Friday, May 25, 2012

गजल -- हुनुपर्छ

तिम्रो दिलको ईजलाशमा चाँडै सुनुवाई हुनुपर्छ ।
या त कैदी जन्मौ जन्म या त रिहाई हुनुपर्छ ।

अल्पमतको पनि कदर गर्नुपर्छ भन्छु मैले,
तिमी भन्छौ हैन हैन! दुई तिहाई हुनुपर्छ ।

सुम्पे मुटु तिमीलाई, खाली भयो देब्रे पाटो,
अझै पनि सोध्छौ तिमी, के को भर्पाई हुनुपर्छ ।

छेपारो झै रङ्ग फेर्ने, दुनियाँको के भर पर्नु?
आफ्ना लागि आफ्नै मनको, साक्षी बकाई हुनुपर्छ ।

सुनाइको त के कुरा भो, धोका खान्छन् आँखाले नि,
दोषी करार दिनु पुर्व, यौटा सफाई हुनुपर्छ ।

नेपाली गजल डट कम मा यो गजल हेर्न यहाँ क्लिक गर्नु होला !! तिम्रो दिलको ईजलाशमा

Wednesday, May 23, 2012

प्यारोडी गजल --- यहाँ कुर्सीको छ चिन्ता, तिमी संविधान भन्छौ


यहाँ कुर्सीको छ चिन्ता, तिमी संविधान भन्छौ ।
साँच्चै नबुझ्ने हौ कि, नबुझ्ने जस्तै बन्छौ ।

आफ्नै कुर्सी बचाउन, गार्‍हो छ यहाँ मलाई,
तिमी भने पछौटे र कार्यकर्ता गन्छौ ।
साँच्चै नबुझ्ने हौ कि, नबुझ्ने जस्तै बन्छौ ।
यहाँ कुर्सीको छ चिन्ता !!!

पुस्तौं पुस्ता पुग्ने, सम्पत्ती जोड्दैछु म,
सम्पत्ती नै नभए, के झुपडिमा रहन्छौ ?
साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ ।
यहाँ कुर्सीको छ चिन्ता ।

मर्न देऊ जनता, हामीले बाँचे पुग्छ,
गरौ बरु मोजमस्ती, किन खोईरो खन्छौ ।
साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ ।
यहाँ कुर्सिको छ चिन्ता, तिमी संविधान भन्छौ ।

Image Source: The Kathmandu Post



Tuesday, May 22, 2012

गजल -- धोकामै छ हेर

भन्छ ईश्वर दुखी गरीब, भोकामै छ हेर ।
धाउँछ मन्दिर पुज्छ पत्थर, धोकामै छ हेर ।

साटौं भने पीडा हुने, राखौं बोझ भयो,
किन्ने भए मेरो मुटु, खोकामै छ हेर ।

पाहुना लाग्छन् समस्या यी, मेरै घरमा सधैं ,
एक-हुल गयो अर्को फेरी, ढोकामै छ हेर !

चारैतिर मरुभुमी, छ त के नै भयो ?
टन्न पानी बोकेको छु, डोकामै छ हेर ।

मुस्काएरै पीडा छल्छु, सुखी ठानी जल्छन्,
दुनियाँ के दैव पनि, धोकामै छ हेर ।