Thursday, December 13, 2018

नसोच्नु

नसोच्नु यो कुनै दिगो दुश्मनी हो ।
म डेरावाल हुँ  र ऊ  घरधनी हो ।

बाली नसप्रिंदा अरूलाई सराप्छौ,
जस्तो खेती गर्यौ त्यस्तै उब्जनी हो ।

सबेरै  उठेर  करायो एक पागल,
यार ! सपनी भनेको सपनी हो ।

जिन्दगी परिकारको थाली मानौं,
दुःख खाना हो अनि सुख चटनी हो ।

कति फरक पार्छ सोचाईले नि यहाँ,
कि यो फगत माटो कि यै जननी हो ।

Monday, November 19, 2018

खत्तम भयो

भट्टी पसियो खल्ती रित्तियो, खत्तम भयो ।
किन्नुपर्ने सूचीमा रासन थियो, खत्तम भयो  ।

नपाउन्जेल त केवल गुनासो थियो नपाएको,
पाएपछि गुमाउने डर थपियो, खत्तम भयो ।

आँधीसँग लड्ने हिम्मत जुटाए'थ्यो दियोले,
ठ्याक्कै यै बेलामा तेल सकियो, खत्तम भयो ।

लेख्न त धेरै लेख्यो होला, भाग्यमा भावीले,
शायद लेख्दा लेख्दै मसी पोखियो, खत्तम भयो ।

म होशमा आउनु अगावै प्रियाले छाडेर गइन् ,
मातेको बेला खै के के बोलियो, खत्तम भयो ।