Monday, May 3, 2010

नेता, राजनीति र हामी जनता !!

'राजनीति' र 'नेता' । यी दुई शब्द सुन्ने बित्तिकै हाम्रो कन्सिरी तात्छ । हामी सकेसम्म कुरा गर्न चाहन्नौ यी बिषयमा, कुरा गर्नै परे फलाक्छौ , नेता भन्या यस्तो, राजनीति यस्तो । शुरु हुन्छ कलियुगको महाभारत ।

नहोस् पनि कसरी, हामी धेरै त्यही समाजमा हुर्केका हौ, जहाँ हामीलाई रटाइन्छ, सुनाइन्छ, "'नेता' भनेका खत्तम हुन्, बिग्रेकाहरु मात्र राजनीति गर्छन् । पढेलेखेकाले त डाक्टर, ईन्जिनियर पो बन्नु पर्छ त । " यसरी राजनीति र हामीबीच बच्चा बेलादेखी नै लक्ष्मणरेखा कोरिन्छ ।

मैले सानोदेखी नै MEMORANDUM हरु हेर्ने गर्थे साथीहरुका र आफुले पनि बनाएको थिएँ । त्यस्मा राजनीतिको बारेमा यसरी आफ्नो विचार पोखिएको हुन्थ्यो, " I HATE POLITICS!!! ; POLITICS IS A DIRTY GAME!! ALL POLITICIANS ARE LIERS!! ; POLITICIANS ARE DOGS!!" । सानोमा नै हामीमा यो भावले डेरा जमाइसकेको हुन्छ, ठुलो भएपछी जब देख्दै र भोग्दै जान्छौ, यस्ले अझ विकराल रुप लिन्छ र हामी ANTI-POLITICS र ANTI-POLITICIAN को पगरी गुथ्न वाध्य हुन्छौ ।

अहिले पनि जब राजनीतिको बारेमा कुरा छेडिन्छ, तब धेरै जनाले भनेको सुन्छु, "मलाई राजनीतितिर रुची छैन !; मलाई राजनीतिको बारेमा केही थाहा छैन!; ल साथी त नेता बन्ला जस्तो छ ! ; किन राजनीतिको बारेमा गफ गरेर समय बर्बाद गर्नु यार, अर्को बिषयमा कुरा गरौ न !" यी र यावत कुराहरु मैले भोगेको, सुनेको र देखेको छु । हामी त्यही हौ, जस्लाई राजनीति तिर चासो छैन, राजनीति बुझ्दैनौ या चाहन्नौ, तर राजनीतिक नेतालाई गाली गर्न भने कत्ती पनि हिच्किचाउन्नौ ।

अब नेताको कुरा गरौ !! नेताको नाम सुन्नासाथ सबैको कन्सिरी तात्छ । त्यो नेताले देश बेच्यो, आफ्नो मान्छे मात्र राख्यो त्यो मन्त्रालयमा । त्यो नेता प्रधानमन्त्री भएर पनि केही गर्न सकेन, समस्याहरु जस्ताको त्यस्तै छन् । भाषण मात्र दिन्छन्, काम केही गर्न सक्ने हैनन्, साला चोरहरु(अझ अभद्र शब्दहरु पनि प्रयोग गरिन्छन् )।

"हाम्रो देश त खत्तम भयो यार!!", एउटाले पीडा पोख्छ । "देश खत्तम हैन यार, सिस्टम खत्तम हो", अर्को अलिक जान्ने मान्छे भन्छ, "सबै नेताहरु भ्रस्ट मात्र छन्, कर्मचारीहरु त्यस्तै। देशको बारेमा कसैले पनि सोच्दैनन्, आफ्नै पेट भर्नतिर मात्र लाग्छन् । " आदी इत्यादी ।

यहाँ सिस्टम भनेको नेता, कार्यकर्ता र कर्मचारी मात्र हैन, हामी पनि पर्छौ । हामी यानी कि नेपाली जनता । सिस्टम बिगार्नुमा हाम्रो पनि कम योगदान छैन । कुनै काममा ढिलाई हुन्छ भने हामी राजनीतिक नेता गुहार्छौ र परेमा घूस खुवाउन नि पछी पर्दैनौ । नियम मिच्न हामी अघी छौ, घूस खुवाएर भए पनि हामीलाई हाम्रो काम(गलत होस् या सही) पुरा हुनुपर्छ । चाहेको कुरा पुगेन भने आन्दोलनमा उत्रिन कसैले रोक्न सक्दैन हामीलाई । अर्कोले बन्द(आन्दोलन)गर्दा हामीलाई सास्ती हुन्छ, आफुले बन्द(आन्दोलन) गर्दा अरुलाई पर्न जाने सास्तिको बारेमा सोच्नु पर्दैन ?

राजनीतिक दलहरु, सडक र सदनको खेल खेल्न ब्यस्त छन्। जबसम्म सदनमा हुन्छन्, कानमा तेल हालेर बस्छन् । यही बेला हो भनेर राष्ट्रको ढुकुटी आफ्नो बनाउनतिर ब्यस्त हुन्छन् र सडककाहरु सदनमा भएकाको बिरोध गर्छन्, कुनै राम्रो काम शुरु गर्न आँटे अवरोध सिर्जना गर्छन् । निकम्मा सदनकाहरुको पालो पुगेपछी सडकमा आउँछन्, हामीलाई केही गर्नै दिएनन् भन्छन्, फेरी उही पहिले सडकमा भएकाले गरे जस्तै रीत दोहोर्याउँछन् । यही रमिता हेर्दै र तिनिहरुलाई सराप्दै बस्छन् जनताहरु ।

मैले हिमाली किरण ज्यु र सदिप सुमन भुजेल ज्युकाका शब्दहरु सापटी लिएँ, नेता र राजनीतिको परिभाषा दिन, "राज्यको नेतृत्व (वा सम्बन्धित)का लागि गरिने क्रियाकलाप नै राजनीति हो", "कुनै पनि समूह लाइ नायकत्व प्रदान गर्ने लाइ नेता भन्ने गरिन्छ ।" "राज == राज्यको, निती == अनुशासनमा बाँध्ने कडी । नेता== अरुलाई सही मार्ग देखाउन सक्ने, जाने बुझेको मान्छे । "

नेता अर्थात LEADER सँग हाम्रो सानोदेखी नै घनिस्टता हुन्छ । घरको मुली, नेता ; स्कूलमा क्लास मनिटर, नेता; कुनै समुह प्रमुख, नेता; अफिसको प्रमुख(BOSS) , नेता । यदी माथि उल्लेखित कुराहरु हामी आँफै हौ भने, या हामीले आफ्नो कृयाकलाप आँफै सम्हाल्छौ भने, हामी नि नेता । तर हाम्रो दिमागमा 'नेता' भन्नासाथ राजनितिक नेता नै आउँछ, नानीदेखी लागेको बानी ।

गिरिश पोख्रेल ज्युको भनाइ पनि यहाँ राख्न चाहन्छु, "राजनीति र नेता भनेका दुवै नभइ नहुने हुन् जहाँ राजनीति हुन्छ त्यहाँ नेता हुन्छ । नेता गतिलो र अगतिलो हुनु अर्को पक्ष हो । राजनीतिलाई सही बाटोमा लैजानका लागि दूरदर्सी नेता चाहिन्छ । हामी नेपालीहरुले त्यस्ता दूरदर्शी नेता नपाएका कारण सताब्दियौंदेखि दुःख पाइरहेका छौं । अर्को कुरा नेता बनाउने पनि हामी तर बनाइसकेपछि नेता सधैं नेताकै सानमा रहन चाहन्छ त्यो नेता सक्षम भएन भने पनि नागरिकहरुले नपत्याए पनि एकपटक नेता बनेको हुँ भन्दै त्यो नागरिक हुन जान्दैन त्यसले गर्दा त्यस्ता नेताले मुलुक पुनः डुवाउने बाहेक केही गर्न सक्दैनन् ।" अलिक थपें, जहाँ नेता हुन्छ त्यहाँ निती(PLANNING) हुन्छ, फरक यती हो सबैको फरक फरक हुन्छ, नेतानुसार । त्यो निती या त नेताको आफ्नै हुन्छ, या उस्ले सबैसित सल्लाह लिएर बनाएको पनि हुन्छ । राज्यको लागि हो भने 'राजनीति' र अन्य ठाउँको लागि छुट्टै नाम हुनसक्छ ।

किरणले भने झै अब यो देशलाई देशभक्त तानाशाहको खाँचो छ । तर त्यो कहिले जन्मिन्छ, कुनै दैविक चमत्कार त हुँदैन र त्यो आशमा बस्यौ भने मुलुकले अझै ठुलो क्षति बेहोर्ने निश्चित छ ।

'निती'(PLANNING) त हामीले धेरै ठाउँमा प्रयोग गरिरहेका हुन्छौ बिभिन्न रुपमा, तर राजनीति यदी बुझ्दैनौ या चासो राख्दैनौ भने देशको बल्झिएको स्थिती अझै पनि बल्झिने निश्चित छ । राजनीतिको बारेमा जानकार हुनु र चासो राख्नु भनेको राजनीति गर्नु हैन, देशमा र बिदेशमा के के भईरहेको छ र कसरी आफ्नो तर्फबाट सहयोग गर्न सकिन्छ, त्यो कुराको बारेमा चनाखो हुनु हो । यसबारेमा हामी सजग हुन जरूरी छ ।

(((यो लेखमा प्रयोग भएका केही विचारहरु(विभिन्न साथीहरुले मेरो Facebook STATUS मा कमेन्ट गर्नुभएको) बाहेक बाँकी मेरो नितान्त व्यक्तिगत धारणा हो । हुन सक्छ, यी भाव कसैका लागि गलत पनि!!! त्रुटिहरु भए अवस्य खबरदारी गर्नु हुनेछ भन्ने आशामा । )))

अस्तु!!

Tuesday, April 27, 2010

गजल..... अब लेख्दिन भो !!

जून तारा मात्रै झार्ने, गजल अब लेख्दिन भो ।
मुग्लानीको पीडा खार्ने, गजल अब लेख्दिन भो ।

माया लेखे प्रीति दुख्छ, कथा लेखे व्यथा दुख्छ,
जे लेखे नि सुख बार्ने, गजल अब लेख्दिन भो ।

भिर लेखे पाखा मर्छ, गीत लेखे भाखा मर्छ,
यौटा बचाइ अर्को मार्ने गजल अब लेख्दिन भो ।

जिन्दगी यो खेल न हो, कोही जित्छ कोही हार्छ,
यौटा जित्दा अर्को हार्ने गजल अब लेख्दिन भो ।

Tuesday, April 13, 2010

गजल --- हेर नयाँ बर्ष आयो ।

कोइली गायो वन सुसायो, हेर नयाँ बर्ष आयो ।
खुशी ल्यायो मन रमायो , हेर नयाँ बर्ष आयो ।

वसन्तको आगमन छ, हरियाली चारैतिर,
पालुवाले जीवन पायो, हेर नयाँ बर्ष आयो ।

सपनाका महलहरु, सजिदैं छन् सजाउँदै छन्,
उमङ्गको बाढी ल्यायो, हेर नयाँ बर्ष आयो ।

शान्ती छावोस् दुनियाँमा, हाँस्दै रम्दै बितोस् जीवन,
मेरो मनले यही चाह्यो, हेर नयाँ बर्ष आयो ।

Sunday, April 11, 2010

क्रिशोलको कविता गजलिकरण !!!


अन्यौलको सम्बन्ध यो, बाचा गरुँ कसरी म
लगन हाम्रो जुर्या छैन, सिउँदो भरुँ कसरी म

यथार्थमा ज्युँनु पर्ने, जिन्दगीको चलन यही,
झुटा कसम्, खाइ भ्रमको, बीज छरुँ कसरी म

सिकायौ नि तिमीले नै, प्रेमपथमा हिंड्न मलाई,
साउने भेल सरि माया, उर्ल्यो तरुँ कसरी म

पिंजडाको पंक्षि हुँ म, उडी आउन पाउँदिन नि,
तिम्रो गाउँतिरै डेरा, भन सरुँ कसरी म

यौवन साट्न प्यास मेट्न, नचाहेको हैन मैले,
तिम्रा मन्का खाली पाना, माया भरुँ कसरी म

Sunday, April 4, 2010

गजल दोहोरी (सुजि)

(सुरेश बोरोले तथानाम सुना'को र सालीको लोभ देखाएको स्थितिमा फुरेको गजल !!!)

हरेक तिम्रा शब्द मैले,सधै भरी सुनेकै छु !!
कसम मित्रताको दिगो,डोरो मैले उनेकै छु !!

बाटो बिराउँदा गाली, राम्रो काममा ताली देउ,
सच्चा साथी एक भनी,तिमी लाई चुनेकै छु

चाहे भनुँ 'फटाहा' या,हानौ शब्दबाण अरु,
मित्रताको मिठो कैदमा, तिमीलाई थुनेकै छु !!

खुशी मात्र होइन उस्ले, आँशु पनि बाडिदिन्छ,
असल मित्र चिनारी यै, मन मनै गुनेको छु !!

भाउजुलाई भन तिमी, बैनी चाँडै खोज भनी,
तिम्रै साली फकाउने, सपना नि बुनेकै छु !!
---------------------------------


सुरेश ब्रो को गजल !!!("जितेले आज फेरी गजल लेखन वाध्य बनायो")
---------------------------------
सुने तिम्रा गजल अनि सुने तिम्रा गाली पनि,
खेदो खन्छु साथी तिम्रो गजल बागको माली पनि !!!

कहिले मेरा शब्द बन्लान तिम्रा लागि अर्थ दिने,
कैले होलान "फटाहा" ती कहिले फूलको डाली पनि !!

सधै बखान मात्रै हैन, सुन्ने गर निन्दा पनि,
गाली मात्रै हैन साथी, दिन्छु म त ताली पनि !!

मित्रता नै नभएमा तिमी साथी कहाँ रह्यौ ,
साथिविना बेकार लाग्छ मन्दिर जाँदा थाली पनि !!

मान्छौ साथी मलाई भने सुन्नै पर्छ मेरा शब्द,
फकाउनलाइ सक्छौ भने दिउँला म त साली पनि !!!! ....साली त भए पो दिनु ?