Tuesday, March 23, 2010

गीत --- अल्लारे माया !!!!


रिसले हो कि, लाजले हो, तर्की तर्की हेरी ।
हेर् न हेर् ओई, त्यो केटीले, फर्की फर्की हेरी ।

पैलो भेट्मै प्रेम मुना, पलायो कि क्या हो ?
प्रेमरोगले कोमल् मुटु, जलायो कि क्या हो ?
रिसाए झै गर्छन् अरे, माया गर्ने हरु ।
रिसमै माया छर्छन् अरे, माया छर्ने हरु ।

देखिस् कि त ? रिसाएर झर्की झर्की हेरी ।
अलि माया, मिसाएर फर्की फर्की हेरी ।

रिस भुलें माया सम्झें, माया जालमा परें ।
थाहै छैन यती चाँडो , यस्तो हालमा परें ।
खुल्दुली भो मन्मा धेरै, भन् न कसो गरौ ?
नाम् ठेगाना खोज् न केटा, उतै डेरा सरौ ।

ती नजरले कस्तो नशा, छर्की छर्की हेरी ।
लठ्ठै भएँ म त यार, फर्की फर्की हेरी ।

Thursday, March 18, 2010

मरुभुमी र फूलहरु !!!!

महल, सडक, गल्ली गल्ली सजाउन,
दिनहुँ आयात हुन्छन्,
हरिया देशबाट,
एक हुल फूलहरु,
यो मरुभुमिमा !!

बेमौसममा पनि एकनास सुवास फिजाउँन,
वाध्य गराइन्छन्, हुन्छन्,
अनेकन् भेशका,
लाचार फूलहरु,
यो मरुभुमिमा !!

त्यही सुवासमा हरेक साँझ हराउन,
लालायित हुन्छन् ,
बुर्ज अल अरब र,
बुर्ज खालिफाहरु,
यो मरुभुमिमा !!

असमर्थ फूल, महलको रौनक बढाउन,
फेरि निर्यात हुन्छन्,
त्यही हरियालिमा,
मुर्झाएका फूलहरु,
यो मरुभुमिमा !!

त्यही समय,
पुराना फूलको विकल्प,
फेरी आयात गरिन्छन्,
हरिया देशबाटै,
अर्को हुल फूलहरु,
यो मरुभुमिमा ।

Sunday, March 7, 2010

गजल ---- देश दुख्छ !

देशभक्ती काली खोंचमा, लुक्छ र त देश दुख्छ ।
गोर्खालिको ठाडो शिर, झुक्छ र त देश दुख्छ ।

चराहरु गुँड छाडी, लागे पश्चिम्, या त खाडी,
श्रमको मुल त्यो भुमिको, सुक्छ र त देश दुख्छ ।

भाई भाई फुट्न खोज्दा,घर भाँड्ने बाटो रोज्दा,
छिमेकिले लुकी मौका, ढुक्छ र त देश दुख्छ ।

पेट काटी पालेकै हौँ, काम गर्ला ठानेकै हौँ,
काम छाडि नानाथरी, भुक्छ र त देश दुख्छ ।

हत्या लुट छायो यहाँ, जन कवच गयो कहाँ,
प्रशासन अझै पनि, चुक्छ र त देश दुख्छ ।

Saturday, February 13, 2010

फेसबूकमा गजल दोहोरी!!


------------------------------------------------------
आवाज शर्मा जी को गजल !!!
------------------------------------------------------

लौ न आजै आँटम् साइँला , लर्के जोवन साटम् साइँला ।
गाउँमा हल्ला चलिसक्यो , झट्टै डाँडा काटम् साइँला ।।

सैँ साथीले चियो गर्छन् , छिमेकीले आँखा तर्छन् ।
हैन भनी छैन भनी , अझै कति ढाँटम् साइँला ??

घरमा माग्नी आइसके , लगन् टुङ्गो लाइसके ।
आजै राती भाग्नु जाती , के बहाना छाँटम् साइँला ।।

भाले बास्दा बेँसी झरम् , झिसमिसे मैँ खोली तरम् ।
जुनी जुनी नचुँडिनी , पिरिम् डोरो बाटम् साइँला ।।
---------------------------------------------------
मेरो उत्तर !!!
---------------------------------------------------
क्षणभरको खुशी बोकी, जुनीभरलाई रुन्न साइँली ।
आफन्तको नाक जान्छ, ऐल्यै भाग्न हुन्न साइँली ।

गर्नेहरु चियो गरुन् , आरिसले चाहे मरुन् ,
माया हाम्रो पिजडाँमा, सक्ने छैनन् थुन्न साइँली ।

माया तिम्रो लाउँछ धेरै, जुनी जुनी तिमी मेरै,
भर पर त्याग डर, पराइले छुन्न साइँली ।

गर्छु कुरा बाबा सित, गाउँघरको थामी रीत,
भित्र्याउनेछु तिमीलाई, थाल माला उन्न साइँली ।

----------------------------------------------------
आवाज शर्मा !!!
----------------------------------------------------
उड्ने चरी , जालमा पारी, माया पिरिम् ,बाट्यौ साइँला ।
भर पर ,भन्यौ तर, एक्लै डाँडा काट्यौ साइँला ।

बाबा सितै , माग्न जान्छु , यो लगनमा , पक्कै लान्छु ।
पोहोर पनि , यसै भनी , गफै मात्रै , छाँट्यौ साइँला ।।

पराइघरको , नासो हो रे , छोरी गला ,पासो हो रे ।
देवी भाकी , सिन्दुर राखी , न भगाउनै , आँट्यौ साइँला ।।

बाजा बजाई , आउँछु भन्थ्यौ , डोली चढाई , ल्याउँछु भन्थ्यौ ।
माला गाँसी , हाँसी हाँसी , पर्खी बसेँ , ढाँट्यौ साइँला ।।
-------------------------------------------------------
जितेन्द्र मल्ल
--------------------------------------------------------
मागे हात, सगुन् साथ, बाबाले नै टारे साइँली ।
चोखो पिरिम्, ला'को थिईम्, पालुवामै मारे साइँली ।

धाक लाए धनको नै, कदर थे'न मनको क्यै,
तिम्रो पासो, मेरो नासो, भन्दा भन्दै हारें साइँली ।

तिमी भन्छ्यौ डाँडा काट्यो, बाचा गरी गरी ढाँट्यो,
धन् कमाउन, तिम्लाई पाउन, डेरा बिदेश् सारें साइँली ।

कसम् खाइ मालाको त्यै, भन्छु फेरी पनि म यै,
सके डोली, नत्र झोली, भाग्न तयार पारे साइँली ।



आवाज शर्मा
---------
बाजले चरी , दागेसरी , बाला जोवन , दाग्यौ साइँला ।
जुनी जुनी , नछुटिनी , बाचा कसम , नाघ्यौ साइँला ।।

कुर्दा कुर्दै , तिम्रो बाटो , मेरो उमेर , ढल्नै आँट्यो ।
मलाई ढाँटी , डाँडै काटी , एक्लै किन , भाग्यौ साइँला ??

पाले पुन्य , मारे पाप , सुम्पिदिन्थे , मेरो हात ।
घरमै आई , रीति पु-याई , भन कहिले , माग्यौ साइँला ??

बनिबुतो , मेला जान्थेँ , बरु आँटो , पीठै खान्थे ।
धन कमाउन , मलाई पाउन , किन विदेश , लाग्यौ साइँला

जितेन्द्र मल्ल !!!
-------------
कसम थियो बाबाको त्यो, मैले जुन् निभाएँ साइँली ।
थाम्नु रीत हाम्रै हित, भन के बिराएँ साइँली ।

सङ्गिनिको बिहे खान, गा'की थियौ तिमी जान,
त्यही रात सगुन साथ, तिम्रो घर धाएँ साइँली ।

हुनेखाने घरकी हौ, दु:ख गर्न के पो सक्छौ,
फूल सरी जुनी भरी, सोचें राख्न पाए साइँली ।

जोबन तिम्रो ढल्केला कि, चिन्ताले मन् सल्केला कि,
मन भारी माया मारी, पराइ देश आएँ साइँली ।

गजल !!!

भावनाको खडेरीमा , सिर्जनाको नाम छैन ।
सपनामै खुशी हुन्छु , बिपनाको काम छैन ।

कल्पनाको गङ्गा लुक्यो, चेतनाको मुल सुक्यो,
कविता र गीत रुन्छन् , ओत दिने ठाम छैन ।

निशा सित माया प्रिती, चाँदनी नि बिना सित्ती,
उषाको नि आशा मर्यो, आँशु सेक्ने घाम छैन ।

वेदना यो मनैभरी, शान्ती खोजौ कसो गरी,
डुली हिड्छु पवन् सरी, चाहनाको गाम छैन ।

पुरा हुन्न कि कामना, खेर जान्छ कि साधना,
आस्था जाग्यो पूजा गर्ने, देवीको कोइ थाम छैन ।