नियतिको खेल यही, भोग्दै जाँदा धेरै जानें ।
प्यारो जन्म घर छोडि, पराइ घर आफ्नो मानें ।
छोरी थिएँ अब भने, बुहारी पो भएछु म,
रहर मारे उड्ने सबै, पिजंडा यै मैले छानें।
समाजको रित यस्तै, नारी न हुँ अभागी म,
निसन्तान हुँदा सबले दोश जती मेरै ठाने ।
झुक्किएर अन्तै नजर, जाँदा पनि पापिनी रे,
मेरो देउता छानी छानी अर्कै अर्कै फल खाने ।
पुछिएको सिउँदो सँगै, काख रित्तिएको बेला,
टोकी छोरा अनि लोग्ने, भन्ने वचन वाण हाने।
जता पनि जहाँ पनि दु:ख मात्रै यो'जीवन'मा ,
मुक्ती देऊ छिट्टै प्रभु, भनीदेऊ कैले लाने ?
((जस्ले देख्न र सुन्न सक्नुहुन्न, उहाँहरुप्रती समर्पित यो रचना !!!))
देख्दिन म तिमीलाई तर पनि देख्ने रहर ।
सुन्दिन म बोली तिम्रो तर पनि सुन्ने रहर ।
हेर्न खोज्छु प्रकृति यो, कालो रात आँखा सित ।
सुन्न रोज्छु मिठो धून, हुन्छ घात भाका सित ।
अपुरो भो प्रकृतिका, मिठा धून चुन्ने रहर ।
अझै पनि लागिरन्छ, किन किन सुन्ने रहर ।
संसार यो एकै पल्ट देख्न पाए हुन्थ्यो जाती ।
चिर्बिर चिर्बिर चराको त्यो बोलीसङ्गै रम्थ्यो छाती ।
अधुरो भो देखी सुनी, दुनियाँमा रम्ने रहर ।
दैव कैले पुर्याउँछौ, मेरो देख्ने सुन्ने रहर ?
थाहै छैन कैले बढ्यो, झुकाव मन पराएँ ।
नशै नशा तिमी बह्यौ, बहाव मन पराएँ ।
भन्थे, कहाँ सजिलो छ? पाउन केही यहाँ,
बित्थै तिखो काँडा बिझ्यो, गुलाव मन पराएँ ।
भाव मेरा पोख्न खोजें, भेटिन शब्द कुनै,
कठै!कागज रित्तै रह्यो, अभाव मन पराएँ ।
सुख दु:ख तौली हेरें, बराबर हुन्छ भन्थे,
भलै पीडा माथि पर्यो, हिसाब मन पराएँ ।
हार्नु तेरो धर्म हैन, चिच्यायो यो मन जब,
अझै 'जितु' अघि सर्यो, लगाव मन पराएँ !!