Saturday, February 13, 2010

फेसबूकमा गजल दोहोरी!!


------------------------------------------------------
आवाज शर्मा जी को गजल !!!
------------------------------------------------------

लौ न आजै आँटम् साइँला , लर्के जोवन साटम् साइँला ।
गाउँमा हल्ला चलिसक्यो , झट्टै डाँडा काटम् साइँला ।।

सैँ साथीले चियो गर्छन् , छिमेकीले आँखा तर्छन् ।
हैन भनी छैन भनी , अझै कति ढाँटम् साइँला ??

घरमा माग्नी आइसके , लगन् टुङ्गो लाइसके ।
आजै राती भाग्नु जाती , के बहाना छाँटम् साइँला ।।

भाले बास्दा बेँसी झरम् , झिसमिसे मैँ खोली तरम् ।
जुनी जुनी नचुँडिनी , पिरिम् डोरो बाटम् साइँला ।।
---------------------------------------------------
मेरो उत्तर !!!
---------------------------------------------------
क्षणभरको खुशी बोकी, जुनीभरलाई रुन्न साइँली ।
आफन्तको नाक जान्छ, ऐल्यै भाग्न हुन्न साइँली ।

गर्नेहरु चियो गरुन् , आरिसले चाहे मरुन् ,
माया हाम्रो पिजडाँमा, सक्ने छैनन् थुन्न साइँली ।

माया तिम्रो लाउँछ धेरै, जुनी जुनी तिमी मेरै,
भर पर त्याग डर, पराइले छुन्न साइँली ।

गर्छु कुरा बाबा सित, गाउँघरको थामी रीत,
भित्र्याउनेछु तिमीलाई, थाल माला उन्न साइँली ।

----------------------------------------------------
आवाज शर्मा !!!
----------------------------------------------------
उड्ने चरी , जालमा पारी, माया पिरिम् ,बाट्यौ साइँला ।
भर पर ,भन्यौ तर, एक्लै डाँडा काट्यौ साइँला ।

बाबा सितै , माग्न जान्छु , यो लगनमा , पक्कै लान्छु ।
पोहोर पनि , यसै भनी , गफै मात्रै , छाँट्यौ साइँला ।।

पराइघरको , नासो हो रे , छोरी गला ,पासो हो रे ।
देवी भाकी , सिन्दुर राखी , न भगाउनै , आँट्यौ साइँला ।।

बाजा बजाई , आउँछु भन्थ्यौ , डोली चढाई , ल्याउँछु भन्थ्यौ ।
माला गाँसी , हाँसी हाँसी , पर्खी बसेँ , ढाँट्यौ साइँला ।।
-------------------------------------------------------
जितेन्द्र मल्ल
--------------------------------------------------------
मागे हात, सगुन् साथ, बाबाले नै टारे साइँली ।
चोखो पिरिम्, ला'को थिईम्, पालुवामै मारे साइँली ।

धाक लाए धनको नै, कदर थे'न मनको क्यै,
तिम्रो पासो, मेरो नासो, भन्दा भन्दै हारें साइँली ।

तिमी भन्छ्यौ डाँडा काट्यो, बाचा गरी गरी ढाँट्यो,
धन् कमाउन, तिम्लाई पाउन, डेरा बिदेश् सारें साइँली ।

कसम् खाइ मालाको त्यै, भन्छु फेरी पनि म यै,
सके डोली, नत्र झोली, भाग्न तयार पारे साइँली ।



आवाज शर्मा
---------
बाजले चरी , दागेसरी , बाला जोवन , दाग्यौ साइँला ।
जुनी जुनी , नछुटिनी , बाचा कसम , नाघ्यौ साइँला ।।

कुर्दा कुर्दै , तिम्रो बाटो , मेरो उमेर , ढल्नै आँट्यो ।
मलाई ढाँटी , डाँडै काटी , एक्लै किन , भाग्यौ साइँला ??

पाले पुन्य , मारे पाप , सुम्पिदिन्थे , मेरो हात ।
घरमै आई , रीति पु-याई , भन कहिले , माग्यौ साइँला ??

बनिबुतो , मेला जान्थेँ , बरु आँटो , पीठै खान्थे ।
धन कमाउन , मलाई पाउन , किन विदेश , लाग्यौ साइँला

जितेन्द्र मल्ल !!!
-------------
कसम थियो बाबाको त्यो, मैले जुन् निभाएँ साइँली ।
थाम्नु रीत हाम्रै हित, भन के बिराएँ साइँली ।

सङ्गिनिको बिहे खान, गा'की थियौ तिमी जान,
त्यही रात सगुन साथ, तिम्रो घर धाएँ साइँली ।

हुनेखाने घरकी हौ, दु:ख गर्न के पो सक्छौ,
फूल सरी जुनी भरी, सोचें राख्न पाए साइँली ।

जोबन तिम्रो ढल्केला कि, चिन्ताले मन् सल्केला कि,
मन भारी माया मारी, पराइ देश आएँ साइँली ।

गजल !!!

भावनाको खडेरीमा , सिर्जनाको नाम छैन ।
सपनामै खुशी हुन्छु , बिपनाको काम छैन ।

कल्पनाको गङ्गा लुक्यो, चेतनाको मुल सुक्यो,
कविता र गीत रुन्छन् , ओत दिने ठाम छैन ।

निशा सित माया प्रिती, चाँदनी नि बिना सित्ती,
उषाको नि आशा मर्यो, आँशु सेक्ने घाम छैन ।

वेदना यो मनैभरी, शान्ती खोजौ कसो गरी,
डुली हिड्छु पवन् सरी, चाहनाको गाम छैन ।

पुरा हुन्न कि कामना, खेर जान्छ कि साधना,
आस्था जाग्यो पूजा गर्ने, देवीको कोइ थाम छैन ।

Saturday, January 16, 2010

गजल---- पिरतिमा !!!

आकाशका जून तारा, झर्छन् अरे पिरतिमा !!!
सयौं चोटि प्रेमीहरु, मर्छन् अरे पिरतिमा !!!

कस्लाई थाहा भरे यहाँ, के हुने हो- तर पनि,
साथै ज्युँने मर्ने बाचा, गर्छन् अरे पिरतिमा !!!

मायालुको साथ पाए, भुली सारा संसार नै,
प्रेमनगर तिरै डेरा, सर्छन् अरे पिरतिमा !!!

यथार्थको धरातल, छाडि कतै बिरानीमा, ,
कल्पनाको सागर बरु, तर्छन् अरे पिरतिमा !!!

चोखो माया प्रेम यहाँ, कस्ले बुझ्छ कस्ले गर्छ,
देखावटी मायाकै भर् , पर्छन् अरे पिरतिमा !!!

Tuesday, January 12, 2010

लघुकथा--- बाध्यता !!

मेहनती, ईमान्दार र मितव्ययी , यी तीन उस्का पर्यायवाची शब्द । कामको लागि दिनरात भन्दैन थियो । समय समयमा घर पैसा पठाइरहन्थ्यो, भन्थ्यो, " म बाहेक कोही छैन घरमा कमाउने, पैसा पठाएन भने चुल्हो पनि बल्दैन । "

धेरै भएको थियो मैले उस्लाई नभेटेको । परदेश न पर्यो, आफ्नो समय नै 'कम्पनी' सँग धितो राख्नुपर्ने बाध्यता । एक दिन फुर्सत मिलाएर फोन गरे उस्लाई । मधुरो आवाजमा उस्ले मलाई बेलिबिस्तार लगायो र भेट्न बोलायो । म पनि चुपचाप उस्लाई भेट्न गए ।

भेट्नु अगावै बाहिरबाट नै आवाज सुने उसैको, शायद फोनमा कुरा गर्दै थियो, 'म सञ्चै छु आमा, मेरो केही चिन्ता नमान्नुहोला । म बेला बेलामा पैसा पठाइरहन्छु है ।...................... '

यसो भन्दै गर्दा ऊ अस्पतालको शैय्यामा जिन्दगीका अन्तिम दिनहरु जिउँदै थियो !!!!

Tuesday, January 5, 2010

सुजी == सुरेश खतिवडा + जितेन्द्र मल्ल, को संयुक्त गजल!!!

क्षितिजपारी त्यो गाउँको बाटो भेटिएन !!
यो शहरमा खोजे आफ्नो माटो भेटिएन!!

चस्स किन दुख्यो भनी मुटु छामी हेरे ,
एउटा थियो तर अर्को पाटो भेटिएन !!

बिहानीको झुल्कासँगै, झाँके यता उती,
आफन्तको झल्को दिने टाटो भेटिएन!!

नयाँ पिडा साह्रै दुख्ने, जाती पुराना नै,
छामी हेरेँ घाऊ उही खाटो भेटिएन !!

हेर्छु सधैं उही गल्ली, ब्यथा उस्तै उस्तै,
डेरा सार्न खोजे अन्तै साटो भेटिएन !!