Wednesday, September 1, 2010

गजल - देऊ

छुट्टीनु नै, छ भने नि, दुई किनारको दूरी देऊ !!
उडाइ लगोस्, सबै याद, यस्तो कुनै हुरी देऊ !!

मिठो बोली मुटु रेट्दा, दुखिसकें दुख्नु जति,
तीतो बरु अझै तिखो, वचनको त्यो छुरी देऊ !!

तिम्रो प्राण मेरो भन्थ्यौ, त्यसैले न जिएको छु,
मरी मरी बाँच्न गार्‍हो, मर्छु लौ मन्जूरी देऊ !!

तिमीलाई साथ दिंदा, दुनियाँमा एक्लो भएँ,
बेवारीसे लाश छ मेरो, बिन्ती तिमी कुरी देऊ !!

Thursday, August 12, 2010

गजल सवाल जवाफ

आशु शर्मा !!
--------------------------------------
मेरो माया यति टाढा किन देख्यौ भन
मुटु घोच्ने काडें शब्द किन लेख्यौ भन

छाती भित्र सजाको'छु फोटो तिम्रो भन्थ्थौ
त्यही फोटो आज फेरी किन फेक्यौ भन

नछुट्टीने बाचा खाई टाढा जानु रैछ
एक्लै हिड्थें मेरो बाटो किन छेक्यौ भन

माया गर्नु तिमीलाई गल्ती भयो कि त ?
भरोशामा यत्ति साह्रो किन टेक्यौ भन

तिमी बिना जिउनुको अर्थ छैन भन्थ्यौ

----------------------------------
जितेन्द्र मल्ल
-------------------------------------
दोश लाउँछ्यौ ऐले मलाई, पैले तर्किएर गयौ ।
आलो थियो मनको घाऊ, नुन छर्किएर गयौ ।

सजाएँथे तस्विर तिम्रो, मनको आँगनमा मेरो,
बहाइ लग्यौ झरी सँगै, जब दर्किएर गयौ ।

वाचा थियो साथै ज्युँने, खोजेँ निभाउन मैले,
दोबाटोमा आईपुग्दा, अन्तै लर्किएर गयौ ।

माया गर्छु भर पर, भन्दा झुटो मानी हिड्यौ,
आउँदै थिएँ तिमीतिरै, आँफै फर्किएर गयौ ।

टुट्यो नाता बह्यो 'आँशु', मुटु चस्कीरह्यो अझैं,
जोडीएको मुटुबाट, जब चर्किएर गयौ ।

Monday, August 9, 2010

गजल: यस्तो गजल रच्न सकुँ ।

तिम्रो मुटु चस्स पारोस्, यस्तो गजल रच्न सकुँ ।
ढुङ्गाले नि आँशु झारोस्, यस्तो गजल रच्न सकुँ ।

आँटे बाँच्न माया विना, घृणा सहुँ कसोरी म,
माया पाली घृणा मारोस्, यस्तो गजल रच्न सकुँ ।

भन्थ्यौ मनको राजा मलाई, सुखी राज्य चाह मेरो,  
पीडा तिम्रा यतै सारोस्, यस्तो गजल रच्न सकुँ ।

खेल होइन पिरती यो, जित्नै पर्छ भन्ने छैन ,
बरु मेरै जीत हारोस्, यस्तो गजल रच्न सकुँ ।

Sunday, July 25, 2010

केही हाइकुहरु !!!


1.
पसिना सिंचे ।
हरियो मरुभुमी ।
डलर खेती ।
2.
उजाड वन ।
झरेका पातहरु ।
उस्तै यो मन ।
3.
गुराँसे लाली ।
मन फिक्का मेरो यो ।
तिम्रो सिउँदो ।
4.
आकाश गर्ज्यो ।
खै के ब्यथा सुनायो ।
मनै रुझायो ।
5.
तिम्रो नै याद ।
यी चिसा चिसा रात ।
प्यारी सिरक ।
6.
कनिका भेटें ।
हातमुख जोर्नुछ ।
दाउरा भिजे ।
7.
लुक्यो चन्द्रमा ।
छायो हेर अँध्यारो।
नजिक आऊ ।
8.
कैले अचल ।
कैले साउने भेल ।
मनै त हो । 


Tuesday, July 6, 2010

गजल - के भयो र?

के भयो र यौटा साथ, छुट्यो छुट्न दिएँ । 
मन भन्नु शीशा न हो, टुट्यो टुट्न दिएँ ।

दिनु साटो खोस्न मात्रै, जान्यो भाग्यले नि,
अलिकती खुशी थियो, लुट्यो लुट्न दिएँ । 

दोश तिम्रो हो कि मेरो, या त नियतिको,
अन्यौलको भुमरीले भुट्यो भुट्न दिएँ । 

जिन्दगी हो जसो तसो , ज्युँनु पर्छ सोची,
अठोट लिई मन मेरो, उठ्यो उठ्न दिएँ ।