Sunday, April 4, 2010

गजल--- यसरी गजल बन्छ !!!

मुटु भरी वेदना ले , आशु झार्दा गजल बन्छ !!
यो मनले त्यो मनमा, डेरा सार्दा गजल बन्छ !!

सुख दु:ख सँगम जीवन, भन्छन भन्ने हरु तर ,
दु:खरुपी तुवाँलोले, सुख बार्दा गजल बन्छ !!

अन्धकारमै हराएर, सारा जीवन जिउँदा जिउँदै,
उजेलिमा रम्ने झिनो, आश मार्दा गजल बन्छ !!

कि त पढि कि त परी , जानिन्छ रे भन्छन यहाँ ,
पिडासङ्गै जीवन अझै, सुनझै खार्दा गजल बन्छ !

जीवन भन्नु जुवा ठानी,खुशी सबै दाउमा राखी,
'जितु'ले नै जिन्दगीको, बाजी हार्दा गजल बन्छ !!

गजल--- दसैं बिशेष !!!


सँगैका ती साथीहरु, घर फिर्ने दिन गन्दै थिए !!
दसैं आयो दसैं आयो, सबै जना भन्दै थिए!!

बिमारीले छोयो कि त, उमङ्ग नै छैन कुनै,
छामे मुटु ढुकढुकीका, चालहरु मन्दै थिए !!

पंक्षि बनी उड्न पाउने, रहर मर्‍यो अनायासै,
विवशताका बलिया ती, ढोका सबै बन्दै थिए!!

फिर्नेहरु खुशी थिए, अरु भने सम्झी रोए,
सम्झनाका सुन्दर रास, मन मनै खन्दै थिए !!

((विजयादशमीको हार्दिक मंगलमय शुभकामना देशबिदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा । ))

संयुक्त गजल

तिम्रो लागि मेरो माया बेमौसमी फूल सरि !!
जानी जानी अन्जानमै गरिएको भुल सरि !!

मरुभुमी एकान्तमा,छट्पटिदा प्यासी बनी,
रसाएथ्यो हाम्रो माया,पानीको त्यो मुल सरि !!

काँध थापेँ संगै बाँच्न,सुख दु:ख साथ लिई,
बनायौ नि यही काँध,फड्को मार्ने पुल सरि !!

सपनाको महल मैले सजाएथे यो मुटुमा,
भत्काइदियौ साथ छोडि भयो त्यो काबुल सरि।।

स्थिर हुन जानिनौ नि सानी तिमी यो मायामा,
दिगो माया ढल्मलायो बतासिने तुल सरि !!

बग्छ भन्थे समय त, किन रुक्यो मेरै मात्र,
घरि घरि यही माया बिझाउँछ शूल सरि !!

मैले सम्झे हिरा मोती,स्वार्थी तिम्रो मायालाई,
चेते जब लत्याइदियौ पैतालाको धुल सरि !!

दैव तिम्रो खेला कस्तो के सोचेथे जिन्दगीमा,
टुट्यो 'आस्था'जब घोच्यो,मायाले त्रिशुल सरि!!
(सुरेश खतिवडा, दिनेश राज ज्ञवाली, सविन सिंह, प्रदीप चापागाईं, आस्था दाहाल, राज पन्त र म )

गजल--- बिन्ती !!!

त्यो मुटुमा तस्बिर मेरो, टाँस्न ब्यर्थै नखोज है !!
बुझ्दिन म मायाप्रिती, गाँस्न ब्यर्थै नखोज है !!

मायाको त्यो डोरी उनी,पिरतिको जाल बुनी,
आजादी यो तिमी मेरो, मास्न ब्यर्थै नखोज है !!

बालापन कतै छोड्यौ,जवानीको घुम्टो ओढ्यौ,
त्यस्कै तीरले यो मुटुमा, पास्न ब्यर्थै नखोज है !!

साथै जिउने मर्ने रहर, भन्छ्यौ डुलौ प्रेम नगर,
लोभलाग्दो दल्दलमा, भास्न ब्यर्थै नखोज है !!

निश्ठुरी नै सोच बरु, माया अर्कै खोज बरु,
भिजाएर परेली ती, हाँस्न ब्यर्थै नखोज है !!

Wednesday, March 31, 2010

लघुकथा --- बन्द !!!



प्रसव वेदनाले ग्रसित मेरी श्रीमतीलाई बोकेर एम्बुलेन्स एकनासले हुइकियो । मेरो घरमा नयाँ युगले पदार्पण गर्दैछ, मख्ख थिएँ म । "छोरो या छोरी ? नाम के राख्ने ? भबिस्यमा के बनाउने ?" आदी इत्यादी बिषय विगत केही दिन देखिका "हट केक" थिए मेरो घरमा ।

एम्बुलेन्सको ब्रेकले मलाई कल्पनाको सागरबाट बाहिरिन वाध्य गरायो । "जिन्दावाद ! मुर्दावाद ! हाम्रो माग पुरा गर !............................... "।  गन्तव्यमा पुग्न नपाएका साधनहरुको जमातलाई छिचोल्दै आएका यी चर्का नाराहरुले एम्बुलेन्सको साइरन र मेरी श्रीमतीको चिच्याईलाई विलिन गराइरहेका थिएँ । ड्राइभर बाहिर निस्केर आन्दोलनकारीहरु सित अनुनय गरिरहेको थियो , म पनि पुगें बिन्ती गर्न, "ईमर्जेन्सी छ हजुर, कृपया हामीलाई जान दिनुस् !!" "ल ल साथी हो, एम्बुलेन्सलाई जान दिउँ । " एउटा बोल्यो । "हो हो, एम्बुलेन्सलाई जान दिउँ !!" अर्कोले थपेपछी केही राहत महसुस गरें । एकजना अघि बढेर भन्यो, "यदी यो एम्बुलेन्सलाई जान दियौ भने त हाम्रो कडा'बन्द'को औचित्य नै रहेन नि । कसैलाई पनि छाड्न हुन्न साथी हो ।" अर्कोले सही थप्यो । निराशा एकातिर, आक्रोश अर्कोतिर, बन्द खुल्ने प्रतिक्षाको विकल्प रहेन । एकाएक मेरो श्रीमतीको मुहारमा चमक आयो, निभ्नु अघिको दियो जस्तै । मलिन स्वरमा आफ्ना  अन्तिम शब्द भनिन्, "मलाई माफ गर, मैले हाम्रो नयाँ युगलाई यो धर्तिमा पदार्पण गराउन सकिन । "
अर्को दिन, मेरो आक्रोशको ज्वालामा घिउ थप्ने काम गरे बिभिन्न दल, संगठनहरुले । "यो कुरालाई यसै छाड्नु हुन्न, हामी जवाफ अवस्य दिनेछौ ।" मैले केही सोच्न नपाउँदै, एउटाले भन्यो, "दुई दिन नेपाल बन्द !"
पहिलो दिन, टायर बालिए, कैयन् भौतिक संरचना ध्वस्त पारिए । दोस्रो दिन, पहिलो दिनका कृयाकलापहरु दोहोरिए । अर्को घटना, एउटा एम्बुलेन्स आएर हामी सामु रोकियो । एकजना मानिस रुँदै अनुरोध गर्दै थियो, "हजुर मेरो एक्लो छोरो सार्है बिरामी छ, हामीलाई जान दिनुस् । बेलैमा अस्पताल नपुर्याए मेरो सर्वस्व लुटिन्छ, म बर्बाद हुन्छु ।"

यो त्यही मान्छे थियो, जो अस्तिको बन्दमा कसैलाई छोड्न नहुने भन्दै चिच्याईरहेको थियो र उसैको हठले गर्दा मेरी दोजिया श्रीमतीको श्वास र मेरो रंगीन भबिस्यको कल्पना 'बन्द' भएको थियो ।