Saturday, August 29, 2009

मेरो बाल्यकालको साथी !

"जन्मिदा एक्लै, मर्दा नि एक्लै", ध्रुवसत्य कुरा, तर जिन्दगीको यात्रामा कयन साथहरु साथी बन्छन, कयन हातहरु साथ छोड्छन । यो क्रम चलिरहन्छ, जिन्दगीको यात्रा जो चल्नु छ !! कुनै साथ यस्ता हुन्छन जुन लामो समयसम्म चल्छन तर हामी याद गर्न चाहन्नौ, अनी कुनै यस्ता हुन्छन जुन क्षणिक हुन्छन तर हरपल सम्झनामा आइरहन्छन !!

कथा जस्तो लागे पनि यो कुनै कथा होइन, मेरो भावना अनी त्यो बाल्यकालको साथीको सम्झना हो जुन मेरो मनमा हर्दम आइरहन्छ, मानसपटमा छाइरहन्छ । त्यही सम्झनाहरुलाई त्यन्द्रा त्यान्द्रा बुनेर यो लेख्दैछु !

गाउँले परीबेशमा हुर्किएको म सानोमा सार्है नै लजालु स्वभावको थिए । कसै सँग नि खुलेर कुरा नगर्ने, केवल आफ्नो काममा मात्र ध्यान दिने, बाँकी दुनियाँ बिरानो थियो मेरो लागि ।चार बर्षको हुँदा पनि म स्कुल भनेपछी डराउँथे,घरबाट अंकल ले जती भने नि म कहिल्यै स्कुल गईन रे । एक दिन अंकल ले मलाई काँधमा राखेर स्कुल छोडेर आउनुभएछ, जुन दिन पस्चात मैले एउटा क्लास नि छोडेन रे !! ५ सम्मको मेरो पढाई गाउँकै स्कुलमा भएको हो ।

म त्यतिबेला कक्षा २ मा पढ्थे, मेरै गाउँको स्कुलमा ।त्यतिबेला "प्रभाते स्कुल"(MORNING SCHOOL) चल्दै थियो ! प्रभाते स्कुल बिहान ७ बजे सुरु हुन्थ्यो र १ बजे सकिन्थ्यो जुन हामी एकदमै मन पराउँथ्यौ, DAY SCHOOL को तुलनामा । हामीहरु BREAK TIME को लागि 'अन्नी'(TIFFIN) लगेर जान्थ्यौ घर बाटै।

एक दिन एक जना नयाँ मान्छे हाम्रो क्लासमा आयो, मैले ज्यादा ध्यान दिएन, किन मैले कारण माथि नै लेखिसकेको छु । अरुले कुरा गरेको सुन्दा खेरी उ OVERSEER को छोरा भएको थाहा पाए, त्यो OVERSEER हाम्रो गाउँमा बन्न लागेको सिचाइ नहरको कामले केही दिनका लागि मेरो गाउँको पाहुना रहेछ । BREAK TIME भयो र म पनि सबै झै आफ्नो 'अन्नी'तिर लागे, मुवाको हातबाट बनेको मीठो रोटी । एक जना साथी जहिले पनि म संगै नास्ता गर्थ्यो किनकी मेरो 'अन्नी' उस्को तुलनामा जहिले नि मिठो हुने गर्थ्यो । त्यो दिन त्यो नयाँ साथी हामी भए तिरै आयो शायद साथ खोजिरहेको थियो । उस्ले पनि TIFFIN बोकेको थियो जुन हाम्रो भन्दा नि राम्रो थियो। आफ्नो TIFFIN बाट केही मलाई दियो उस्ले र भन्यो "आजदेखी हामी साथी साथी है !" म संगै भएको साथीले 'हुन्छ भन' भनेर भन्यो, जस्मा उस्को स्वार्थ लुकेको थियो, राम्रो TIFFIN पाउने । तर म मुकदर्शक भएर उभिरहे, बोली फुट्नु भन्दा अघी नै क्लास सुरुको जनाउ घन्टी बज्यो, दगुरियो क्लास तिरै।

अर्को दिन मैले उस्लाई खोजे, किनकी मलाई उस्को प्रश्नको जवाफ दिनु थियो, उ सँग दिगो मित्रताको साईनो गास्नु थियो। मेरो खोजाइ ब्यर्थ भयो किनकी उ त्यसपछी मेरो स्कुलमा कहिल्यै देखिएन, भेटिएन ।

यती धेरै बर्ष बितिसकेका छन, समयले लामो फड्को मारिसकेको छ । उ कता छ मलाई केही थाहा छैन, उस्लाई यो कुरा याद छ कि छैन भन्ने नि मेसो छैन मलाई । तर पनि उस्का ती निस्चल शब्दहरु अझै नि कानमा गुन्जिरहन्छन । उस्को त्यो साथीत्व हर घडी याद आउँछ ।

करीब ३० जना मध्य उस्ले मेरो साथ नै किन चुन्यो, यस्को जवाफ म सँग छैन, तर आज म उस्लाई जवाफ दिन चाहन्छु दुनियाँलाई साक्षी मानेर , "हुन्छ !! हामी साथी साथी, युगौ युग सम्म लाई!!"



No comments: