र मदिरा संग मात्रै सिमित छैन भन्ने कुरालाई बुझ्नु पर्छ ।
अब यहाँहरूलाइ गजल लेख्नु मन लागेको छ भने यो लेख पढ्नुँसक्नुँहुनेछ।
गजल लेखन बारे छोटकरिमा :-
——————————————————————————————-
तपाईंलाई गजल लेख्न मन लाग्छ ? लाग्छ भने नियम संगतले लेख्नलाई केही नियमहरु जान्नु अनिवार्य छ है !
१. मत्ला : गजलको पहिलो शेर, जसको दुइटै मिस्रामा कफिया हुन्छ, गजल गाउदा यसलाई मुखराको रुपमा गाउनेले हरेक अन्तराको पछि दोहोर्याएर गायी रहँदा कर्णप्रिय सुनिन्छ ।
जस्तै :
दु:ख आँफै आतिएर म संग रुन लाग्यो
एक थोपा आँशु झारी, पाप धुन लाग्यो
–स्वयम्बर
यहाँ दुवै मिस्रामा काफिया छन “रुन र धुन” । तर अरु सामान्य शेरमा कफिया तल्लो मिस्रा अर्थात मिस्रा-ए सानीमा मात्रै राखिन्छ ।
२. मिस्रा उला : हरेक शेरमा दुई हरफ हुन्छन् । पहिलो मिस्रालाई मिस्रा उला भनिन्छ । यसले भन्न खोजेको बिषयलाई उठाउछ ।
३. मिस्रा ए-सानी : शेरको दोस्रो हरफ, यसमा कफिया हुन्छ । मिस्रा उलाले उठाएको बिषयलाई यसले काफियाको आड्मा आधारित रहेर टुङ्याउछ ।
जस्तै:
हतारमा मागेको फिलिङ्गो निभिसके छ
म चाहिँ बाह्रा बर्ष चुलो फू फू फूकेर बसे
हतारमा मागेको फिलिङ्गो निभिसके छ -मिस्रा उला
म चाहिँ बाह्रा बर्ष चुलो फू फू फूकेर बसे -मिस्रा ए-सानी
माथिलो मिस्रा र तल्लो मिस्रा बिच घनिष्ट संबन्ध हुनु पर्छ । अर्थात मिस्रा उलाले जुन प्रसंगलाई उठाउँछ, तल्लो मिस्रा अर्थात मिस्रा ए-सानीले पनि त्यही बिषयलाई टुङ्ग्याएको हुनु पर्छ ।
हतारमा मागेको फिलिङ्गो निभिसके छ
म चाहिँ बाह्रा बर्ष चुलो फू फू फूकेर बसे
एउटा बिचित्रको शान्ति महसुस् गर्दैछु आज
हिजो देखि म आफ्नै ईतीहासलाई थुकेर बसे
-नेपे
४. सामान्य शेर: पहिलो र अन्तिमको बाहेक् अन्य शेरलाई सामन्या शेर मानिन्छ ।
५. काफिया: मिस्रा ए-सानीमा but मात्ला शेरको दुबै मिस्रामा अन्तिम अक्षर दोहोरिने गरि एकै अनुप्रासको शब्द राखिन्छ, त्यहि नै काफिया हो। काफिया नै गजलको मुटु हो, मगज् हो, रगत् मासु अनि सबथोक् हो । एउटा काफिया पछि अर्को कुन् काफिया आउछ भन्ने उत्सुक्ताले नै गजल सुन्न मज्जा आउछ ।
६. रद्दिफ : गाउनको लागि मात्रा पुर्याउन काफिया पछाडी राखिने, दोहोरि रहने एकै अनुप्रासको शब्द। गजलमा रद्दिफको अनिवार्य भने मानिन्न ।
जस्तै :
दु:ख आँफै आतिएर म संग रुन लाग्यो
एक थोपा आँशु झारी, पाप धुन लाग्यो
काफिया “धुन र रुन ” पछिको “लाग्यो” चाँही रद्दिफ हो ।
७. तखलुस् : गजल् लेखकले आफ्नो परिचय दिनको लागि नाम वा अर्थ जनाउने गरी राखिने नाम वा उपनाम । मक्ता शेरमा राखिने लेखकको नाम् । यो जुन् मिस्रामा राखे पनि हुन्छ। तखल्लुस् पनि गजल लेखनमा अनिवार्य चाहि छैन ।
जस्तै:
शुन्य लाग्छ जिन्दगि नै तिमी नहुँदा
बसन्तमा स्वयम्बरको धून बनि आउनु
८. मक्ता : गजलको अन्तिम शेर । जहाँ लेखकले आफ्नो परिचय खुलाउन तखल्लुस पनि राख्न सकिन्छ। नराख्दा नि फरक् चाहीँ पर्दैन ।
गजल बिधा धेरै फराकिलो बिधा हो । तर दुई वटा मिस्राहरुको भरमा धेरै अर्थको कथा रोचक र घोचक ढङ्गले भन्न सक्ने धेरै सक्तिशाली बिधा पनि हो । गजलको बारेमा यो सानो लेखमा मात्रै सिमित राख्न संभव नै हुँदैन !!!!

No comments: