कथा जस्तो लागे पनि यो कुनै कथा होइन, मेरो भावना अनी त्यो बाल्यकालको साथीको सम्झना हो जुन मेरो मनमा हर्दम आइरहन्छ, मानसपटमा छाइरहन्छ । त्यही सम्झनाहरुलाई त्यन्द्रा त्यान्द्रा बुनेर यो लेख्दैछु !
गाउँले परीबेशमा हुर्किएको म सानोमा सार्है नै लजालु स्वभावको थिए । कसै सँग नि खुलेर कुरा नगर्ने, केवल आफ्नो काममा मात्र ध्यान दिने, बाँकी दुनियाँ बिरानो थियो मेरो लागि ।चार बर्षको हुँदा पनि म स्कुल भनेपछी डराउँथे,घरबाट अंकल ले जती भने नि म कहिल्यै स्कुल गईन रे । एक दिन अंकल ले मलाई काँधमा राखेर स्कुल छोडेर आउनुभएछ, जुन दिन पस्चात मैले एउटा क्लास नि छोडेन रे !! ५ सम्मको मेरो पढाई गाउँकै स्कुलमा भएको हो ।
म त्यतिबेला कक्षा २ मा पढ्थे, मेरै गाउँको स्कुलमा ।त्यतिबेला "प्रभाते स्कुल"(MORNING SCHOOL) चल्दै थियो ! प्रभाते स्कुल बिहान ७ बजे सुरु हुन्थ्यो र १ बजे सकिन्थ्यो जुन हामी एकदमै मन पराउँथ्यौ, DAY SCHOOL को तुलनामा । हामीहरु BREAK TIME को लागि 'अन्नी'(TIFFIN) लगेर जान्थ्यौ घर बाटै।
एक दिन एक जना नयाँ मान्छे हाम्रो क्लासमा आयो, मैले ज्यादा ध्यान दिएन, किन मैले कारण माथि नै लेखिसकेको छु । अरुले कुरा गरेको सुन्दा खेरी उ OVERSEER को छोरा भएको थाहा पाए, त्यो OVERSEER हाम्रो गाउँमा बन्न लागेको सिचाइ नहरको कामले केही दिनका लागि मेरो गाउँको पाहुना रहेछ । BREAK TIME भयो र म पनि सबै झै आफ्नो 'अन्नी'तिर लागे, मुवाको हातबाट बनेको मीठो रोटी । एक जना साथी जहिले पनि म संगै नास्ता गर्थ्यो किनकी मेरो 'अन्नी' उस्को तुलनामा जहिले नि मिठो हुने गर्थ्यो । त्यो दिन त्यो नयाँ साथी हामी भए तिरै आयो शायद साथ खोजिरहेको थियो । उस्ले पनि TIFFIN बोकेको थियो जुन हाम्रो भन्दा नि राम्रो थियो। आफ्नो TIFFIN बाट केही मलाई दियो उस्ले र भन्यो "आजदेखी हामी साथी साथी है !" म संगै भएको साथीले 'हुन्छ भन' भनेर भन्यो, जस्मा उस्को स्वार्थ लुकेको थियो, राम्रो TIFFIN पाउने । तर म मुकदर्शक भएर उभिरहे, बोली फुट्नु भन्दा अघी नै क्लास सुरुको जनाउ घन्टी बज्यो, दगुरियो क्लास तिरै।
अर्को दिन मैले उस्लाई खोजे, किनकी मलाई उस्को प्रश्नको जवाफ दिनु थियो, उ सँग दिगो मित्रताको साईनो गास्नु थियो। मेरो खोजाइ ब्यर्थ भयो किनकी उ त्यसपछी मेरो स्कुलमा कहिल्यै देखिएन, भेटिएन ।
यती धेरै बर्ष बितिसकेका छन, समयले लामो फड्को मारिसकेको छ । उ कता छ मलाई केही थाहा छैन, उस्लाई यो कुरा याद छ कि छैन भन्ने नि मेसो छैन मलाई । तर पनि उस्का ती निस्चल शब्दहरु अझै नि कानमा गुन्जिरहन्छन । उस्को त्यो साथीत्व हर घडी याद आउँछ ।
करीब ३० जना मध्य उस्ले मेरो साथ नै किन चुन्यो, यस्को जवाफ म सँग छैन, तर आज म उस्लाई जवाफ दिन चाहन्छु दुनियाँलाई साक्षी मानेर , "हुन्छ !! हामी साथी साथी, युगौ युग सम्म लाई!!"