Wednesday, May 23, 2012

प्यारोडी गजल --- यहाँ कुर्सीको छ चिन्ता, तिमी संविधान भन्छौ


यहाँ कुर्सीको छ चिन्ता, तिमी संविधान भन्छौ ।
साँच्चै नबुझ्ने हौ कि, नबुझ्ने जस्तै बन्छौ ।

आफ्नै कुर्सी बचाउन, गार्‍हो छ यहाँ मलाई,
तिमी भने पछौटे र कार्यकर्ता गन्छौ ।
साँच्चै नबुझ्ने हौ कि, नबुझ्ने जस्तै बन्छौ ।
यहाँ कुर्सीको छ चिन्ता !!!

पुस्तौं पुस्ता पुग्ने, सम्पत्ती जोड्दैछु म,
सम्पत्ती नै नभए, के झुपडिमा रहन्छौ ?
साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ ।
यहाँ कुर्सीको छ चिन्ता ।

मर्न देऊ जनता, हामीले बाँचे पुग्छ,
गरौ बरु मोजमस्ती, किन खोईरो खन्छौ ।
साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ ।
यहाँ कुर्सिको छ चिन्ता, तिमी संविधान भन्छौ ।

Image Source: The Kathmandu Post



Tuesday, May 22, 2012

गजल -- धोकामै छ हेर

भन्छ ईश्वर दुखी गरीब, भोकामै छ हेर ।
धाउँछ मन्दिर पुज्छ पत्थर, धोकामै छ हेर ।

साटौं भने पीडा हुने, राखौं बोझ भयो,
किन्ने भए मेरो मुटु, खोकामै छ हेर ।

पाहुना लाग्छन् समस्या यी, मेरै घरमा सधैं ,
एक-हुल गयो अर्को फेरी, ढोकामै छ हेर !

चारैतिर मरुभुमी, छ त के नै भयो ?
टन्न पानी बोकेको छु, डोकामै छ हेर ।

मुस्काएरै पीडा छल्छु, सुखी ठानी जल्छन्,
दुनियाँ के दैव पनि, धोकामै छ हेर ।

Monday, April 23, 2012

लघुकथा--- आमा

"बाबु, तँ नेपाल आए पछि सँगै अस्पताल गएर चेक गराउँला नि हुन्न ?" कमाईको केही हिस्सा पैसा पठाएर उपचार गराउनुहोला भन्ने मेरो अनुरोधमा बिरामी आमाले त्यसो भनिन् । एक महिना पछि त छुट्टी मिलिहाल्छ नि भनेर मैले पनि  'हुन्छ' भनें ।

ओहो, दुई बर्ष भन्दा पनि बढी भएछ घरबाट टाढिएको । छुट्टीको दुई महिना परिवार, साथीहरुसित रमाइलो गरी मनाउँछु । आफन्त साथीभाइहरु सितको भेटघाटमै कति चाँडै बित्ने होला दुई महिना ।  यस्तै कुराहरु मनमा खेलाउँदै दिनहरु बिताउँदै थिएँ, तर अझै  छुट्टीको मिती तोकिएको थिएन ।

छुट्टीको मिती पनि तोकियो, मेरो हर्शको सीमा नै रहेन  ! खुशी होश या दु:ख पहिले सबैभन्दा मन मिल्नेलाई नै बाँडिन्छ । रमाएर आमालाई फोन गरें ।  फोन छिमेकी नातेदारले उठाइन्, मनमा चिसो पस्यो कारण घरको फोन प्राय: आमाले नै उठाउनुहुन्थ्यो ।  मैले आमासित कुरा गर्ने इक्षा राख्दा उनले रुँदै भनिन्, "तेरी आमा त हामीलाई छोडेर जानुभयो बाबु !!!"

Saturday, April 14, 2012

गजल --- नयन प्यारा

बाढी आउँदा यो मुटुमा, छल्कने ती नयन प्यारा ।
खुशी छाउँदा यो मनमा, टल्कने ती नयन प्यारा ।

तिमी त्यसै राम्री नै छौ, श्रिङ्गार किन चाहियो भन्दा,
लजाएर भुईं तिर, ढल्कने ती नयन प्यारा ।

डुलुवा यी दोशी नजर, कहाँ पुग्छन् पत्तो हुन्न,
बाटो भुली अन्तै डुल्दा, सल्कने ती नयन प्यारा ।

जुधे कयौ नजरहरु, "जीवन" को यो गोरेटोमा,
यौटा न्यानो आफ्नोपना , झल्कने ती नयन प्यारा ।




Saturday, March 3, 2012

गजल -- शहर कहाँ धाइन्थ्यो र ?

गाउँमै रम्न सक्या भए, शहर कहाँ धाईन्थ्यो र ?
बाध्यता हो रहरले त, हण्डर कहाँ खाईन्थ्यो र ?

सुख बाँडे बढ्छ अरे, दु:ख बाँडे घट्छ भन्छन्,
मिल्ने भए सबलाई बाँड्न, आफ्ना किन चाहिन्थ्यो र ?

खुशी भन्ने चीज यस्तो, कस्तुरिको बिना सरि,
आँफैभित्र हुन्छ यो त, बाहिर के पाईन्थ्यो र?


जति आउँछन् बाधाहरु, त्यति हुन्छु बलियो म,
नभिडेर भागी हिंडें, 'जीवन' कहाँ दाईन्थ्यो र?