Monday, February 20, 2012

केही टुक्रा टाक्री - ४

1.

जीवन मृत्‍यु क्रम न हो, सबैलाई हुन्छ ।
ज्युँनु पनि श्रम न हो, सबैलाई हुन्छ ।

मै हुँ जान्ने मै छु राम्रो, सोच्थे म पनि,
आखिर एउटा भ्रम न हो, सबैलाई हुन्छ ।

2.
लेख्न त लेख्थें यार, मूड भए पो लेख्नु ।
गर्जिने ती शेरको, गुट भए पो लेख्नु ।

चिल्लोमा रम्ने धेरै, खस्रोमा आँखा तर्छन्,
जे देख्छु त्यही लेख्ने, छुट भए पो लेख्नु ।

 आजकल बिरालो नि, झुक्किन्छ रे बिचरा,
पानी पानी र दूध दूध भए पो लेख्नु ।


Wednesday, February 1, 2012

गजल -- आऊ यस्तो खेल खेलौ

आऊ यस्तो खेल खेलौ, हारजीतको कुरै नहोस् ।
आऊ यस्तो कथा लेखौ, 'हामी'बिना पुरै नहोस् ।

पिरतीको गीत रचौ, ताल मिलाउँ दुई धड्कनको,
आऊ यस्तो धून रेटौ, जोरी खोज्ने सुरै नहोस् ।

बाधा आउलान् कति कति, अलग पार्न खोज्लान् वैरी,
जोडौ मुटु यसरी कि, चिरा पार्ने छुरै नहोस् । 

बितोस् "सन्ध्या" यो "जीवन"को, एकर्काको धड्कन सुन्दै,
मौनता होस् यस्तो त्यहाँ, छनछन् गर्ने चुरै नहोस्  ।

Tuesday, December 6, 2011

गीत --- आमा !!!

मन जलाई, सगर माझ गयौ बिलाई ।
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।
आमा ssss
दुखें धेरै, नसताऊ, मलाई छोडी अन्त नजाउ !!
चर्क्यो घाऊ, फर्की आऊ, ममताको मल्हम लगाउ !!


लर्खराउँदा कदम मेरा, हात दियौ हिंड्न सिकें ।
बाधा आउँदा हर मोडमा, आँट दियौ भिड्न सिकें ।
यात्रा मेरो अधुरै छ, कसले देला साथ अब ।
ठेश लागि लड्न लाग्दा, कसले देला हात अब ।
आशुँको यो, सागर मा दियौ डुबाई,
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।
आमा sss

मलाई बुझ्ने एउटा तिमी, मैले पुज्ने देउता तिमी ।
अधुरो भो जीवन मेरो, म छु यता कता तिमी  ।
रिसायौ कि दैव मेरी, खाली देख्छु मन्दिर पनि ।
कस्लाई पोखौ मनको बह, उर्लदैछन् भेल बनी ।
तिमी पाउन, चढाइदिन्थे भेटी आँफैलाई ।
भन मलाई, कहाँ पाउँ अब तिमीलाई ।
आमा ssssssssssssssss
दुखें धेरै, नसताऊ, मलाई छोडि अन्तै नजाउ !!
चर्क्यो घाऊ, फर्की आऊ, ममताको मल्हम लगाउ !

Thursday, August 11, 2011

गजल -- दुनियाँमा

रिस राग त्याग्न सके, जिन्दगी नै माथि हुन्छ ।
फलेको हर वृक्षले त, झुकेको नै जाती हुन्छ ।

'कति' भन्दा 'कस्तो'को पो, मुल्य हुन्छ दुनियाँमा,
लाखौं तारा माझ हेर, यौटै जून काफी हुन्छ ।

कस्को औकात कति यहाँ, भन नाप्छौ  कसो गरी?
ज्युँनेहरु सबै सित, एक मुठी सास बाँकी हुन्छ ।

छलें सारा दुनियाँलाई, भन्दै चाहे छाती ठोक,
जहाँ जान्छौ जे जे गर्छौ, तिम्रै मन साक्षी हुन्छ ।

भन्छौ यत्ती भए पुग्छ, अरु केही चाहिदैन,
पुरै संसार पाए पनि, चाह सधैं आधी हुन्छ ।

Saturday, May 14, 2011

गजल : त्यो रात


चुरा बज्दा झस्काउने, अनौठो त्यो रात थियो ।
हिजो को हो को हो आज, हात माथि हात थियो ।

मेरो मनमा पसी हेरे, थाहा हुन्थ्यो कि त उसलाई,
डरको डेरा संकोचको, एउटा ठुलै खात थियो ।

सिन्दुर लायो कसम खायो, सातै जन्म साथ दिने,
आफ्नो हक जताइहाल्यो, मर्दको न जात थियो ।

सुनसान भयो बातावरण,आँधीहुरी चल्ने हो कि?
यता डर सुनामीको, उता मेरै मात थियो ।

डर त्यागें जसो तसो, सम्हालें यो मनको हुरी,
तन सुम्पे मन सुम्पे, सुम्पे जे जे साथ थियो ।