भयो के ? हिलोमा कमल खिन्न कैल्यै ।
नमर्दै यहाँ स्वर्ग, देखिन्न कैल्यै ।
बरफमाथि आगो लगाईन्न कैल्यै ।
भए बन्द ढोका उघारिन्न कैल्यै ।
बरालिन्न कैल्यै हतारिन्न कैल्यै ।
म भन्छु जिन्दगीले दिन जानेन !
जिन्दगीको आरोप छ लिन जानेन !
ऊ मान्छे थियो, अमानव भई मर्यो,
मौसमसँगै रङ्ग, बद्लिन जानेन ।
प्रमाण काफी छ, तिमी पराइ भएको,
समीप आयौ मुटु, धड्किन जानेन ।
सोच्नुस् के हुँदो हो, तराईं पहाडलाई,
आवेगमा हिमाल, पग्लिन जानेन ।
आज ऊ पनि गजलकार हुन्थ्यो होला,
छाडी जानेको याद, बल्झिन जानेन ।
अझै नि कुँवामै छ, कुवाँको भ्यागुतो,
उम्किन चाहेन, या उम्किन जानेन !
सोझो हुनु पनि त अभिषाप रहेछ,
मासियो त्यो रुख जो, बाङ्गीन जानेन !
उसले एकपल्ट पनि सोचेन बाहिरिनु अगाडि ।
अब हजारपल्ट सोच्नेछ घर फर्किनु अगाडि ।
अचेल मेरो साथी मेरै ज्यानको दुश्मन भएको छ,
जो ज्यान दिन तयार थियो पैसा लिनु अगाडि ।
बा आमा, हुर्केको आँगन, खुला चौर, चौतारो,
आहा ! क्या जिन्दगी थियो ब्युँझिनु अगाडि ।
यो पक्का हो, सबै फूल शिरमा शोभा दिंदैदन्,
यत्ति बुझे हुन्थ्यो सिउरिनेले सिउरिनु अगाडि ।
अहिले बेहिसाब प्यालामाथि प्याला थपिंदैछन्,
थोरै पिउने सहमति थियो मातिनु अगाडि ।