Tuesday, April 27, 2010

गजल..... अब लेख्दिन भो !!

जून तारा मात्रै झार्ने, गजल अब लेख्दिन भो ।
मुग्लानीको पीडा खार्ने, गजल अब लेख्दिन भो ।

माया लेखे प्रीति दुख्छ, कथा लेखे व्यथा दुख्छ,
जे लेखे नि सुख बार्ने, गजल अब लेख्दिन भो ।

भिर लेखे पाखा मर्छ, गीत लेखे भाखा मर्छ,
यौटा बचाइ अर्को मार्ने गजल अब लेख्दिन भो ।

जिन्दगी यो खेल न हो, कोही जित्छ कोही हार्छ,
यौटा जित्दा अर्को हार्ने गजल अब लेख्दिन भो ।

Tuesday, April 13, 2010

गजल --- हेर नयाँ बर्ष आयो ।

कोइली गायो वन सुसायो, हेर नयाँ बर्ष आयो ।
खुशी ल्यायो मन रमायो , हेर नयाँ बर्ष आयो ।

वसन्तको आगमन छ, हरियाली चारैतिर,
पालुवाले जीवन पायो, हेर नयाँ बर्ष आयो ।

सपनाका महलहरु, सजिदैं छन् सजाउँदै छन्,
उमङ्गको बाढी ल्यायो, हेर नयाँ बर्ष आयो ।

शान्ती छावोस् दुनियाँमा, हाँस्दै रम्दै बितोस् जीवन,
मेरो मनले यही चाह्यो, हेर नयाँ बर्ष आयो ।

Sunday, April 11, 2010

क्रिशोलको कविता गजलिकरण !!!


अन्यौलको सम्बन्ध यो, बाचा गरुँ कसरी म
लगन हाम्रो जुर्या छैन, सिउँदो भरुँ कसरी म

यथार्थमा ज्युँनु पर्ने, जिन्दगीको चलन यही,
झुटा कसम्, खाइ भ्रमको, बीज छरुँ कसरी म

सिकायौ नि तिमीले नै, प्रेमपथमा हिंड्न मलाई,
साउने भेल सरि माया, उर्ल्यो तरुँ कसरी म

पिंजडाको पंक्षि हुँ म, उडी आउन पाउँदिन नि,
तिम्रो गाउँतिरै डेरा, भन सरुँ कसरी म

यौवन साट्न प्यास मेट्न, नचाहेको हैन मैले,
तिम्रा मन्का खाली पाना, माया भरुँ कसरी म

Sunday, April 4, 2010

गजल दोहोरी (सुजि)

(सुरेश बोरोले तथानाम सुना'को र सालीको लोभ देखाएको स्थितिमा फुरेको गजल !!!)

हरेक तिम्रा शब्द मैले,सधै भरी सुनेकै छु !!
कसम मित्रताको दिगो,डोरो मैले उनेकै छु !!

बाटो बिराउँदा गाली, राम्रो काममा ताली देउ,
सच्चा साथी एक भनी,तिमी लाई चुनेकै छु

चाहे भनुँ 'फटाहा' या,हानौ शब्दबाण अरु,
मित्रताको मिठो कैदमा, तिमीलाई थुनेकै छु !!

खुशी मात्र होइन उस्ले, आँशु पनि बाडिदिन्छ,
असल मित्र चिनारी यै, मन मनै गुनेको छु !!

भाउजुलाई भन तिमी, बैनी चाँडै खोज भनी,
तिम्रै साली फकाउने, सपना नि बुनेकै छु !!
---------------------------------


सुरेश ब्रो को गजल !!!("जितेले आज फेरी गजल लेखन वाध्य बनायो")
---------------------------------
सुने तिम्रा गजल अनि सुने तिम्रा गाली पनि,
खेदो खन्छु साथी तिम्रो गजल बागको माली पनि !!!

कहिले मेरा शब्द बन्लान तिम्रा लागि अर्थ दिने,
कैले होलान "फटाहा" ती कहिले फूलको डाली पनि !!

सधै बखान मात्रै हैन, सुन्ने गर निन्दा पनि,
गाली मात्रै हैन साथी, दिन्छु म त ताली पनि !!

मित्रता नै नभएमा तिमी साथी कहाँ रह्यौ ,
साथिविना बेकार लाग्छ मन्दिर जाँदा थाली पनि !!

मान्छौ साथी मलाई भने सुन्नै पर्छ मेरा शब्द,
फकाउनलाइ सक्छौ भने दिउँला म त साली पनि !!!! ....साली त भए पो दिनु ?

गजल--- यसरी गजल बन्छ !!!

मुटु भरी वेदना ले , आशु झार्दा गजल बन्छ !!
यो मनले त्यो मनमा, डेरा सार्दा गजल बन्छ !!

सुख दु:ख सँगम जीवन, भन्छन भन्ने हरु तर ,
दु:खरुपी तुवाँलोले, सुख बार्दा गजल बन्छ !!

अन्धकारमै हराएर, सारा जीवन जिउँदा जिउँदै,
उजेलिमा रम्ने झिनो, आश मार्दा गजल बन्छ !!

कि त पढि कि त परी , जानिन्छ रे भन्छन यहाँ ,
पिडासङ्गै जीवन अझै, सुनझै खार्दा गजल बन्छ !

जीवन भन्नु जुवा ठानी,खुशी सबै दाउमा राखी,
'जितु'ले नै जिन्दगीको, बाजी हार्दा गजल बन्छ !!

गजल--- दसैं बिशेष !!!


सँगैका ती साथीहरु, घर फिर्ने दिन गन्दै थिए !!
दसैं आयो दसैं आयो, सबै जना भन्दै थिए!!

बिमारीले छोयो कि त, उमङ्ग नै छैन कुनै,
छामे मुटु ढुकढुकीका, चालहरु मन्दै थिए !!

पंक्षि बनी उड्न पाउने, रहर मर्‍यो अनायासै,
विवशताका बलिया ती, ढोका सबै बन्दै थिए!!

फिर्नेहरु खुशी थिए, अरु भने सम्झी रोए,
सम्झनाका सुन्दर रास, मन मनै खन्दै थिए !!

((विजयादशमीको हार्दिक मंगलमय शुभकामना देशबिदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा । ))

संयुक्त गजल

तिम्रो लागि मेरो माया बेमौसमी फूल सरि !!
जानी जानी अन्जानमै गरिएको भुल सरि !!

मरुभुमी एकान्तमा,छट्पटिदा प्यासी बनी,
रसाएथ्यो हाम्रो माया,पानीको त्यो मुल सरि !!

काँध थापेँ संगै बाँच्न,सुख दु:ख साथ लिई,
बनायौ नि यही काँध,फड्को मार्ने पुल सरि !!

सपनाको महल मैले सजाएथे यो मुटुमा,
भत्काइदियौ साथ छोडि भयो त्यो काबुल सरि।।

स्थिर हुन जानिनौ नि सानी तिमी यो मायामा,
दिगो माया ढल्मलायो बतासिने तुल सरि !!

बग्छ भन्थे समय त, किन रुक्यो मेरै मात्र,
घरि घरि यही माया बिझाउँछ शूल सरि !!

मैले सम्झे हिरा मोती,स्वार्थी तिम्रो मायालाई,
चेते जब लत्याइदियौ पैतालाको धुल सरि !!

दैव तिम्रो खेला कस्तो के सोचेथे जिन्दगीमा,
टुट्यो 'आस्था'जब घोच्यो,मायाले त्रिशुल सरि!!
(सुरेश खतिवडा, दिनेश राज ज्ञवाली, सविन सिंह, प्रदीप चापागाईं, आस्था दाहाल, राज पन्त र म )

गजल--- बिन्ती !!!

त्यो मुटुमा तस्बिर मेरो, टाँस्न ब्यर्थै नखोज है !!
बुझ्दिन म मायाप्रिती, गाँस्न ब्यर्थै नखोज है !!

मायाको त्यो डोरी उनी,पिरतिको जाल बुनी,
आजादी यो तिमी मेरो, मास्न ब्यर्थै नखोज है !!

बालापन कतै छोड्यौ,जवानीको घुम्टो ओढ्यौ,
त्यस्कै तीरले यो मुटुमा, पास्न ब्यर्थै नखोज है !!

साथै जिउने मर्ने रहर, भन्छ्यौ डुलौ प्रेम नगर,
लोभलाग्दो दल्दलमा, भास्न ब्यर्थै नखोज है !!

निश्ठुरी नै सोच बरु, माया अर्कै खोज बरु,
भिजाएर परेली ती, हाँस्न ब्यर्थै नखोज है !!