Friday, February 15, 2013

गजल ..................दुनियाँ यो

जस्ले बोल्छ उही बिक्छ, अब्बल भन्छ दुनियाँ यो ।
नबोल्नेले अब्बल लेखोस्, नक्कल भन्छ दुनियाँ यो ।

सत्य बोल्ने हिम्मत गरें, फरक भएँ अरु भन्दा,
ईनाम हेर कस्तो पाएँ, पागल भन्छ दुनियाँ यो ।

शिखर टेक्दा पैतालाका, ठेलाहरु कस्ले देख्यो ?
भाग्यले हो बनाएको, सफल भन्छ दुनियाँ यो ।

अरु घोडा चढ्दा आफु, धूरी चढ्नु हुन्न भन्छु,
पुरानो भो सोच तेरो, बदल भन्छ दुनियाँ यो ।

सुनै सुनको यौटा सुन्दर, पिजंडा म ठान्छु जस्लाई,
सुखी "जीवन" टक्र्याउने, महल भन्छ दुनियाँ यो ।

No comments: