Sunday, July 8, 2012

गीत : भानुभक्त(भानु जयन्ती बिशेष)

सिक्यौ पाठ घाँसीबाट, राख्यौ नाम भानुभक्त ।
युगौसम्म भुल्ने छैनन्, तिम्रो काम भानुभक्त ।

घाँसीले त कुवा बनाई, बटुवाको प्यास मेट्यो ।
धन्य तिम्रो साहित्यले, यौटा नयाँ बाटो भेट्यो ।
गरीबीमै हुर्किएको , घाँसी थियो मनको धनी ।
गुरु मान्यौ उसैलाई, बढ्यौ अघि चेला बनी ।

चिनायौ नि रामायण, सीता राम भानुभक्त ।
धनञ्जय पुत्र धन्य, तिम्रो काम भानुभक्त ।

जती बखान गरौँ तिम्रो, अपुरो नै हुन्छ सारा ।
हाम्रो मनमा 'आदिकवि', चम्किएको तिमी तारा ।
बहेका छौ बहने छौ , साहित्यको धारासित ।
रहेका छौ रहने छौ , नेपाली मन सारासित ।

तनहुँ नै साहित्यको, बन्यो धाम भानुभक्त ।
धन्य तिमी झनै धन्य, तिम्रो काम भानुभक्त ।




No comments: