Saturday, March 3, 2012

गजल -- शहर कहाँ धाइन्थ्यो र ?

गाउँमै रम्न सक्या भए, शहर कहाँ धाईन्थ्यो र ?
बाध्यता हो रहरले त, हण्डर कहाँ खाईन्थ्यो र ?

सुख बाँडे बढ्छ अरे, दु:ख बाँडे घट्छ भन्छन्,
मिल्ने भए सबलाई बाँड्न, आफ्ना किन चाहिन्थ्यो र ?

खुशी भन्ने चीज यस्तो, कस्तुरिको बिना सरि,
आँफैभित्र हुन्छ यो त, बाहिर के पाईन्थ्यो र?


जति आउँछन् बाधाहरु, त्यति हुन्छु बलियो म,
नभिडेर भागी हिंडें, 'जीवन' कहाँ दाईन्थ्यो र?





Monday, February 20, 2012

केही टुक्रा टाक्री - ४

1.

जीवन मृत्‍यु क्रम न हो, सबैलाई हुन्छ ।
ज्युँनु पनि श्रम न हो, सबैलाई हुन्छ ।

मै हुँ जान्ने मै छु राम्रो, सोच्थे म पनि,
आखिर एउटा भ्रम न हो, सबैलाई हुन्छ ।

2.
लेख्न त लेख्थें यार, मूड भए पो लेख्नु ।
गर्जिने ती शेरको, गुट भए पो लेख्नु ।

चिल्लोमा रम्ने धेरै, खस्रोमा आँखा तर्छन्,
जे देख्छु त्यही लेख्ने, छुट भए पो लेख्नु ।

 आजकल बिरालो नि, झुक्किन्छ रे बिचरा,
पानी पानी र दूध दूध भए पो लेख्नु ।


Wednesday, February 1, 2012

गजल -- आऊ यस्तो खेल खेलौ

आऊ यस्तो खेल खेलौ, हारजीतको कुरै नहोस् ।
आऊ यस्तो कथा लेखौ, 'हामी'बिना पुरै नहोस् ।

पिरतीको गीत रचौ, ताल मिलाउँ दुई धड्कनको,
आऊ यस्तो धून रेटौ, जोरी खोज्ने सुरै नहोस् ।

बाधा आउलान् कति कति, अलग पार्न खोज्लान् वैरी,
जोडौ मुटु यसरी कि, चिरा पार्ने छुरै नहोस् । 

बितोस् "सन्ध्या" यो "जीवन"को, एकर्काको धड्कन सुन्दै,
मौनता होस् यस्तो त्यहाँ, छनछन् गर्ने चुरै नहोस्  ।

Tuesday, December 6, 2011

गीत --- आमा !!!

मन जलाई, सगर माझ गयौ बिलाई ।
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।
आमा ssss
दुखें धेरै, नसताऊ, मलाई छोडी अन्त नजाउ !!
चर्क्यो घाऊ, फर्की आऊ, ममताको मल्हम लगाउ !!


लर्खराउँदा कदम मेरा, हात दियौ हिंड्न सिकें ।
बाधा आउँदा हर मोडमा, आँट दियौ भिड्न सिकें ।
यात्रा मेरो अधुरै छ, कसले देला साथ अब ।
ठेश लागि लड्न लाग्दा, कसले देला हात अब ।
आशुँको यो, सागर मा दियौ डुबाई,
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।
आमा sss

मलाई बुझ्ने एउटा तिमी, मैले पुज्ने देउता तिमी ।
अधुरो भो जीवन मेरो, म छु यता कता तिमी  ।
रिसायौ कि दैव मेरी, खाली देख्छु मन्दिर पनि ।
कस्लाई पोखौ मनको बह, उर्लदैछन् भेल बनी ।
तिमी पाउन, चढाइदिन्थे भेटी आँफैलाई ।
भन मलाई, कहाँ पाउँ अब तिमीलाई ।
आमा ssssssssssssssss
दुखें धेरै, नसताऊ, मलाई छोडि अन्तै नजाउ !!
चर्क्यो घाऊ, फर्की आऊ, ममताको मल्हम लगाउ !

Thursday, August 11, 2011

गजल -- दुनियाँमा

रिस राग त्याग्न सके, जिन्दगी नै माथि हुन्छ ।
फलेको हर वृक्षले त, झुकेको नै जाती हुन्छ ।

'कति' भन्दा 'कस्तो'को पो, मुल्य हुन्छ दुनियाँमा,
लाखौं तारा माझ हेर, यौटै जून काफी हुन्छ ।

कस्को औकात कति यहाँ, भन नाप्छौ  कसो गरी?
ज्युँनेहरु सबै सित, एक मुठी सास बाँकी हुन्छ ।

छलें सारा दुनियाँलाई, भन्दै चाहे छाती ठोक,
जहाँ जान्छौ जे जे गर्छौ, तिम्रै मन साक्षी हुन्छ ।

भन्छौ यत्ती भए पुग्छ, अरु केही चाहिदैन,
पुरै संसार पाए पनि, चाह सधैं आधी हुन्छ ।