Wednesday, June 6, 2012

केही यादगार पलहरु !!


जिन्दगीमा केही यस्ता पल हुन्छन् जुन हरेक समय याद आईरहन्छन् । मेरो जीवनका केही यादगार पलहरु बाँड्दैछु, जुन कुराहरु केहीलाई मात्रै SHARE गरेको थिएँ आजसम्म ।
--------------

१) आमाको माया :

पढाईको सिलसिलामा प्राय: घर बाहिरै रहने म, दसैं तिहारको छुट्टीमा घरमै थिएँ । एउटा साँझ मुवा भान्छामै भएको बेलामा रक्सी खाएको एक्टिङ गर्दै मुवासित लर्बराएको लवजमा कुरा गरें । सोझी मुवाले भन्नु भयो, "धत लाटा यसरी रक्सी खाने हो ? आईज, यहाँ भान्सा भित्रै लुकेर बस, तेरो बुवाले देख्नु भयो भने मार्नु हुन्छ !"
कहिले रक्सी नपिउने छोरालाई रक्सी पिएको सोचेर बचाउन खोज्ने मुवाको त्यो महान मन अरु कहाँ भेटिएला र ?

२) छोरा छोरी बराबरी :

जिन्दगीका २८ बसन्त पार गरुन्जेल सम्म मैले बुवाको हातको एउटा मात्रै थप्पड खाएको छु । कुरा धेरै पहिलेको हो, म करीब ५-६ बर्षको हुँदा । जेठी दिज्जु माइती आउनु भएको बेलामा कुन्नी के के भन्नु भयो मलाई । अनी कुरै कुरामा मलाई रिस उठेर दिज्जुलाई भन्न पुगें, "यो तेरो घर होइन, मेरो घर हो ।" यती के भनेको थिएँ, बुवाको हातको एउटा थप्पड खाएँ ! त्यो बाल मानसपटलले त्यती बेला नै बुझिसकेको थियो कि यस्तो कुरा आफु भन्दा ठुलालाई भन्नु हुँदैन ।

३) अभिभावकको चिन्ता :

बि. ई. पढ्दा ताकाको एक साँझ डेरामै परिक्षाको तयारी गर्दै थिएँ, घरबाट अंकल को फोन आयो । रिसाउँदै सोध्नु भयो, "कहाँ छस् अहिले?" मैले उत्तर दिएँ, "डेरामै छु अंकल, भोली परिक्षा छ, त्यसैको तयारी गर्दै छु । " "राम्ररी पढ है बाबु, परिक्षा राम्रो सित दिनु!" भन्ने उत्तरको अपेक्षा गरेको थिएँ, यस्तो पो आरोप पाएँ, "हैन, तँ अहिले बारमा छस्, बियर खाँदै छस् ।" विश्वाश दिलाउने धेरै कोशीश गर्दा पनि अंकल मान्नु भएन, उल्टै मलाई आरोप लगाइराख्नु भयो ।
खाँट्टी कुरो पछि चाल पाएँ, केही कथित "शुभचिन्तक" भनाउँदाहरुले, "छोरा बिग्रियो, पढाई छोडिसक्यो, घुमेर बस्छ, जाँड रक्सी खान्छ, डिस्कोहरु धाउँछ", आदी ईत्यादी कुराहरुले मेरा अभिभावकहरुको कान भरेका रहेछन् ।
म बियर पनि नपिउने मान्छे, डिस्कोहरु धाउने त कुरै भएन ।  यसरी नानाथरी कुराहरु घरमा सुनाउने ती शुभचिन्तक भनाउँदाहरु जहाँ पनि भेटिन्छन् ।

४) सरको पिटाई :

विद्यार्थी जीवनकालमा सरको कति पिटाई खानु भएको छ ? मैले एक लट्ठी खाएको छु, मलाई एकदमै माया गर्ने सरको हातबाट, तर अरुको गल्तीको लागि । हामीलाई ईंग्लिश पढाउने सर करीब साठीको हाराहारिमा हुनुहुन्थ्यो, उहाँले म सहित अरु विद्यार्थीहरुलाई पनि धेरै माया गर्नु हुन्थ्यो, कारण राम्रा विद्यार्थीहरुको सुचीमा हामी पर्थ्यौ । एकदिन म बसेको बेन्चतिरबाटै DISTURBANCE आएको महशुश भएर सरले मलाई उठ्न  भन्नुभयो र मैले स्पष्टिकरण दिन नपाउँदै एक लट्ठी हिर्काउनु भयो ।  केही साथीहरुलाई असह्य भएर सरलाई भने, "सर यस्मा जितेन्द्रको कुनै गल्ती छैन, हल्ला अरुले गरेका हुन् । " तिनिहरुले यती के भनेका थिए, मेरो आँखाबाट आँशु झर्‍यो । कारण अहिले सम्म बुझ्न सकेको छैन; ती साथीहरुको स्नेह पाउनु, या बिना गल्ती सजाय पाईनु ? पछि सरले माया गरेर फकाउनु भएको थियो । 

3 comments:

Milan said...

interesting stories...sometime so little thing touches us so badly tht it becomes almost impossible to forget...

दिनेश राज said...

अरु पनि आओस है , मज्जा लाग्यो पढेर केही कुरा मेरा जीवनसँग मिल्न गएकोमा यसलाई संयोग मात्र मानिनुपर्छ । :)

Jitendra Malla said...

धन्यवाद मिलन जी र दिनेश गुरु ।
@दिनेश गुरु : अरु कुराहरु पनि थप्न कोशीश गर्नेछु । धेरै छन् रमाईला किस्साहरु, शब्दमा उतार्न बाँकी छ । :)