प्रसव वेदनाले ग्रसित मेरी श्रीमतीलाई बोकेर एम्बुलेन्स एकनासले हुइकियो । मेरो घरमा नयाँ युगले पदार्पण गर्दैछ, मख्ख थिएँ म । "छोरो या छोरी ? नाम के राख्ने ? भबिस्यमा के बनाउने ?" आदी इत्यादी बिषय विगत केही दिन देखिका "हट केक" थिए मेरो घरमा ।
एम्बुलेन्सको ब्रेकले मलाई कल्पनाको सागरबाट बाहिरिन वाध्य गरायो । "जिन्दावाद ! मुर्दावाद ! हाम्रो माग पुरा गर !............................... "। गन्तव्यमा पुग्न नपाएका साधनहरुको जमातलाई छिचोल्दै आएका यी चर्का नाराहरुले एम्बुलेन्सको साइरन र मेरी श्रीमतीको चिच्याईलाई विलिन गराइरहेका थिएँ । ड्राइभर बाहिर निस्केर आन्दोलनकारीहरु सित अनुनय गरिरहेको थियो , म पनि पुगें बिन्ती गर्न, "ईमर्जेन्सी छ हजुर, कृपया हामीलाई जान दिनुस् !!" "ल ल साथी हो, एम्बुलेन्सलाई जान दिउँ । " एउटा बोल्यो । "हो हो, एम्बुलेन्सलाई जान दिउँ !!" अर्कोले थपेपछी केही राहत महसुस गरें । एकजना अघि बढेर भन्यो, "यदी यो एम्बुलेन्सलाई जान दियौ भने त हाम्रो कडा'बन्द'को औचित्य नै रहेन नि । कसैलाई पनि छाड्न हुन्न साथी हो ।" अर्कोले सही थप्यो । निराशा एकातिर, आक्रोश अर्कोतिर, बन्द खुल्ने प्रतिक्षाको विकल्प रहेन । एकाएक मेरो श्रीमतीको मुहारमा चमक आयो, निभ्नु अघिको दियो जस्तै । मलिन स्वरमा आफ्ना अन्तिम शब्द भनिन्, "मलाई माफ गर, मैले हाम्रो नयाँ युगलाई यो धर्तिमा पदार्पण गराउन सकिन । "
अर्को दिन, मेरो आक्रोशको ज्वालामा घिउ थप्ने काम गरे बिभिन्न दल, संगठनहरुले । "यो कुरालाई यसै छाड्नु हुन्न, हामी जवाफ अवस्य दिनेछौ ।" मैले केही सोच्न नपाउँदै, एउटाले भन्यो, "दुई दिन नेपाल बन्द !"
पहिलो दिन, टायर बालिए, कैयन् भौतिक संरचना ध्वस्त पारिए । दोस्रो दिन, पहिलो दिनका कृयाकलापहरु दोहोरिए । अर्को घटना, एउटा एम्बुलेन्स आएर हामी सामु रोकियो । एकजना मानिस रुँदै अनुरोध गर्दै थियो, "हजुर मेरो एक्लो छोरो सार्है बिरामी छ, हामीलाई जान दिनुस् । बेलैमा अस्पताल नपुर्याए मेरो सर्वस्व लुटिन्छ, म बर्बाद हुन्छु ।"
यो त्यही मान्छे थियो, जो अस्तिको बन्दमा कसैलाई छोड्न नहुने भन्दै चिच्याईरहेको थियो र उसैको हठले गर्दा मेरी दोजिया श्रीमतीको श्वास र मेरो रंगीन भबिस्यको कल्पना 'बन्द' भएको थियो ।