Friday, May 25, 2012

गजल -- हुनुपर्छ

तिम्रो दिलको ईजलाशमा चाँडै सुनुवाई हुनुपर्छ ।
या त कैदी जन्मौ जन्म या त रिहाई हुनुपर्छ ।

अल्पमतको पनि कदर गर्नुपर्छ भन्छु मैले,
तिमी भन्छौ हैन हैन! दुई तिहाई हुनुपर्छ ।

सुम्पे मुटु तिमीलाई, खाली भयो देब्रे पाटो,
अझै पनि सोध्छौ तिमी, के को भर्पाई हुनुपर्छ ।

छेपारो झै रङ्ग फेर्ने, दुनियाँको के भर पर्नु?
आफ्ना लागि आफ्नै मनको, साक्षी बकाई हुनुपर्छ ।

सुनाइको त के कुरा भो, धोका खान्छन् आँखाले नि,
दोषी करार दिनु पुर्व, यौटा सफाई हुनुपर्छ ।

नेपाली गजल डट कम मा यो गजल हेर्न यहाँ क्लिक गर्नु होला !! तिम्रो दिलको ईजलाशमा

No comments: