Monday, November 16, 2009

मेरो प्रश्न !!!!!

आफ्नै स्वार्थ मात्रै हेर्ने बानी रोक्न मिल्दैन कि ?
बिरामी ती आमाको भार मिली बोक्न मिल्दैन कि?

एमाले र कांग्रेस भन्छन सरकार हामी चलाऊँछौ !!
मशाल बोकी माओवादी भन्छ सरकार ढलाउँछौ !!
चलाऊने र ढलाउने यो खेल रोक्न मिल्दैन कि ?
बिरामी ती आमाको भार मिली बोक्न मिल्दैन कि?

एक मधेश एक प्रदेश कुर्लदैछ फोरम पनि !!
बिभेदहरु जन्मदैछन जात, धर्म, क्षेत्र बनी !!
नेपालीमै भाँजो हाल्ने काम रोक्न मिल्दैन कि ?
बिरामी ती आमाको भार मिली बोक्न मिल्दैन कि?

राप्रपाको उही पारा बाँकी भाका दल नि त्यस्तै!!
सत्ताको नै लोभमा परि यताउती धाउन ब्यस्तै !!
सत्ताको यो लुछाचुँडी अझै रोक्न मिल्दैन कि ?
बिरामी ती आमाको भार मिली बोक्न मिल्दैन कि?

हामी जनता चेतनशिल किन भन्छौ आँफैलाई !!
मौन नै छौ अझै पनि धेरै चोटि घात पाइ!!!
बुझेर नि अबुझ बन्ने नाटक रोक्न मिल्दैन कि ?
बिरामी ती आमाको भार मिली बोक्न मिल्दैन कि ?

Monday, November 2, 2009

गजल-- आव्हान !!

बिकासको मुल अब फुट्नु पर्छ भन्छु म त !!
गाउँ शहर लेक बेशी जुट्नु पर्छ भन्छु म त !!

कती तोड्छौ भत्किएको घरलाई अझै तिमी,
बन्द हड्ताल पुग्यो अब छुट्नु पर्छ भन्छु म त !!

चुहिने त्यो घरको छानो टाल्नलाई मिलिजुली,
भाईचाराको गिटी पनि,कुट्नु पर्छ भन्छु म त!!

एकताको उदाहरण बनाउन यै देशलाई ,
अनेकताको बाँध अब,टुट्नु पर्छ भन्छु म त !!

राम्रो गरे साथ दिउँ, गलत गरे खबरदारी,
जागरुक भै अब सबै उठ्नु पर्छ भन्छु म त !!

Thursday, October 22, 2009

गजल-- तिम्रो कसम!!!!!


टाढा जान्छु भन्छौ बाटो,छेक्ने छैन तिम्रो कसम!!
फेरी तिम्रो मनको दैलो, टेक्ने छैन तिम्रो कसम!!

बाँचिदिन्छु यो जिन्दगी,अन्जान बनी सधैं भरी,
देखे पनि तिमीलाई, देख्ने छैन तिम्रो कसम !!

भावनामा डुबाउला, बहकेला त्यो मन फेरि,
तिम्रो मुटु छुने गजल, लेख्ने छैन तिम्रो कसम!!

रोएको छ यो मन मेरो,तिम्रो पनि उस्तै होला,
आशुले नै तर पीडा, सेक्ने छैन तिम्रो कसम!!

खुशी चाहें दु:ख पाएँ, चेतिसकें अब मैले,
त्यै दल्दलमा फेरी मुटु,फेक्ने छैन तिम्रो कसम !!

Wednesday, October 7, 2009

गीत----- तिमी!!!!!

कल्पनामा आँफैभित्र मात्तिएकी फूल तिमी !!
भँवराको हुल देखी आत्तिएकी फूल तिमी !!

बैश चढ्यो मात बढ्यो, सुन्दरताले बास पायो !!
चोखो तिम्रो फुलवारीमा, नयाँ मधुमास छायो !!
भरिएको जवानीले, मात्तिएकी फुल तिमी !!
पोखिन्छ कि मिठो रस, आत्तिएकी फूल तिमी !!

रीत न हो, वैली झर्‍यो, मगमगाउँदो फूल पनि !!
बिझायो कि उदासी त्यो, चोट दिने शूल बनी !!
अझै पनि अबुझ बनी, मात्तिएकी फूल तिमी !!
ढल्किएको बैश सम्झी, आत्तिएकी फूल तिमी !!

Saturday, October 3, 2009

तिम्रो साथ याद आयो!!!!!!

ठेश लागि लड्न लाग्दा, तिम्रो साथ याद आयो !!
निदरी नै टाढा भाग्दा , तिम्रो साथ याद आयो !!

दिन रात एकै सरी, याद साँची बिताएका ,
आफु सँगै रात जाग्दा, तिम्रो साथ याद आयो !!

साथ हुँदा सयौ कोश, लाग्थ्यो के नै हो र भनी,
दुई पाइलामै आज थाक्दा, तिम्रो साथ याद आयो !!

चन्चले यो मन पनि, बरालिन्छ त्यसै त्यसै ,
भावनाले सिमा नाघ्दा, तिम्रो साथ याद आयो !!

तिमी बिना यो जिन्दगी ,कसरी खै सोच्नु यहाँ,
औशिले नि जुन माग्दा, तिम्रो साथ याद आयो !!