Tuesday, April 23, 2019

गजल कसरी लेख्ने ? सिकारूका लागि गजल लेख्ने तरिका


गजल के हो र कसरि लेखिन्छ? गजल लेख्दा के के कुरामा ध्यान दिनु पर्छ?

साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्व काल देखिनै चल्दै आएको विधा हो । गजलको उद्गम स्थल अरब भूमिलाई मानिन्छ । विशेषतः फारसी, उर्दू, हिन्दी हुँदै नेपालीमा आएको पाईन्छ । अरबी भाषामा ग को अर्थ वाणी ज को अर्थ नारी र अलको अर्थ को वा सँग हुन्छ । गजलको नामाकरण कसरी गरियो यसको एउटै उत्तर भेटिर्दन तर पनि अर्थ भने प्राय सबैले एकै किसिमका गरेका छन् । गजलको शाब्दिक अर्थ प्रेमिकासँगको कुराकानी,स्त्रीको वाणी, प्रेमिकाका विषयमा कुराकानी, प्रणयवार्ता, यौवना नारीको वर्णन गर्नु,प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । फारसी भाषामा गजलको अर्थ नारीका कुरा हुन्छ । केही विद्धानहरुको तार्किक मान्यता गजल फारसी शब्द हो,जसको तात्पर्य प्रणय प्रधान गीत हो । वास्तवमा गजलको खास अर्थ नै प्रेम हो भन्ने तर्क प्राय सबै विद्धानहरुले जिकिर गरेका छन् ।

नेपाली शब्दकोषका अनुसार प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी वा त्यसै छन्दमा लेखिएको कविता नै गजल हो । उर्दू र हिन्दी शब्दकोषले प्रेमिकासँग कुराकानी भन्ने अर्थ दिएका छन् । विद्धानहरुले आ–आफ्नै किसिमले गजलको परिभाषा दिएका भए पनि निष्कर्षमा गजल भनेको प्रेमलाई समेटेर निश्चित लय र तालमा लेखिने कविता हो भन्ने बुझ्न सकिन्छ । गजल बारे नेपालको सन्र्दभमा भन्नु पर्दा मोतिराम भट्टले विक्रम सम्वत् १९४० साल तिर भित्र्याएको भएता पनि त्यसलाई निरन्तरता दिने काम भने भिमनीधि तिवारी, आँसुकवि शम्भु प्रसाद ढुङ्गेल,उपेन्द्र बहादुर जिगरले निरन्तरता दिएका थिए । प्राथमिक काल र माध्यमिक कालतिर गजलले कुनै पनि नयाँ मोड दिन नसकेता पनि महत्वपूर्ण देन दिएको पाइन्छ । आज सम्म आईपुग्दा गजल हामी सबैमा भिजी सकेको विधा हो । तसर्थ नेपाली साहित्याकाशमा गजल विधाले राम्रै फट्को मार्न सफल रहेको छ ।

वास्तवमा गजल कस्तो हुनुपर्दछ यसमा विद्धानहरुको आ–आफ्नै मान्यता भए पनि साझा मान्यताका रुपमा निम्न कुराहरु अगाडि सारेका छन् । गजल संरचनाका हिसाबले प्राविधिक विधा हो भने भावका हिसाबले अत्यन्तै संवेदनशील विधा हो । गजलमा भाव र विम्बको जसरी अपेक्षा गरिन्छ, त्यससँगै शब्दगत सरलता, कोमलता, हार्दिकता, जीवन्तता, लयात्मकता र संप्रेषणीयता हुनु पनि उत्तिकै आवश्यक हुन्छ । श्रुतिकटु, अश्लिल, दुरुह, क्लिट, अभद्र, अपमान तथा अनादारवाची शब्दहरु गजलमा मान्य हुँदैन । गालीपनि मीठो शब्दले गर्न जान्नु पर्दछ । प्राविधिक विधा भएकै कारण संरचनामात्र यसको प्रमुख कुरा भने होईन । भाव, विम्ब र शिल्पमात्र पनि जरुरी होईन । गजलमा रहेका आन्तरिक संरचना र वाह्य संरचनामा सचेतता अत्यन्त आवश्यक कुरा हुन् । यिनीहरुको उचित समायोजनबाट मात्र सुन्दर गजल जन्मन सक्छ । गजलका विषयवस्तुका बारेमा जति चर्चा परिचर्चा भए पनि वाचन गरिने, छापिने र गाइने गजल फरक हुन सक्दैनन् । समग्रमा गजल एउटे किसिमका हुनु पदर्छ । गजल हुनलाई के के तत्वहरुको भूमिका रहेको हुन्छ त्यो जान्नु अति आवश्यक छ । गजल हुनलाई चाहिने मुलभुत तत्वहरु निम्न छन् ।

१. शेर :–

गजलमा शेर एक प्रमुख तत्व मानिन्छ गजल भन्नुनै शेरहरुको समष्टि रुप हो । एक शेरमा दुई पङ्क्ती हुन्छन् । शेरको पहिलो पङ्क्तीलाई मिसरा ए उला र दोश्रो पङ्क्ती मिसरा ए सानी भनिन्छ । शेरको एउटा मिसरा कम्तिमा पनि छ अक्षर हुनै पर्दछ । त्यसमा दुई रुक्न अनिवार्य मानिन्छ । सबै भन्दा सानो रुक्न तीन अक्षरको हुन्छ । हरेका शेरको मिसरा ए उलाले कुनै पनि विषय वस्तुको उठान गर्दछ र मिसरा ए सानीले त्यसलाई पुष्टि गर्नु पर्दछ । गजल प्रायः पाँच शेरका हुन्छन् तर चार देखि तेह्र शेर सम्म लेखिएका गजलहरु पनि यदाकदा पाईन्छन । विषय वस्तु प्रस्तुतीका दृष्टिले गजल मुलत दुई प्रकारका हुन्छन ।

क. मुसलसल गजल :–

एउटा गजलका सम्पूर्ण शेरहरुमा एउटै विषय वस्तुलाई प्रस्तुती गरेको भने त्यस्तो गजललाई मुसलसल गजल भनिन्छ । जस्तैः

किन दौडिएँ यति जोडले सपना कहाँ छुन सक्छु र ?


सपना यता, विपना उता भन रोज्ननै कुन सक्छु र ?

सपना छुने भनि दौडिँदा कुन मोडमा विपना छुट्यो,


सपना छुट्यो विपना छुट्यो अब के खुशी हुन सक्छु र ?

सपना कहाँ जिउँदै रह्यो जब भिडमाझ म एक्लिएँ,


सुख–दुःखको सपना थियो भनि सम्झँदै रुन सक्छु र ?

कति अल्झिएँ कति बल्झिएँ सपना र यो विपना भनि,


अब जिन्दगी नवमोडमा कसरी पु¥याउन सक्छु र ?


–सप्रेम अर्चना सपना कहाँ छुन सक्छु र ?

सप्रेम अर्चनाद्धारा रचित यो गजलमा चार शेर छन् र चारै शेर स्वतन्त्र एवंम् आफैमा पूर्ण छन् । तर सबै शेरहरुले समेटेका भावभूमी एउटै छ । तसर्थ यो गजल मुसलसल गजल हो ।

ख. गैरसलसल गजल :–

एउटा गजलका शेरहरुले विविध विषय वस्तुलाई समेटेका छन भने त्यस्तो गजललाई गैरमुसलसल गजल भनिन्छ । जस्तैः

मिले साट्न मेरो कहानी म साट्थे,


दिई यो बुढोपन् जवानी म साट्थे ।

कुनै शान्ति, सन्तोषको गाँउ पाए,


खुला भ्रष्ट यो राजधानी म साट्थे ।

मथी निस्किए स्वस्थ नौनी–विचार


पुरातन्य ठेकी, मदानी म साट्थे ।

म निस्सासिएको छु निष्पट्टतामा,


दिई रात नौलो विहानी म साट्थे ।

कतै स्निग्ध सौजन्य पाए रमाई,


अहंङ्कारको यो निशानी म साट्थे ।

विनाराग निद्र्धन्द्ध भै बाँच्न पाए,


कसैसँग यो जिन्दगानी म साट्थे ।।


–गोविन्दराज विनोदी

गोविन्दराज विनोदीद्धारा रचित यो गजलका सबै शेरहरु पूर्ण भएर पनि प्रत्येक शेरहरुले भिन्ना भिन्नै विषय बस्तु बारे बोलेका छन् । तसर्थ यो गजल गैरमुसलसल गजल हो ।

२. काफिया :–

काफिया अरबी भाषाको पुलिङ्गी शब्द हो । यसको अर्थ बारम्बार आउनु भन्ने हुन्छ । यो गजलको अनिवार्य तत्व हो । काफिया बिना गजलको विधागत पहिचान हुन सक्दैन । यस अर्थमा गजलको विधागत पहिचानको एउटा महत्वपूर्ण तत्व पनि हो । तुक मिलेको शब्द,शब्दांश या अक्षर नै काफिया हो । यो रफिद भन्दा ठिक अगाडि आउँछ । शेरहरुमा काफियाको पुनरावृति नहुनु नै राम्रो मानिन्छ । काफिया बिना गजल बन्दैन तर काफिया मिल्दैमा पनि गजल हुँदैन । काफियामा स्वर मात्राको समानता हुनु पर्दछ । काफिया अनुप्रासयुक्त हुनु पर्दछ अथवा तुक नमिलेको शब्द,शब्दांश या अक्षरलाई काफिया बनाउनु हुँदैन । संरचनाका आधारमा काफियाहरु चार प्रकारका हुन्छन् ।

क. पूर्ण शब्द काफिया :–

सिङ्गा शब्द नै काफियाका रुपमा प्रयोग भएका छन भने त्यस्ता काफियालाई पूर्ण शब्द काफिया भनिन्छ । जस्तैः

१ गर्न, हर्न, तर्न, मर्न, छर्न, झर्न,


२ काम, माम, दाम, नाम, लाम, खाम


३ हुने, रुने, धुने, छुने

ख. आंशिक काफिया :–

शब्द भित्रको एक अंश मात्र काफियाका रुपमा प्रयोग भएको छ भने त्यस्ता काफियालाई आंशिक काफिया भनिन्छ । जस्तैः

१ पाएर, भेटेर, देखेर, लुटेर, फुकेर, ढाटेर


२ बताऊ, लडाऊ, उठाऊ, नचाऊ, पठाऊ


३ मायालु, दुधालु, बैशालु, कृपालु, खर्चालु, विषालु

ग. एकाक्षरी काफिया  :–   

एक अक्षरमात्र काफियाका रुपमा प्रयोग भएको छ भने त्यस्तो काफियालाई एकाक्षरी काफिया भनिन्छ । जस्तैः

१ यो, त्यो, हो, पो, को, भो


२ बिराई, मेटी, दुःखी, भनी, आई


३ लगाव, लाम, भाग, हिड, बस, खोज

घ. मिलित काफिया :–

समस्वरात्मक दुईवटा फरक शब्द वा तिनका अंश मिलेर बन्ने काफियालाई मिलित काफिया भनिन्छ । जस्तैः

१ जाग्छ, दाग छ, भाग्छ, माग छ, नाच्छ काग छ


२ पियो, सियो, नदी यो, कति यो, दियो, भरी यो


३ जगत, फगत, मन त, रगत, अब त

नोट :– स्वरुपका आधारमा काफियाहरु चार प्रकारका भए पनि प्रयोगका आधारमा भने पाँच प्रकारका हुन्छन् । एउटै गजलका शेरहरुका पूर्ण शब्द काफिया र शब्दांश काफिया मिश्रित रुपमा प्रयोग भएको छ भने यस्तो गजललाई मिश्रित काफियायुक्त गजल भनिन्छ । जस्तैः

१ सिरानी पानी, दानी, जवानी, कहानी, सानी


२ घर, खण्डहर, भर, नजर, कर, खबर, निर्झर


३ बताउँ, गाउँ, सुनाउँ, साउँ, ठाउँ आदि ।

३. रफिद :–

यो पनि अरबी शब्द हो । यसको अर्थ अनुगामी हुन्छ । मतलाका दुवै मिसरा र अन्य शेरहरुका मिसरा ए र सानीको अन्तमा प्रयोग हुने उही पद वा पदावलीलाई रफिद भनिन्छ । रफिद कम्तिमा एक शब्द देखि तीन शब्द सम्मको हुनु शास्त्रीय दृष्टिले उचित मानिन्छ । रफिद काफियाको ठिक पछाडि प्रयोग हुन्छ तर यो गजलको अनिवार्य तत्व भने मानिदैन । यसको प्रयोगले गजलको सौर्दय प्रशासनमा महत्वपूर्ण भूमिका खेल्ने र गायनमा श्रुतिमधुरता समेत थपिने हुनाले अधिकांश गजलकारहरु यसलाई त्याग्न सक्दैनन् ।

रफिदको प्रयोगका आधारमा गजल दुई प्रकारका हुन्छनः

क. मुद्दरफ गजल :–

जुन गजलमा रफिदको प्रयोग भएको छ त्यो गजललाई मुद्दरफ गजल भनिन्छ । जस्तैः

हिजो आज मेरो आफ्नै रहर बिरानो भो,


बस्ति बसाउ भने यहाँ शहर बिरानो भो ।

माथि प्रस्तुत गजलमा बिरानो भो रफिदका रुपमा प्रयोग भएको छ ।

ख. गैरमुद्दरफ गजल :–

जुन गजलमा रफिदको प्रयोग भएको हुँदैन त्यस्तो गजललाई गैरमुद्दरफ गजल भनिन्छ । जस्तैः

विश्वासमाथि धोका हुँदा चोखो पिरतीमा,


श्रावण भदौ भा’छ मेरो मनको बलेसीमा ।

माथि प्रस्तुत गजलमा रफिदको प्रयोग भएको छैन ।

४. मतला :–

यो पनि अरबी शब्द हो । मतलाको अर्थ प्रारम्भ या सुरुवात भन्ने हुन्छ । गजलको पहिलो शेर वा पहिलो दुई हरफलाई मतला भनिन्छ । यसको दुबै मिसरामा काफिया र रफिदको प्रयोग हुन्छ । जस्तैः

सबै छन् सुतेका जगाए हुँदैन ?


तिमी फूल हौ मग्मगाए हुँदैन ?

५. मक्ता :–

यो पनि अरबी शब्द हो । मक्ताको अर्थ समापन अर्थात समाप्ति भन्ने हुन्छ । गजलका सन्दर्भमा मक्ता भन्नेबित्तिकै गजलको शेर समाप्ति शेर भन्ने बुझिन्छ । कतिपय गजलकारहरुले जुन शेरमा तखल्लुस प्रयोग भएको छ त्यसलाई मात्र मक्ता भनेको पाइए पनि मक्ता शब्दको अर्थ नै अन्त्य भएकोले तखल्लुस प्रयोग भए पनि नभए पनि गजलको अन्तिम शेरलाई मक्ता भनिन्छ । नेपालीमा यसलाई अन्तिम शेर पनि भनिन्छ । जस्तैः

साँची राख्नु चोखो सिउँदो मेरो प्रतिक्षामा,


हृदयमा तिम्रै माया भरी रा’छ नानीमाया ।।

–भानु शर्मा बिरही

६. तखल्लुस :–

जलमा प्रयोग गरिने श्रष्टाको छोटो नाम या उपनामलाई तखल्लुस भनिन्छ । गजलमा गजलकारले तखल्लुस प्रयोग गर्न पनि सक्छ नगर्न पनि सक्छ । तखल्लु प्रयोग भएको मक्ताको यो शेरः

सपनाहरु तुहाइए रिक्ततामा फर्के भने,


बिन्ती ‘किशमा’बाट टाढा हुन नखोज ।।


–किसमा किशोर

म भन्दै थिए हे हरी होस राखे,


नजरबाट ‘मोती’ पनि झर्न लागे ।।


–मोतीराम भट्ट

माथि प्रस्तुत दुबै गजलका मक्ताको शेरमा ‘किशमा’ र ‘मोती’ तखल्लुसका रुपमा प्रयोग भएको छ ।

७. बहर :–

बहर गजलको सर्बोच्च अनसशासन हो । बहर भनेको छन्द हो । कुनै न कुनै छन्दमा बन्धित हुनु गजलको शास्त्रीय मान्यता हो । गजलमा प्रयोग हुने फारसी वा उर्दू शास्त्रीय लयलाई बहर भनिन्छ । अर्थात् गजलमा प्रयोग हुने लयविधान नै बहर हो । तर अक्षरको संख्या भने एउटै हुनु पर्दछ र नै सुन्दर लयको सिर्जना हुन्छ भन्ने केही विद्धानहरुको मान्यता छ भने कसै कसैले लय मिल्नु पर्छ मात्रा नै सबैथोक होईन भन्ने पनि गरेको पाईन्छ ।

स्रोत : chukuprakash.blogspot.com

Monday, November 19, 2018

खत्तम भयो

भट्टी पसियो खल्ती रित्तियो, खत्तम भयो ।
किन्नुपर्ने सूचीमा रासन थियो, खत्तम भयो  ।

नपाउन्जेल त केवल गुनासो थियो नपाएको,
पाएपछि गुमाउने डर थपियो, खत्तम भयो ।

आँधीसँग लड्ने हिम्मत जुटाए'थ्यो दियोले,
ठ्याक्कै यै बेलामा तेल सकियो, खत्तम भयो ।

लेख्न त धेरै लेख्यो होला, भाग्यमा भावीले,
शायद लेख्दा लेख्दै मसी पोखियो, खत्तम भयो ।

म होशमा आउनु अगावै प्रियाले छाडेर गइन् ,
मातेको बेला खै के के बोलियो, खत्तम भयो ।

Saturday, November 5, 2016

गजल -- होलान् तिम्रा

होलान् तिम्रा हजार कारण, रिसाउनका लागि
छन् म सँग लाखौं काइदा फकाउनका लागि
                                                          
सुनाउँदै थे यारहरू,  प्रगतिका किस्साहरू,
म सित यै गजल थियो सुनाउनका लागि ।
 
कालो बादल जति छावोस् बर्सिन्नन् यी नयन,
केही याद ताजा नै छन् मुस्काउनका लागि ।
 
गिलासले नि उसकै मुहार प्रष्टै देखाइदियो,
पिउँदै थिएँ मैले जसलाई भुलाउनका लागि ।

Thursday, September 22, 2016

गजल - नसोध भो साथी

नसोध भो साथी, मेरो के खबर छ ।
हो तृष्णा नदीको, साथैमा बगर छ ।

एकातिर मेरा, यी रंगीन सपना,
अर्कोतिर देख्छु, रंगहीन शहर छ ।

मरी जाने चोला, छोड लोभ लालच,
कमाई विपुल धन, भन को अमर छ?

जहरै पिएर, आजसम्म बाँचे,
जहरै पिएर, मरूँ यै रहर छ ।

Sunday, July 31, 2016

गजल : भ्रम नपरोस्

भ्रम नपरोस् यो झुपडी, सधैं झकिझकाउ हुन्छ ।
हरेक साँझ हारहरुको , यहाँ उत्सव मनाउ हुन्छ ।

कोही भाऊ खोज्छ भने, चित्त नदुखाउ न यार,
सम्झ भाऊ उस्कै हुन्छ, बजारमा जो बिकाउ हुन्छ
                                   
यही लोभले खेत छाडी, जंगल पसेको  हो किसान,
सुन्यो त्यतैबाट उस्को ,  भकारी भरिभराउ हुन्छ ।

मेरो त्यो बाँझो बारीमा, सुन फलाउनु छ सरकार,
रगत या पसिना? भनिदे कसरी उब्जाऊ हुन्छ ?

चक्कु उसमाथि  खसोस् , या ऊ चक्कुमाथि खसोस्,
पीडा दोहोरो होला तर  काटिने त स्याउ  हुन्छ ।
                                                           
देशले काँचुली  फेर्नेछ, विश्वास कसरी  गरौं,
अरुको त के कुरा भो, सरकार नै कामचलाउ  हुन्छ ।

Sunday, April 17, 2016

आमा गीत with English Translation

मन जलाई , सगरमा  गयौ बिलाई ।
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।
Shattering this heart you deliquesce
in the sky
Tell me where can I seek of you now
आमा ssss
दुखें धेरै, नसताऊ, मलाई छोडी अन्त नजाउ !!
I'm panicked for sometime, don't hurt me more leaving me behind lonely.
चर्क्यो घाऊ, फर्की आऊ, ममताको मल्हम लगाउ !!
Wounded I am,
Come dear, smear me with ointment of love.

लर्खराउँदा कदम मेरा, हात दियौ हिंड्न सिकें ।
When I was divested of destiny,
You bestowed me hands of help,
And I learned to walk. 
बाधा आउँदा हरेक मोडमा, आँट दियौ भिड्न सिकें
When hindrances  were there, you encouraged me and I learnt to fight against them.

यात्रा मेरो अधुरै छ, कसले देला साथ अब ।
My road is deficient of destiny,
Who's going to bestow me hands now!
ठेश लागि लड्न लाग्दा, कसले देला हात अब ।
When I'm failing, stumbling
On the walkways of life,
Who is going to lend me helping hands now.
आशुँको यो, सागर मा दियौ डुबाई,
You drowned me, in the ocean of tear
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।
Tell me where can seek of you now
आमा s
मलाई बुझ्ने एउटा तिमी, मैले पुज्ने देउता तिमी ।
You are the one who understands me, the Maker of my worship
संसार  जिते जस्तै लाग्थ्यो, मात्र मुस्कुराउँदा तिमी
Would I feel had I won the world
Merely with your smiled
रिसायौ कि दैव मेरी, खाली देख्छु मन्दिर पनि ।
Oh, my Maker, are you cranky with me, I feel the temple void of everything.
कस्लाई पोखौ मनको बह, उर्लदैछन् भेल बनी ।
Where can I tell the tale of heart now
It's tiding like flood
तिम्लाई पाउन, चढाइदिन्थे भेटी आँफैलाई ।
To find you I would relinquish myself
भन मलाई, कहाँ पाउँ अब तिमीलाई ।
Where can I find you now
आमा ssssssssssssssss
दुखें धेरै, नसताऊ, मलाई छोडि अन्त नजाउ !!
I'm panicked___ hurt me not___leave me not alone.
चर्क्यो घाऊ, फर्की आऊ, ममताको मल्हम लगाउ
The wounds of partings are aching
Come back and smear the ointment of love!

Saturday, March 12, 2016

गजल : तिम्रो मेरो सहमति


तिम्रो मेरो सहमति खै के के मा आएर रोकिन्छ ।
बुँदा मिलाइन्छ जसो तसो, हिज्जेमा आएर रोकिन्छ ।                             
राजधानी पुग्ने भनेरै यात्रामा निस्कन्छ सुदूरबाट ,
गाडी भने हरेकपल्ट नौबिसेमा आएर रोकिन्छ  ।

बाँचुञ्जेल छाती ठोक्छ मृत्युलाई जिते जसरी,
के सोच्दो हो सास जब, किल्किलेमा आएर रोकिन्छ ।

रक्सी भनेको रक्सी हो, कुन पिउने खल्तीले निर्धारण  गर्छ, 
व्हिस्कीबाट शुरू गरिन्छ तीनपानेमा आएर रोकिन्छ ।
  
हामी भने हजूरलाई एकतमास टोलाएर हेरिरहन्छौ,
हजूरको नजर हामीमा औशीं पूर्नेमा आएर रोकिन्छ ।

Sunday, December 27, 2015

गजल : हिमाललाई पहाड

हिमाललाई  पहाड पहाडलाई, तराई बनाउनु छ ।
यो देशमा यौटा ज्वालामुखी,  बिस्फोट गराउनु छ
बाटो बिराएका छन्,  केही आफन्तहरुले,
साँझ नपर्दै उनीहरूलाई घर बोलाउनु छ ।
केही गुनासा, केही प्रश्न,   कैद छन् खामभित्र,
के होला ईश्वरको ठेगाना? यौटा चिट्ठी पठाउनु छ
बेला बेलामा छिमेकिले  निहुँ खोजीरहन्छ ,
आफ्नै  घर जलाएर, उसलाई तर्साउनु छ ।
अरे यार जमाना  कहाँबाट कहाँ पुगीसक्यो,
ऊ खुकुरी उद्ध्याउँदै भन्छ, देश जोगाउनु छ ।
.

Tuesday, October 27, 2015

गजल- हिमाललाई पहाड़

हिमाललाई  पहाड पहाडलाई, तराई बनाउनु छ ।
यो देशमा यौटा ज्वालामुखी,  बिस्फोट गराउनु छ

बाटो बिराएका छन्,  केही आफन्तहरुले,
साँझ नपर्दै उनीहरूलाई घर बोलाउनु छ ।

केही गुनासा, केही प्रश्न,   कैद छन् खामभित्र,
के होला ईश्वरको ठेगाना? यौटा चिट्ठी पठाउनु छ

बेला बेलामा छिमेकिले  निहुँ खोजीरहन्छ ,
आफ्नै  घर जलाएर, उसलाई तर्साउनु छ ।

अरे यार जमाना  कहाँबाट कहाँ पुगीसक्यो,
ऊ खुकुरी उद्ध्याउँदै भन्छ, देश जोगाउनु छ ।

Friday, September 4, 2015

गजल - कति कति

मैले हिड्ने  गोरेटोमा,  पत्थर कति कति ।
छिर्के  हान्ने तयारीमा, नजर कति कति ।

न बाबुको वात्सल्य  छ, न आमाको माया,
म जस्तै छन् यो शहरमा, बेघर कति कति ।

दोष जति भाग्यलाई, सफल नहुनुको,
पाखुरीमा लाएको छ, जन्तर कति कति ।  

जसो तसो उम्क्याएथें, उडुस् घरबाट,
आए फेरि पालो थाप्न , मच्छर  कति कति ।

भोक, निन्द्रा, पीडा, वियोग, सपना, धोका,
माया यौटा तर यसका असर कति कति ।

Thursday, April 2, 2015

गजल - छातीभरी देश दुख्छ

भन्नेहरु के के भन्छन्, छातीभरी देश दुख्छ ।
सिङ्गो भन्छु हजार गन्छन्, छातीभरी देश दुख्छ ।
चर्किएको पुरानो घर, हेर्दै आमा आँशु झार्छिन्,
आफ्नै सन्तान पराई बन्छन्, छातीभरी देश दुख्छ ।
फलाना र ढिस्कानाको, भीड देख्दा सोच्ने गर्छु,
के नेपाली कुनै मन छन् ? छातीभरी देश दुख्छ ।
के था' शहर पस्नेलाई ? शमशान जस्तै भयो गाउँ,
बज्दैनन् रे चुरा छन्छन्, छातीभरी देश दुख्छ ।
नयाँ घर बन्छ भन्दा, उफ्रिएथ्यो खुशीले ऊ,
सोध्छ जग कैले खन्छन् ? छातीभरी देश दुख्छ ।
"अन्तर्राष्ट्रिय नेपाली गजल मन्च"को लागि रदिफ "छातीभरी देश दुख्छ(दुख्छ देश?)" राखेर २ बर्ष अगाडि लेखिएको गजल ।

Sunday, January 18, 2015

गजल - सोच्दैछु म

सोच्दैछु म कहिले सम्म, यस्तो अत्याचार हुन्छ ।
अल्छि गर्छ पाखुरीले , अपजसमा निधार हुन्छ ।

जेठ जान्छ माघ जान्छ, संविधान जन्मिदैन,
के आश गर्नु जबसम्म, नपुंसक सरकार हुन्छ ।

यही आशमा जाने गर्छ, हरेक सभामा त्यो कवि,
थोरै सही कहीं कतै, उस्को नि प्रचार हुन्छ ।

आफ्नो बाली बिग्रिएको, गुनासो यो हैन दैव,
किन मेरै छिमेकीको, भरिएको भण्डार हुन्छ ?

यौटा हातले दिनै पर्छ, अर्कोमा लिनुछ भने,
आजभोलि दुनियाँमा, यस्तै नै ब्यापार हुन्छ ।

गाउँका बुढा बरपीपलले, खबर पठाए'थे यस्तो,
फर्केर आ ए परदेशी, ज्युँने केही आधार हुन्छ ।

किन यति पीडादायी, आफन्तको चोट सोच्थें,
जहाँनेर बढी दुख्छ, ठ्याक्कै त्यैं प्रहार हुन्छ ।



Monday, December 15, 2014

गजल - हेर्दै जाऊ

हेर्दै जाउ तमाशा , दिनरात देखाउँछन् ।
मान्छे हुन् मान्छेले औकात देखाउँछन् ।

राहदानी थमाई, भनिन्  पियारीले,
छिमेकीले महँगा, सौगात देखाउँछन् ।

फुट्छन् लड्छन् मर्छन् , त्यस्सै लाटाहरु,
बाठा धर्म क्षेत्र, र जात देखाउँछन् ।

झरी खेपेको यो, ज्यानलाई तर्साउन,
उनीहरु रिमझिम, बर्षात देखाउँछन् ।

मै हुँँ भन्ने रुख नि, झुक्छन् सलामीमा,
सुनामीलाई यहाँ, झारपात देखाउँछन् ।


Monday, April 28, 2014

गजल - ईज्जतको सवाल छ

यस्पाली त गाँठो कस्छु, ईज्जतको सवाल छ ।
नत्र खरानी नै घस्छु, ईज्जतको सवाल छ ।

भन्छन् खाए पछुताउँछस्, नखाए नि त्यस्तै,
खाएर नै बरु फस्छु, ईज्जतको सवाल छ ।

शहरकाको भर नपर्नु, भन्थे हजुरबा'ले,
जोडी खोज्न गाउँ पस्छु, ईज्जतको सवाल छ ।

जन्ते बाख्रो कैले ख्वाउने? भन्दै हैरान पार्छन्,
अब भने घुँडा धस्छु, ईज्जतको सवाल छ ।

घोडा चढी जन्ती लिई, पञ्चेबाजा सँगै ,
रीत पुर्‍याई जग्गे बस्छु, ईज्जतको सवाल छ ।


अविवाहित र बिहेको तयारीमा रहनु भएका मित्रहरु प्रति समर्पित :D

Thursday, February 27, 2014

गजल - भोका छन्


उता गाउँहरु , मामका भोका छन् ।
यता शहरहरु दामका भोका छन् ।

जिम्मेवारी दिएर त हेर सरकार,
कयौं युवा काँध, कामका भोका छन् ।

लेख्नु आफ्नो धर्म, सम्झिन्छस् यार तँ,
लेख्नेहरु यहाँ, नामका भोका छन् ।

छोरो सनबाथ लिई, मख्ख छ परदेशमा,
गाउँमा बाबा आमा, घामका भोका छन् ।

खै कस्तो होड हो, मनपरी दौडिन्छन्,
लाग्छ कलमहरु, लगामका भोका छन् ।

Wednesday, January 15, 2014

गजल - अन्जान भएको छु

देखें, भोगें, जानें र त, अन्जान भएको छु ।
आफ्नै नजरबाट गिरी, महान भएको छु ।

दु:खमा मात्रै सम्झिनेको, लाम देख्दा लाग्छ,
म नि यौटा अघोषित, भगवान भएको छु ।

खुम्च्याउँदछन् निधार किन, मेरा गन्थन सुन्दा,
दुनियाँका लागि शायद, विज्ञान भएको छु ।

सिंहदरबार दिक्क मान्दै, बह पोख्दै थियो,
जमुरे र बाँदर नाच्ने, मैदान भएको छु ।

जस्लाई बोकें जिन्दगीभर, तिन्कै लागि आज,
भन्दै थिए बुढा बा'ले, थकान भएको छु ।


Thursday, October 31, 2013

गजल -- फरक छ यार !!

देखाई र हेराईमा, फरक छ यार । 
सोचाई र भोगाईमा, फरक छ यार । 

तस्वीरमा मुस्कान, गजलमा उदासी?
अभिनय र लेखाईमा, फरक छ यार । 

स्वर्ग बनाउँछु भन्ने, धेरै आए गए,  
भनाई  र गराईमा, फरक छ यार । 

हाम्रा ख्वामितले त, जे गरे नि ठीक,
रटाई र बुझाईमा, फरक छ यार । 

छोड किताबी कुरा, सुख दु:ख बराबर,  
भगवानकै तौलाईमा , फरक छ यार ।  

Thursday, February 21, 2013

गजल -- सुखी हुन्छौ विश्वाश गर

खोक्रो अहम् फ्याँकी देऊ, सुखी हुन्छौ विश्वाश गर !
मोह डाह  त्यागी  देऊ, सुखी हुन्छौ विश्वाश गर !

पल्टाई पल्टाई जिन्दगीको किताब हेर्ने हरु सुन,
केही पाना च्याती देऊ, सुखी हुन्छौ विश्वाश गर !

लुगालाई नाँङ्गा देऊ , भोजनलाई भोका देऊ,
कुवालाई प्यासी देऊ, सुखी हुन्छौ विश्वाश गर !

बर्सौ देखि मुर्छित् पीडित, आमाको त्यो मुहारमा,
अलि खुशी छ्यापी देऊ, सुखी हुन्छौ विश्वाश गर !

भत्काउनेलाई रोजी रोजी, घर बनाउने जिम्मा दियौ,
सक्छौ सच्चा ज्यामी देऊ, सुखी हुन्छौ विश्वाश गर  !




Friday, February 15, 2013

गजल ..................दुनियाँ यो

जस्ले बोल्छ उही बिक्छ, अब्बल भन्छ दुनियाँ यो ।
नबोल्नेले अब्बल लेखोस्, नक्कल भन्छ दुनियाँ यो ।

सत्य बोल्ने हिम्मत गरें, फरक भएँ अरु भन्दा,
ईनाम हेर कस्तो पाएँ, पागल भन्छ दुनियाँ यो ।

शिखर टेक्दा पैतालाका, ठेलाहरु कस्ले देख्यो ?
भाग्यले हो बनाएको, सफल भन्छ दुनियाँ यो ।

अरु घोडा चढ्दा आफु, धूरी चढ्नु हुन्न भन्छु,
पुरानो भो सोच तेरो, बदल भन्छ दुनियाँ यो ।

सुनै सुनको यौटा सुन्दर, पिजंडा म ठान्छु जस्लाई,
सुखी "जीवन" टक्र्याउने, महल भन्छ दुनियाँ यो ।

Friday, September 28, 2012

गजल : महँगो छ

न हीरा न मोती न त, नगर महँगो छ ।
दुनियाँमा छ त केवल, रहर महँगो छ ।

रिझाउन के सजिलो छ? ईमान बन्धकी छ,
ठुलाको त कुरै अर्को, कदर महँगो छ ।

रङ्गिएथ्यो हिजो, केही निधार पखालिदाँ,
आज मन्दिर छेउको, त्यही पत्थर महँगो छ ।

के आउँथ्यो र महल भित्र, सुवास पसिनाको,
चारैतिर मगमगाउने, अत्तर महँगो छ ।

कालो झन्डा गाडेको छु, खरको छानो माथि,
झुपडीलाई हेर्ने हरेक, नजर महँगो छ ।

Bonus Sher!!
मुटु साट्ने माया गर्ने, चाहना छ भन्छु,
हाँस्दै भन्छ मेरो साथी, नगर महँगो छ ।